काङ्ग्रेसमा कलह केन्द्रबिन्दुमा आरजु

काङ्ग्रेसमा कलह केन्द्रबिन्दुमा आरजु


आरजुलाई प्रधानमन्त्री नबनाई नछोड्ने शेरबहादुर देउवा र कुनै पनि हालतमा आरजुलाई प्रधानमन्त्री बन्ने अवस्था आउन नदिने कोइराला पक्षबीचको यो लडाइँ कुन उत्कर्षमा पुगेर टुङ्गिने हो सोको जानकारी पाउन अझै केही महिना प्रतीक्षा गर्नुपर्ने भएको छ ।

संसदीय निर्वाचनको समय नजिकिँदै जाँदा सत्तारुढ नेपाली काङ्ग्रेसमा कलहको बिजारोपण भएको छ । सभापति शेरबहादुर देउवाले मनोमानीपूर्ण तरिकाले पार्टी सञ्चालन गरेको र देउवासङ्ग असहमत पक्षलाई दरकिनार गर्दै लैजान खोजेपछि काङ्ग्रेसमा अन्तरविरोध बढेको हो ।

देउवाका प्रतिद्वन्द्वी नेता डा. शेखर कोइरालाले केही सैद्धान्तिक, केही शैलीगत र नीतिगत मुद्दा उठाउँदै देउवा नसच्चिए पार्टीमा विद्रोह हुनसक्ने चेतावनी दिनुभएको छ । कोइरालालाई साथ दिन उहाँकै टिमको भनिएका नेताहरू पनि सुरुमा तयार थिएनन् । आगामी संसदीय निर्वाचनपश्चात् प्रधानमन्त्री बन्ने घोषणा गरेका महामन्त्री गगनबहादुर थापा पनि कोइरालाको पक्षमा देखिँदैनथे । तर संसदीय निर्वाचनपश्चात् आरजु राणा र प्रचण्डलाई आलोपालो प्रधानमन्त्री बनाउने बाटोमा शेरबहादुर देउवा हिँडेको स्पष्ट हुँदै गएपछि भने थापा कोइरालाका पक्षमा उभिन तयार भएको बुझिएको छ ।

डा. कोइरालाले संसदीय निर्वाचनमा कम्युनिष्टहरूसङ्ग चुनावी गठबन्धन गर्नु गम्भीर गल्ती हुने अडान पार्टीभित्र राख्नुभएको छ । जबकी सभापति देउवा कुल १६५ मध्ये पचासी निर्वाचन क्षेत्र छोडेर भए पनि माओवादी लगायतसङ्ग चुनावी गठबन्धन बनाउनुपर्ने धारणा राख्नुहुन्छ । आगामी संसदीय निर्वाचनमा माओवादी, समाजवादी र जसपासङ्ग चुनावी तालमेल हुन सकेन भने काङ्ग्रेस नराम्रोसङ्ग पराजित हुने देउवाको ठहर छ । त्यसैले उहाँ असी निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेर सत्तरीभन्दा बढी स्थानमा काङ्ग्रेसलाई जिताउन सकिने विश्वासका साथ क्रियाशील हुनुभएको छ । एमालेविरुद्ध चुनावी मोर्चा खडा गर्न नसके डडेलधुराबाट आफू र कैलालीबाट श्रीमती आरजु राणा विजयी बन्न नसक्ने देउवाको निष्कर्ष छ । त्यसो त शेरबहादुर देउवा आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नबनेर समानुपातिक उम्मेदबार बन्न सक्ने सम्भावना पनि छ । कदाचित उम्मेदवार नै बन्नुपरे पनि डडेलधुरा छोडेर देउवाले कञ्चनपुर रोज्न सक्ने सम्भावना छ ।

डडेलधुरामा लोकप्रिय नेता कर्णबहादुर मल्ल आफै देउवाका विरुद्ध चुनाव लड्ने तयारी गरेको र, पाँच वर्षअघि सार्वजनिक स्थलमा आफैले हप्काएका एक युवासमेत डडेलधुराबाटै चुनाव लड्ने भएपछि देउवा नराम्रोसङ्ग झस्किुन भएको छ । त्यसैले काङ्ग्रेसलाई धेरै संसदीय निर्वाचन क्षेत्रमा विजयी गराउनेभन्दा पनि आफूहरूकै विजयको सुनिश्चितताका निम्ति देउवालाई गठबन्धन आवश्यक भएको कोइराला पक्षको निष्कर्ष छ । त्यसैले माओवादीलगायतसङ्ग चुनावी गठबन्धन बन्न नदिन कोइराला पक्षले अन्तिमसम्म सङ्घर्ष गर्ने मानसिकता बनाएको छ ।

गठबन्धन रोक्न सकिएन भने कोइराला पक्षले कम्तिमा चालीस प्रतिशत निर्वाचन क्षेत्र आफूले पाउने शर्तमा मात्र सम्झौता गर्न सक्नेछ । त्यसो हुन सकेन भने देउवाले दिएको “भाग” स्वीकार गर्दै काङ्ग्रेसको आफ्नो उम्मेदवार नभएको सबै निर्वाचन क्षेत्रमा काङ्ग्रेसका मानिसलाई स्वतन्त्र उम्मेदवार बनाएर अघि सार्ने र, आवश्यक परे नेकपा एमालेसङ्ग सहमति बनाएर अघिबढ्ने सोच कोइराला पक्षले बनाएको छ । आरजुलाई प्रधानमन्त्री नबनाई नछोड्ने शेरबहादुर देउवा र कुनै पनि हालतमा आरजुलाई प्रधानमन्त्री बन्ने अवस्था आउन नदिने कोइराला पक्षबीचको यो लडाइँ कुन उत्कर्षमा पुगेर टुङ्गिने हो सोको जानकारी पाउन अझै केही महिना प्रतीक्षा गर्नुपर्ने भएको छ ।