स्वामी धर्मविवेक -ईश्वर डटकम

स्वामी धर्मविवेक -ईश्वर डटकम


सत्य सन्दर्भ
एक दिन मैले लाश्वरलाई सम्बोधन गर्दै भने, ‘प्रभु, तिमी कहाँ छौ ? के साँच्चै तिम्रो कतै अस्तित्व त छ ? छ भने एकपटक प्रकट भएर आफ्नो अस्तित्वको प्रमाण पेस गर ।’
मैले चुनौती दिँदा पनि ईश्वर कतै प्रकट भएनन् । मैले यसरी ईश्वरलाई सम्बोधन गर्नुको खास कारण थियो । एकपटक चित्रकार एवम् साहित्यकार मनुजबाबु मिश्रले मसँग भनेका थिए, ‘म यो ईश्वर भन्ने कुरामा पटक्कै विश्वास गर्दिनँ । किनभने मैले धेरैपटक बोलाउँदा पनि ईश्वर भन्ने जिनिस प्रकट नै भएन । बरु कुकुरले चे.. भन्दा भुकेर मेरो सम्बोधनको जवाफ दिन्छ, तर ईश्वरलाई बोलाउँदा बोलेन । त्यसैले म ईश्वर मान्दिनँ । यसको मतलब म कम्युनिस्ट भने होइन है ।’
मनुजबाबुले झैं मैले पनि ई श्वरलाई बोलाएँ, कतै ‘हजुर’ भन्छन् कि भनेर । तर, अँ हँ कतै चाइँचुइँ खाकखाक खुकखुक केही सुनिएनर्, ईश्वरको । त्यसैले म पनि ईश्वर छैनन् नै भन्ने निष्कर्षमा पुगेको थिएँ । आफूले ईश्वर नदेखेको, ईश्वर महसुस नगरेको तथा त्यसको काल्पनिक छविसमेत मनमा प्रकट नभएको हुँदा मैले ईश्वरको अस्तित्वमा विश्वास गर्न छाडेको थिएँ ।
करिब पैंतीस वर्षको उमेर टेक्दै गर्दा मेरो जीवनमा एउटा चमत्कार भयो । त्यो चमत्कार के भने मेरो मनमा एउटा प्रश्न उत्पन्न भयो । त्यो प्रश्न थियो, ईश्वर छन् कि छैनन् भन्ने विषयमा मैले धेरै दिमाग खियाएँ । तर , ईश्वर आफैंमा के हुन् त ? केलाई ईश्वर भन्ने ? यसबारेमा भने मेरो ध्यान गएको रहेनछ ।
हो त नि । खासमा ‘इश्वर छन्’ वा ‘इश्वर छैनन्’ भन्ने दुवैलाई ईश्वर के हुन् भन्नेबारे पूर्ण जानकारी छैन । जस्तो कि ‘घरमा राम छन्’ वा ‘घरमा राम छैनन्’ भन्नका लागि कम से कम राम को हुन् भन्नेबारे जानकारी हुनुपर्छ । ईश्वर को हुन् भन्नेबारे स्पष्ट नभई ईश्वर छन् कि छैनन् भन्ने बहस गर्नुको कुनै औचित्य नहुने ठहर मेरो अभ्यन्तरले गर्‍यो ।
स्वत: प्रश्न उठ्ने नै भयो, ईश्वर को हुन् त ? मैले यो प्रश्न धेरैलाई सोधेँ । धेरैले प्राय: अमूर्त र शास्त्रीय जवाफ दिए । यसबीचमा धेरै धर्मशास्त्रका ठेली पल्टाएँ । तर, मैले ईश्वर यही नै हुन् भन्ने ठम्याउन सकिनँ ।
एक दिन मैले बाल्यकालदेखिका घटना सम्झिएँ । ओहो, सानो उमेरमा म केही न केही रमाइलो क्षणको प्रतीक्षा गरिरहन्थेँ । चकलेट खाने, पौडी खेल्ने, फिल्म हेर्ने, रूखमा चढेर आँप र अम्बा टिप्ने, गुलेलीले चरा वा बल्छीले माछा मार्ने । बाबुआमाको पैसा चोरेर चलचित्र हेर्न जाने । स्कुलबाट भागेर नदीको बगरमा बालुवाको घर बनाएर बस्ने । यस्तो धेरै कुरामा म आनन्द अनुभव गर्थें ।
उमेर बढ्दै जाँदा मेरा मस्तीका माध्यम र चाहना बढ्दै गए । अब गुलेलीले चरा मार्दा मजा नआउने भयो । तन्नेरीमा त युवतीसँगको प्रेम वा यौन सम्बन्धमा पो मजा आउने भयो । युवतीलाई स्पर्श गर्न पाउँदाको मजा कस्तो होला ? भन्ने कुतूहल हुन थाल्यो । त्यस्तैमा एउटी कन्यासँग मेरो प्रेम भयो । उनलाई देख्दा रोमाञ्चित हुन थालेँ । उनलाई चुम्बन गर्न पाए कस्तो हुन्थ्यो भन्ने हुन्थ्यो । एक दिन उनलाई धीत मर्नेगरी चुम्बन पनि गरेँ । त्यसपछि उनीसँग यौनसर्म्पर्क राख्ने इच्छा पलायो । मेरो त्यो इच्छा पनि पूरा भयो । तर, त्यसले पनि मलाई तृप्त पारेन ।
साथीहरूको सङ्गतमा लागेर मदिरा पिउन थालेँ । मदिरा पिउँदा धेरै आनन्द हुन थाल्यो । कालान्तरमा मदिराबाट पनि मेरो प्यास तृप्त हुन सकेन । फेरि पनि मन व्याकुल भई नै रह्यो । आखिर मेरो चाहना के थियो ? म ठम्याउन सकिरहेको थिइनँ । म खासमा के प्राप्त गर्न चाहन्छु ? ममा केको रिक्तता छ ? ममा केको प्यास छ ? मेरो असली भोक के हो ? त्यो ठम्याउन सकिरहेको थिइनँ । तर, म प्यासी थिएँ, भोको थिएँ र अतृप्त थिएँ ।
एक दिन बल्ल बोध भयो, मेरो त्यही भोक, प्यास र अतृप्ति नर्ै ईश्वरको अस्तित्वको प्रमाण हो । म मात्र होइन, सबै मानिस आनन्दको प्यासी छन् । त्यो आनन्द पनि एक घन्टा, एक दिन, एक महिना, एक वर्ष वा एक जुनीका लागि होइन, सदाका लागि आनन्दित हुन चाहन्छन् । तर, त्यो सदानन्द अवस्थामा पुग्न कोही पनि सकिरहेका हुँदैनन् । त्यो आनन्दमा पुग्न त रिस उठ्नुभएन, कसैले गाली गर्दा चित्त दुख्नुभएन । अर्थात् दु:खबाट मुक्त हुन सक्नुपर्‍यो । जुन दिन मानिस दु:खबाट मुक्त भएर सदानन्द अवस्थामा पुग्न सक्छ, त्यसै दिन ऊ नरबाट नारायण बन्न सक्छ ।
यसको अर्थ एउटा त्यस्तो अवस्था छ, सदानन्दको अवस्था-जहाँसम्म मानिस पुग्न चाहन्छ । हो, त्यही सदानन्द अवस्था नर्ै ईश्वर हो । यस हिसाबलर्े ईश्वर भनेको कुनै शक्ति, व्यक्ति वा पात्रभन्दा पनि चेतनाको सदानन्द अवस्था हो । यसैलाई सतचित आनन्द भनियो ।
यो अवस्थासम्म कसरी पुग्ने भन्नेबारे अर्को अङ्कमा चर्चा गरौँला ।