‘हो..हो..रे..’ मा कुदेर अग्रगामी हुँदैन !

‘हो..हो..रे..’ मा कुदेर अग्रगामी हुँदैन !


आफ्नो बुद्धिविवेक सबै बिसाएर जस्तो कुरा पनि पत्याउने वर्तमान पिँढीले मुलुकको भविष्य अँध्यारोतिर लैजाने निश्चित छ । कुनै पनि वाद कुनै पनि व्यवस्थाले यस्ता अरुद्वारा सञ्चालित ‘रोवोट’सरहका नागरिक भएको मुलुक अगाडि बढ्न सक्दैन ।
  • स्वयम्भूनाथ कार्की

धार्मिक प्रवचन दिनेहरू सामान्यतया जिज्ञासाको उत्तर दिने गर्दैनन् । अन्धश्रद्धा नभएमा त्यो भक्ति होइन भन्ने गर्दछन् । यस्तो किनभने उनीहरूसँग जिज्ञासा हल गर्ने ज्ञान नै हुँदैन । त्यसैले प्रवचनकर्तापिच्छे अलग-अलग पन्थ बन्ने गर्दछ । त्यसैले भक्तिमा ज्ञान आर्जन हुँदैन, हरेक धर्मका प्रवचनहरूमा केवल आफ्नो पन्थको महिमा मात्र हुन्छ । विचलित मनलाई शान्त राख्न दिमागलाई विश्राम दिँदा सजिलो पर्दछ । उदाहरणको निमित्त राधासँग कृष्णको जोडी केवल किशोर अवस्थाको सामिप्यता थियो भन्ने कुरा छ । त्यसैले राधाकृष्ण जोडी कसरी भन्ने जिज्ञासाको कुनै समाधान छैन । यो कुरामा दिमाग खपाउदा मन शान्त नहुने हुँदा प्रभुको लीला प्रभु नै जानुन् भनेर छोडिन्छ ।

भक्तिको यो आँखा चिम्लेर विश्वास गरिने बाटो के व्यवहारिक जीवनमा पनि काम लाग्ला ? ‘किन’ र ‘कसरी’ को उत्तर नखोजेको भए, शंकालु भएर विवेचन नगरेको भए समाजको प्रगति नै हुने थिएन । त्यसैले जहाँ शिक्षा दिइन्छ त्यहाँ विद्यार्थीबाट जिज्ञासाको अपेक्षा गरिन्छ । कुनै विषय राम्ररी बुझ्न शङ्काको समाधान हुनैपर्दछ । यो पद्धति पौराणिक गुरुकुलदेखि आधुनिक शिक्षा प्रणालीसम्म एकनासले लागु भएको छ । सनातनमा जहाँ ‘भक्तिमा शङ्का गर्नु हुँदैन’ भन्नेहरू छन् भने ‘वादेवादे जायते तत्वबोध’ भनेर शङ्काको उपयोगले ज्ञान प्राप्त हुन्छ भन्नेहरू पनि छन् ।

सन्दर्भ आँखा चिम्लेर हरेक कुरा विश्वास गर्ने नेपाली प्रवृत्तिको हो । कुनै व्यक्तिलाई क्षमतावान देखेर उसलाई मान्नेवित्तिकै उसैको वाक्यलाई ब्रम्हवाक्य मान्नेहरूको बाहुल्यता नेपालमा छ । त्यसैले यहाँ कुनै प्रश्न उठाइँदैन । सर्वहारालाई पुँजीपतिले हमेसा शोषण गर्दछन्, पुँजीको निर्माण शोषणबाट मात्र सम्भव छ भन्ने सिद्धान्तमा आधारित कम्यूनिष्ट दर्शनमा आधारित दलहरूका नेता अर्बपति छन् । कोही पहिलेदेखि नै अर्बपति थिए भने कोही नेता भएपछि अर्बपति बनेका छन् । अहिलेको छाक जसोतसो टारेर भरे के खाउँ भन्नेहरूका यस्ता अर्बपति नेताहरूसँग प्रश्न कहिल्यै सोधिँदैन केवल अटल विश्वास छ भन्ने प्रदर्शन गरिन्छ ।

‘जनताद्वारा जनताले जनताको निमित्त’ भन्ने सिद्धान्तमा आधारित आफूलाई पहिले प्रजातन्त्र र अहिले लोकतन्त्रका एक्लो ठेकेदार भन्ने दलहरू र त्यसका अनुयायीहरूको पनि उस्तै हालत छ । प्रजातन्त्रमा कुनै कठिन समस्या हल गर्न त्यसलाई जनताको बीच ल्याउनुपर्छ भन्ने मान्यता छ । तर, सानोदेखि ठूलो समस्या पनि शीर्ष नेताहरूको जिम्मा लगाइन्छ । तर आजसम्म कसैले यो कसरी प्रजातन्त्र भयो भनेर सोधेको थाहा छैन । दलहरूमा मात्र हैन भातृसङ्गठनहरूमा पनि शीर्ष नेताहरूको मर्जीबेगर केही नहुने कुरा कसरी प्रजातन्त्रको परिभाषामा अटायो भनेर सोध्ने मुटु कसैको छैन ।

अग्रगामी हुन ‘हो..हो..रे..’ मा दौडँदा मध्यदिनलाई रात भनेर भन्ने आफूले मानेको परे भने विश्वास गरिन्छ । आफ्नो बुद्धिविवेक सबै बिसाएर जस्तो कुरा पनि पत्याउने वर्तमान पिँढीले मुलुकको भविष्य अँध्यारोतिर लैजाने निश्चित छ । कुनै पनि वाद कुनै पनि व्यवस्थाले यस्ता अरुद्वारा सञ्चालित ‘रोवोट’सरहका नागरिक भएको मुलुक अगाडि बढ्न सक्दैन । कारण स्पष्ट छ- उनीहरूलाई विचार आपूर्ति गर्ने औंलामा गन्न सकिनेहरू सकिनेवित्तिकै यो पिँढी कुहिराको काग हुन्छ । त्यो लक्षण देखिन थालिसकेको छ । तर्कविहीन बुद्धिविहीन विचारहरू प्रवाहित हुन थालेका छन् । विरोधको उत्तरतर्क र क्षमताले हैन बाहुबलले दिने प्रवृत्ति बढ्दैछ । त्यसैले बिस्तारै मुलुक ‘डन’हरूको नियन्त्रणमा पुग्दैछ ।

तथ्य खोजेर त्यसको विवेचन गरेर आफूले निष्कर्ष निकाल्न खोजिँदैन । यसको कारण अल्छी होइन त्यो क्षमताको अभाव हुँदै गएको हो । नेता भएपछि त्यो सर्वज्ञ हुन्छ भन्ने सोच यसरी हाबी हुँदैछ कि उद्यमशीलताको प्रशिक्षण दिन नेता आउन थाले । यस्तो दिन नआउला भन्न सकिन्न कि चिकित्सा सिकाउन कुनै नेताले कक्षा लिइरहेको होस् । अनि त्यहाँ भाषण दिइरहेको होस् कि ‘लुई पाश्चरले खोप निकालेर चिकित्सकहरूको हात बाँधिदिए । उनले खोप नलिकालेर रेडयोलोजी खोजेका भए उपयुक्त हुने थियो । बरु भोक नलाग्ने औषधि निकालेको भए गरिव धनीको शोषणमा पर्ने थिएन । यो हचुवाको तालमा भनिएको हैन यस्तै प्रकृतिको कुरा आउन शुरु भइसकेको छ ।’

उद्यमशीलताको कार्यक्रममा एक नेताले राज्यले आफूलाई विषेश शिप सिक्न दिएको छात्रवृत्ति छोडेर अर्धभूमिगत भएको कुरा सगौरव प्रस्तुत गरे । अर्धभूमिगत भएर उनले के काम गरे त्यो उनै जानुन् तर उनलाई उनको प्रतिभा चिनेर छात्रवृत्ति दिने व्यवस्थाकै विरोध गरेर सही गरेँ भन्ने दम्भ रहेछ । उद्यमशीलता बढाउन अब उनका भक्त युवाले उनकै बाटो अनुशरण गर्लान् । आफूलाई टेवा दिनेहरूको खोइरो खन्दा सफल होइन्छ भनेर हो..हो..रे..मा कुदे भने कस्तो भविष्य होला ? कल्पना गर्न सकिन्छ ।

त्यस्तै अर्का नेताले त्यही कार्यक्रममा पृथ्वीनारायण शाहको खोइरो खने, ‘दुई ढुङ्गाबीचको तरुल’ भनेकोमा । उनको विचारमा दुई देशबीचको पुल भन्नुपर्ने थियो । पुलको अस्तित्व केवल सेवालाई हो । यदि नेपाल-चीन र भारतको पुल बन्ने हो भने उसको कुनै अलग अस्तित्व हुँदैन । पुलमा आवतजावत गर्नेहरूको दयामायाले दिएको कुरा मात्र आम्दानी हुन्छ । फेरि जुन बेलामा पृथ्वीनारायण शाहले यो कुरा भनेका थिए त्यसबेला नेपाल दुवै मुलुकसँग आफ्नो स्वतन्त्र व्यापार गर्दथ्यो । उनलाई के थाहा कि यस्ता नालायक पुस्ता पनि आउने छन् जो आफ्नो उत्पादन भन्दा परमुखापेक्षी हुनेछन । आङ्खनो ग्राहक अरुलाई नसुम्पेकोमा पृथ्वीनारायण शाहलाई गाली गर्ने नेताका अनुयायीहरू भने खुशी हुनेछन् । उद्यम गर्न छाडेर वैदेशिक रोजगारी त्यसै त बढेको हैन नि !