चोरी गरेर अमेरिका पुऱ्याइएको टुँडाल नेपाल फर्काइयो

चोरी गरेर अमेरिका पुऱ्याइएको टुँडाल नेपाल फर्काइयो


नेपालबाट चोरी भएर अमेरिका पुऱ्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काइ पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।

पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गर्नुभयो । काठमाडौं महानगरपालिका-१२ ह्युमत टोलमा रहेको दुईछाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३औँ र १४औँ शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो ।

उक्त टुँडालहरू एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्ष्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्यदूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन् ।

हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट एक थान मूर्ति तथा कलावस्तुहरू नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ ।