श्रीलङ्काबाट नेताले सिक्ने कि जनताले ?

श्रीलङ्काबाट नेताले सिक्ने कि जनताले ?


हरेक युगमा अस्तित्वमा रहेका मानिने हनुमानजीले त्यतिबेला शासकका दरबारमा आगो लगाएर न्यायको लडाइँ लडेका थिए । अहिले श्रीलङ्कन जनता शासकका दरबार जलाएर र दरबारबाट शासकलाई लखेटेर न्यायको लडाइँ लडिरहेका छन् ।
  • बबिता बस्नेत

विगत केही समयदेखि श्रीलङ्काको अवस्था निकै डरलाग्दो छ । सन् २०२२ को अप्रिलमा सरकारविरुद्ध नाराबाजी, जुलुस र प्रदर्शन हुँदा परिस्थिति अहिलेको अवस्थामा पुग्ला भन्ने सोचिएको थिएन । मुलुकको आर्थिक अवस्था नाजुक भएर पेट्रोल, खाद्यान्नलगायतको अभाव हुन थालेपछि विरोधका रूपमा प्रदर्शनहरू सुरु भएका थिए । लिवरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)ले सन् १९८३ मा स्वतन्त्र तमिल राज्यको माग राख्दै गरेको आन्दोलनमा विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब एक लाख मानिस मारिएको आलो इतिहास भएको श्रीलङ्काले द्वन्द्वको कठिन परिस्थितमा पनि यस प्रकारको आर्थिक सङ्कट ब्यहोर्नु परेको थिएन । सन् २००९ मा विद्रोहीका नेता भेलुपिल्लाई प्रभाकरण तथा उनका प्रमुख सहयोगीहरूलाई मारेपछि श्रीलङ्कामा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो । सशस्त्र युद्ध र त्यसपछिको शासनकाललाई हेर्ने हो भने हाम्रो देश र श्रीलङ्का करिब-करिब मिल्दोजुल्दो छ । हामीकहाँ सन् २००६ मा बृहत शान्ति सम्झौता भएपछि माओवादी युद्ध सकियो र नेताहरू फरक तरिकाले शासनमा आए । युद्धपछि हाम्रो शासकीय स्वरुपमा परिवर्तन भए पनि तिनै नेताहरू शक्ति र शासनमा छन् जो ०४६ सालपछि सत्तामा आएका थिए । माओवादीमा पनि ०६३ सालपछि सत्तामा आएका नेताहरू नै अहिलेसम्म मुख्य भूमिकामा छन् ।

युद्धपछिको श्रीलङ्कामा सत्तामा रहेका राजपाक्षे घरानाले आफ्नै परिवारका सदस्यहरूलाई लाभका विभिन्न पद दिलाएर ‘क्लेप्टोक्रेसी’लाई स्थापित गरे । ‘क्लेप्टोक्रेसी’ हामीकहाँ खासै प्रयोगमा आएको शब्द होइन तर वर्षौंदेखि भइरहेको काम भने हो । ‘क्लेप्टोक्रेसी’को अर्थ हुन्छ लुटतन्त्र । ओहदामा भएका ब्यक्तिहरूले शक्तिको प्रयोग गरेर, आफ्नो फाइदाका लागि ‘सिस्टम’कै प्रयोग गरेर या ‘सिस्टम’ भताभुङ्ग पारेर सम्पत्ति आर्जन गर्नु र आफू वरिपरिका मानिस, आफ्नै परिवारका सदस्य तथा नातेदारहरूलाई पदमा पुऱ्याइ राज्य दोहन गर्नु ‘क्लेप्टोक्रेसी’ हो । धन आर्जनका लागि आफ्ना मान्छेलाई पैसा कमाउने विभिन्न स्थानमा राख्ने र आफ्ना मान्छे नभए ति ठाउँमा जानका लागि भारी रकम बुझाउनुपर्ने अवस्था हामीकहाँ पनि छ । हामीकहाँ वि.सं. २०४६ पछि प्रजातान्त्रिक अभ्यास सुरु हुनुपर्नेमा आफन्तवाद हाबी भयो । २०६३ सालपछि विगतमा नातामा मात्र सीमित कृपावादको दायरा बढेर पार्टी तहमा पुग्यो ।

मानिसहरू कुनै पदमा पुग्नुको अर्थ सम्बन्धित कामको उत्तरदायित्व बहन गर्नु नभइ पैसा कमाउनु, सरकारी साधन श्रोतको दुरुपयोग गर्नु हुन पुग्यो । अहिले कुनै पनि पदको बढुवा या नियुक्तिमा पैसाको कारोबार नगरी हुने अवस्था छैन । श्रीलङ्कामा पनि यस्तै थियो । राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजपाक्षे परिवारका ६ जना मन्त्री, ति मन्त्रीका मन्त्रालयअन्तर्गतका सबै काम आफ्ना नातेदार र निकटवर्तीका लागि, अनि सर्वसाधारण जनताचाहिँ वैदेशिक रोजगारमा । हामीकहाँ पनि जुनसुकै पार्टीको सरकार आओस् अवस्था उस्तै छ । तिनै नेताहरू आलोपालो सत्तामा र सत्तामा गएपछि हरेकले कि त आफ्ना निकटवर्तीलाई कि त पैसा लिएर नियुक्ति । अहिले प्रहरीको बढुवाको समय छ । जिन्दगीभर इमानदार भएर आफ्नो ड्युटी पूरा गरेका प्रहरी अधिकारीले नेताको कृपाबिना बढुवाको सूचीमा पर्ने सम्भावना छैन । यस्तो अवस्थामा ति सुरक्षाकर्मीको मनमा कस्तो विद्रोह उत्पन्न हुँदो हो ? अहिले श्रीलङ्कामा हजारौँको संख्यामा नागरिकले नेताका घरहरू घेर्दा सुरक्षाकर्मी वरिपरि कतै देखिएका छैनन्, यसमा उनीहरूभित्रको विद्रोहले काम गरेको पनि हुन सक्छ ।

सिक्नैपर्ने महत्वपूर्ण कुरा हो सुशासनका लागि जनताको एकता र सामूहिक खबरदारी ! श्रीलङ्कन जनताले ढिलो गरेको जनताको शान्तिपूर्ण सामूहिक खबरदारी नेपाली जनताले अहिलेदेखि नै सुरु गर्नुपर्ने देखिन्छ ।

अहिले हामीकहाँ नेताहरूको कार्यशैलीलाई लिएर श्रीलङ्काको चर्चा हुने गरेको छ । तर नागरिक खबरदारीको कुरा भने त्यहाँबाट सिक्नुपर्ने पाठका रूपमा छलफल र बहसको विषय बनाइएको छैन । ‘नेताहरू श्रीलङ्काबाट सिक’ भन्ने कुरामा सीमित रहेर के नेपाली जनताले चाहिँ यस्तै प्रवृत्तिलाई निरन्तरा दिइरहने ? सोच्न आवश्यक छ । विकास तथा अर्थ विज्ञ माधव कार्कीले केही दिनअघि गर्नुभएको ट्वीट निकै महत्वपूर्ण लागेको थियो । विज्ञ कार्कीले भन्नुभएको थियो- ‘सबै भन्छन् श्रीलङ्काबाट नेताले सिक्नुपर्ने, खासमा सिक्नुपर्ने त जनताले होइन र ?’ हो, सिक्नुपर्ने जनताले पनि हो । जनता जाग्दा केसम्म हुन सक्छ भनेर हामीले आफ्नै मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलनमा अभ्यास गरिसकेका छौँ । तर सुशासनका बारेमा भने हामीले सधैं मौनता साध्यौँ, साधिरहेका छौँ । ठुला नियुक्ति, सरुवा बढुवा, ठेक्कापट्टा जस्ता कुरामा पैसा नलिइ काम नगर्दा र नीतिगत भ्रष्टाचार हुँदा चर्चा मात्रै गर्‍यौँ, एक्सनमा आएनौँ । मालपोतदेखि अदालतसम्म पैसाबिना काम नहुँदा ‘यस्तै हो सबैतिर’ भन्दै मानिसहरू कि त पैसा खुवाएर काम गरिरहेका छन् कि त निराश भएर बसेका छन् । मुलुकमा ‘क्लेप्टोक्रेसी’ ब्याप्त थियो, छ । यस्ता विषयमा चर्चा गर्‍यौँ तर सबै एकजुट भएर ‘एक्सन’मा गएनौँ । संविधान, नीति, नियम भएको मुलुकमा जनता आफै ‘एक्सन’मा जाने कि संविधान, नीति, कानूनलाई एक्सनमा ल्याउने ? प्रश्न अगाडि आउँछ ।

जब नीति, कानूनको सही कार्यान्वयन गरिँदैन त्यस्तो बेलामा नागरिक खबरदारी आवश्यक हुन्छ । श्रीलङ्काका जनता केही वर्षअघि नै जागेका भए अहिले यो अवस्था नआउन सक्थ्यो । हामीकहाँ अहिलेदेखि नै जनताले खबरदारी गर्ने हो भने भोली आउन सक्ने आपतकालीन अवस्थाबाट जोगिन सक्छौँ । भ्रष्टाचारमुक्त राजनीतिक नेतृत्व, पाएँ भन्दैमा भकाभक ऋण नलिने, सङ्घीयताको सवालमा घाँटी हेरेर हाड निल्ने, लिएको ऋणलाई उत्पादन हुने ठाउँमा लगानी गर्नेलगायत श्रीलङ्काबाट सिक्नुपर्ने पाठहरू धेरै छन् । यीमध्ये सिक्नैपर्ने अर्को महत्वपूर्ण कुरा हो सुशासनका लागि जनताको एकता र सामूहिक खबरदारी । श्रीलङ्कन जनताले ढिलो गरेको जनताको शान्तिपूर्ण सामूहिक खबरदारी नेपाली जनताले अहिलेदेखि नै सुरु गर्नुपर्ने देखिन्छ ।