गोली लागेको घाइतेलाई २१ वर्षपछि क्षतिपुर्ति दिन सिफारिस

गोली लागेको घाइतेलाई २१ वर्षपछि क्षतिपुर्ति दिन सिफारिस


राष्ट्रिय मानवअधिकार आयोगले लाउडा प्रकरणको विरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतिपुर्ती दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

लाउडा विमान खरिद प्रकरणका विरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीको गोली लागेर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका दीपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका-२ खार्ताम्छाका प्रताप राईलाई क्षतिपुर्ति उपलब्धगराउन आयोगले सरकारसमक्ष सिफारिस गरेको हो ।

तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध ६ बाम घटक अन्तर्गत खोटाङमा एमाले र जनमोर्चाले विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए ।

आयोगले घाइतेलाई जनही एक लाखका दरले राहत तथा क्षतिपुर्ति दिन सिफारिस गरेको हो । प्रतापको २८ माघ २०६२ मा मृत्यु भइसकेकाले उनका हकवालालाई क्षतिपुर्ति उपलब्ध गराउन आयोगले भनेको छ । ‘घटना भएकै महिना आयोगमा उजुरी दिएका थियौँ,” रिजालले भने, “रजिष्ट्री गरिएको चिठ्ठीमार्फत राहतका लागि सिफारिस भएको जानकारी पाएका हौँ ।’

‍संलग्न मिसिल, पीडितको बयान, प्रत्यक्षदर्शीको भनाइ, उपचार गराएको कागजात, प्रहरी प्रधान तथा पुर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगरको पत्रबाट प्रदर्शनकारीले मसाल जुलुस निकालेको र उक्त जुलुस सकिएपछि प्रहरीले हवाइ फायर गरेको, सो क्रममा चार जनालाई गोली लागि घाइते भएको र घाइतेहरुको तत्कालिन सरकारले उपचार गराएको पुष्टि भएको आधारमा राहत तथा क्षतिपुर्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

‍यस्तै, एउटै घटनामा प्रहरी प्रधान कार्यालय र तत्कालिन पुर्वक्षेत्रीय प्रहरी कार्यालय रानीको जवाफ बाझिएपछि यथार्थ जानकारी उपलव्ध गराइदिन पटक-पटक पत्राचार गर्दा प्रहरी प्रधान कार्यालयबाट कुनै जानकारी प्राप्त नहुँदा आयोगको कार्यमा सहयोग नगरेको अवस्था देखिएको भन्दै अवदेखि यस्तो गल्ती नदेहोर्‍याउन र आयोगले मागेको विवरण यथार्थ रुपमा समयमै उपलव्ध गराउन निर्देशन दिने निर्णय आयोगको छ ।

‍लाउडा प्रकरणमा करोडौँ भ्रष्टाचार भएको दावी गर्दै तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको थियो । मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुवै खुट्टा र हातमा, दीपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दीपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । घटनाको बेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए । उसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । लाउडा प्रकरणमा प्रदर्शनकारीमाथि गोली चलाएको घटनालाई जिल्लामा दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ ।

‍घाइते बनेकामध्ये दिपनारायण एमालेका नेता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर र दिपेन्द्र नेकपा माओवदी केन्द्रका नेता छन् । लाउडा प्रकरणका घाईतेलाई नेकपा माओबादी केन्द्रले २३ औं जनयुद्ध दिवसको अवशर पारेर १ फागुन २०७४ मा सम्मान गरेको थियो ।