कसैले घोषित गरिदिएको कथित नेतालाई ‘सर्वगुण सम्पन्न’ ठान्ने हाम्रा सामाजिक सोच, संस्कार, मनोविज्ञान, चिन्तन र संस्कृतिलाई समेत बदल्नैपर्ने भएको छ । नत्रभने आफूलाई बाटो थाहा नभएको, अरूलाई बाटो देखाउन नसक्ने र स्वयम् त्यो बाटोमा नहिँड्नेलाई नै हामीले लिडर (नेता) मानिरहनुपर्ने दुःखदायी अवस्थाबाट हाम्रो समाज अझै लामो समय गुज्रनुपर्ने हुन्छ ।
- अधिवक्ता प्रेमराज सिलवाल
विश्वचर्चित अमेरिकी लेखक जोन क्याल्भिन म्याक्सवेल (१९४७) ले लिडर (नेता) को परिभाषा गरेका छन् । उनले ‘हु नोज द वे, सोज द वे एण्ड गोज द वे इज द लिडर’ अर्थात जसलाई बाटो थाहा छ, जसले बाटो देखाउँछ र ऊ त्यो बाटो हिँड्दछ त्यो नेता हो भनेका छन् ।
यस व्याख्याबाट नेतालाई जाने बाटो थाहा हुनु पहिलो शर्त हो । दोस्रोमा बाटो थाहा भएर मात्र हुन्न त्यो बाटो उसले अरूलाई देखाउन सक्नु पर्दछ । तेस्रोमा त्यो बाटोमा हिँड्नु पर्दछ । यहाँ बाटो भन्नाले दृष्टिकोण, लक्ष्य, गन्तव्य, कार्य, भविश्य, कार्यक्षमता, भूमिका तथा परिवर्तनशीलता आदिको अर्थमा लिइएको देखिन्छ ।
उनको व्याख्याले नेता भनेको केवल राजनीतिक नेता मात्र भन्न खोजेको भने होइन । समाजका यत्रतत्र विषय र क्षेत्रमा नेता हुन्छन् र चाहिन्छन् । नेपालमा नेता भन्नाले राजनीतिक दलको नेता भन्ने चाहिँ बढी बुझिने/सोचिने गरिएका छन् । सो व्याख्याअनुसारका राजनीतिक दलमार्फत नेतृत्व गर्ने नेताचाहिँ छन् त ? नेताको कस्तो बुझाइका साथ हामी अघि बढ्दै छौँ ? यो एउटा महत्वपूर्ण विश्लेषणको विषय हो ।
नेताको आधारभूत चरित्रलाई म्याक्सवेलले बढो छोटो र सटिक ढङ्गले व्याख्या गरेका छन् । उनको दृष्टिकोणबाट विश्लेषण गर्दा ‘नेता’को ‘पद’ वा ‘पदवी’ कसैले घोषित गरी कसैलाई केवल टीका लगाइ दिइने कुरा मात्र होइन र, हुन सक्दैन ।
गणतन्त्रपछिको नेपालमा कुनै विषय ज्यादा विकास भएको छ भने त्यो दलको गठन र नेता घोषित हुने काम ! खासमा मानिसहरूलाई ‘नेता’को पद ‘वितरण’ गर्दै संगठनको ‘फलानो-चिलनो’ नेता भएको घोषित गरिदिने एकमात्र कार्य दलको मूलीबाट हुने गरेका छन् । लिडर (नेता) मा हुनुपर्ने आधारभूत कुनै पनि तत्व, चरित्र, सीप, कला, कार्यदक्षता तथा विषेशता नभएको र विकास नगरिएको अवस्थामा आफ्ना भजनमण्डलीको चयनलाई ‘नेता’ भनियो वा बनाइयो र बुझियो । दलको प्रमुख वा दलले घोषणा गरेको जस्तोसुकै मानिसलाई अगुवा (नेता) मान्नुपर्ने नियति नेपालमा विकास गरिएको छ । २०७९ को स्थानीय निर्वाचनमा टिकट दिँदा पनि प्रमुख दलहरूले आफ्नो गुट, परिवार र निजी स्वार्थ हेर्दा कतिपय स्थानको टिकट वितरण तथा निर्वाचन नै बदनाम भएको छ ।
म्याक्सवेलको व्याख्यालाई ठ्याक्कै उल्टाएर हेरौँ- ‘हु डु नट नोज द वे, डु नट सोज द वे एण्ड डु नट गोज द वे इज द लिडर’ अर्थात् जसलाई बाटो थाहा छैन, जसले बाटो देखाउँदैन र जो त्यो बाटोमा स्वयम् हिँड्दैन त्यो नेता हो ! नेपालमा खासमा यस्तै सोचको विकास भएको देखिन्छ । संस्कृति र व्यवहार हेर्दा सुन्दै अनौठो लाग्ने नेताको यस्तो व्याख्या र परिभाषा गर्नुपर्ने ठाउँमा हामी पुगेका हौँ ? ऊ स्वमय्लाई थाहा नभएको विषयमा मानिसहरू उसको पछि लाग्नुपर्ने बाध्यता किन नेपाली जनतालाई छ ?
नेपाली राजनीतिक दलका प्रमुख नेतामा आफूलाई पूरै विश्व ब्रम्माण्डका सबै कुराको ज्ञान भएको जस्तो सोच, चिन्तन तथा शैली देखिन्छ । कतिपय अवस्थामा एउटै नेताले डाक्टरलाई, वकिललाई, इन्जिनियरलाई, प्रहरीलाई, सेनालाई, व्यवसायीलाई, प्राध्यापकलाई र समाजमा विशेष विज्ञता भएका व्यक्ति वा समूहलाई उनीहरूको विशेष र प्राविधिक विषयमा समेत अर्ति-उपदेश दिँदै हिँडेको पनि देखिन्छ, सुनिन्छ । यसो हुनुमा सचेत मानिसहरूको राजनीतिक दर्शनमा ध्यान नदिनु पनि हो । युनानी दार्शनिक प्लेटो र भारतीय विचारक चाणक्यले भनेका छन्- ‘तिमी राजनीतिमा चासो लिँदैनौँ भने तिमीभन्दा कम योग्यबाट निर्देशित हुन बाध्य हुनेछौ ।’ सोही कारण दलको नेताले आफूखुसी कमिटी बनाइ नेता भर्ति गर्ने गरेका छन् । यसर्थ, सचेत युवाको राजनीतिमा हस्तक्षेपकारी भूमिका हुनु पर्दछ । नेपालमा सचेत युवाहरूलाई पन्छ्याइएका कारण नै काठमाडौंमा बालेन साह जस्ता व्यक्तिले स्थानीय निर्वाचनमा समर्थन पाएका हुन् ।
केही वर्षअघि नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले आफ्नो केन्द्रीय समितिलाई पटक-पटक संख्या बढाउँदै लगेर अन्तमा ३ हजार ९ सय उनान्सयलाई ‘केन्द्रीय नेता’ घोषित गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो केन्द्रीय सदस्य संख्या बिस्तार गर्दै १२ सय भन्दा बढी भएको घोषित गरे । यद्यपि त्यसलाई उनले छिट्टै ३ सय भन्दा कममा झारेका थिए । हाल एमालेमा ३ सय एक जनाको केन्द्रीय समितिको वैधानिक प्रबन्ध गरिएको छ ।
दलका अध्यक्षलाई नेताको पद भन्ने कुरा आफूखुसी बाँड्ने कुरा हो भन्ने सोचको विकास भएको देखिन्छ । माथिबाट कसैलाई नेताको पद दिएपछि जादुको मान्छे जस्तो उसलाई एकाएक सबै विषयमा ज्ञान र क्षमता भइहाल्छ भन्नेखाले सोच, भाष्य र संस्कृति विकास गरिएको कारण समाजमा ‘टिके नेता घोषित हुन’ हानथाप भएको हो । प्रमुखले घोषणा गरेपछि अन्य व्यक्ति पनि ‘नेता’ हुने र त्यसरी नेता भएपछि उसलाई स्वतः सबै क्षेत्रमा क्षमता विकास हुन पुग्दछ भन्ने जस्तो सोचको विकास भयो वा गरियो । यस्तो सोच र दृष्टिकोणले नेपाली समाजलाई पूरै कमजोर पार्दैछ ।
मानिसमा भएका क्षमता, ज्ञान, सीप र दक्षतालाई तिखार्दै नेतृत्वको विकास गर्ने कि नेताको ट्याग (लोगो) टीका लगाउँदै नेता बनाउने ? के नेता भटाभट घोषणा गर्ने कुरा हो ? कसैको एउटै घोषणाले कोही म्याक्वेलले व्याख्या गरेको जस्तो खास नेता बन्न सक्दछ ?
उहिले शाह र राणाकालमा श्री ३ वा राजाले जो-कोहीलाई पनि सिधै सेनाको ‘जर्नेल भइस्’ भनिदियो भने ऊ तत्कालै देखि जर्नेल हुन्थ्यो । कसैलाई मुखिया भइस् भन्यो भने ऊ मुखिया (नेता) बन्थ्यो । सोही प्रकारको सोच र चिन्तन अहिले पनि जान सकेको देखिन्न । आफूलाई मन लागेको मानिसलाई ‘फलानो पद’ दिएको भन्दै तुरून्तै नेता घोषित गर्ने कार्यले नेतृत्वको क्रमिक विकास हुनुपर्ने दृष्टिकोण मर्दै जान थालेको छ । फेरि अर्काेतर्फ कोही पनि किन आफूलाई विकास, परिस्कृत र दक्ष बनाउन तर्फ लाग्दछ ? जबकि नेताले चाह्यो भने तत्कालै कसैलाई दलको नेता, राजदूत, विज्ञ, संवैधानिक आयोगको प्रमुख वा मेयर जे पनि घोषित गर्ने भएपछि किन क्षमताको विकासमा लाग्नुप¥यो ?
नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादीलगायतका ठूला राजनीतिक दलका राष्ट्रिय महाधिवेशनहरू गत वर्ष भएका छन् । यद्यपि माओवादीका अध्यक्ष प्रचण्डले अहिले पनि पदाधिकारी वितरण गर्न पनि सकेका छैनन् । यस्तो अवस्थामा यो विषय अरूबढी पेचिलो बनेर आएको छ । पूरै मुलुकको नेतृत्व गर्छु भन्ने नेता र दलले आफ्ना कार्यकर्तालाई नेतृत्वको विकास गर्न समग्र कार्यक्षमता विस्तारमा प्रेरित गर्नुपर्नेमा यहाँ सिधै ‘नेता घोषित’ गरी बाँड्ने संस्कृति बसालियो । त्यसको परिणाम पढेका र आफै केही गर्न सक्षम युवा पनि नेताको ढोकामा ढुकेर बस्ने ‘परजीवी तथा टीकेसंस्कृति’ हुर्कियो, हुर्किंदैछ । राजनीतिक दलका ठूला नेता अरूलाई नेता बनाइदिएको भन्दै पद बाड्ने ‘वितरक’ जस्ता भएको देखिन्छ । नेता वितरण गर्ने कि मानिसहरूले आफ्नो आन्तरिक नेतृत्व क्षमताको विकास हुँदै गएपछि नेता बन्न योग्य हुने ? यो कुरा बडो जटिल र चुनौतीपूर्ण विषय रहेको छ । नेतृत्वको विकास पटक्कै नगराउने केवल ‘नेताको पद बाँड्ने’ वा ‘घोषित गर्ने’ सोच, शैली र विचारले सचेत युवाहरू समेत थप परनिर्भर बन्दैछन् । यसले नेपाली युवामा एक प्रकारको आक्रोश पैदा गरेको छ । यसै कारण सहरमा बालेन शाह जस्ता पात्रको उदय हुँदै जान थालेको देखिन्छ ।
निष्कर्ष :
कसैले घोषित गरिदिएको कथित नेतालाई ‘सर्वगुण सम्पन्न’ ठान्ने हाम्रा सामाजिक सोच, संस्कार, मनोविज्ञान, चिन्तन र संस्कृतिलाई समेत बदल्नैपर्ने भएको छ । नत्रभने आफूलाई बाटो थाहा नभएको, अरूलाई बाटो देखाउन नसक्ने र स्वयम् त्यो बाटोमा नहिँड्नेलाई नै हामीले लिडर (नेता) मानिरहनुपर्ने दुःखदायी अवस्थाबाट हाम्रो समाज अझै लामो समय गुज्रनुपर्ने हुन्छ । वास्तवमा हामीलाई म्याक्सवेलले भनेको जस्तो बाटो थाहा भएको, बाटो देखाउने र आफू स्वयम् त्यो बाटोबाट हिड्न सक्ने नेताचाहिँ चाहिएको हो । ‘लिडरसिप’ नभएको मानिसलाई पार्टी प्रमुख वा नेताबाट टीका लगाइमागेर नेता घोषित हुने कुराले व्यक्तिको समग्र कार्यक्षमता समेत वृद्धि हुन सक्दैन ।
अर्काेतर्फ, पढेका तथा सक्षमहरूले राजनीतिमा चासो नदिने हो भने प्लेटो र चाणक्यले भनेझैँ असक्षमहरूबाटै निर्देशित हुनुपर्ने हुन्छ । यसैले व्यक्तिको कार्यक्षमता विकास सहित सचेत नागरिकहरूले राजनीतिमा चासो तथा अर्थपूर्ण हस्तक्षेप बढाउनुपर्ने खाँचो छ । सचेत युवाहरूले केवल आक्रोस पोख्ने र राजनीतिमा अलगाव राख्ने होइन कि सचेतनतापूर्वक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नु पर्दछ । बालेन शाहले पाएको समर्थनले नेपाली राजनीतिमा केही नयाँ सङ्केत भने गरेको छ ।
प्रतिक्रिया