वैदेशिक रोजगारीमा रहेका श्रमिकको पक्षमा महत्वपूर्ण सम्झौता

वैदेशिक रोजगारीमा रहेका श्रमिकको पक्षमा महत्वपूर्ण सम्झौता


वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घबीच समझदारी

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउनका लागि महत्वपूर्ण सम्झौता भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघबीच यससम्बन्धी सम्झौता भएको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्षद्वय रविना थापा र डा. बद्री केसी एवम् सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच बिहीबार सम्झौता भएको छ ।

सम्बद्ध स्रोतका अनुसार यो सम्झैतापछि नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको परिवेशमा भूमण्डलीकरणको उच्चतम अभ्यासमा रहेको आजको विश्वमा सेवा र सुविधामा राष्ट्रियताको आधारमा विनाभेदभाव श्रमको परिचालन गर्नुपर्ने, विश्व श्रम संगठनको अभिसन्धिको व्यवस्थाअनुसार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गराउन सकिने विश्वास लिइएको छ ।

यतिबेला करिब बयालिस लाख नेपालीहरू खाडी मुलुक, मलेशिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेका छन् भने वर्षेनी करिव चार लाख संख्याको हाराहारीमा देशका युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजागर विभागको तथ्याङ्ले देखाएको छ ।

बताइएअनुसार आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. १३६ र १९० को व्यवस्था अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, श्रमिक गन्तब्य देशसँग पारस्परिक सम्झौता सम्बन्धमा नीतिगत आधार तयार गर्न सहयोग गर्ने र त्यस्तो दायरामा भित्र नपर्ने श्रमिक वा कोषमा आबद्ध हुन चाहने श्रमिकलाई तोकिएको योगदानमार्फत कोषमा आबद्ध गराउन एंव संघको सातौँ विश्व सम्मेलनमा घोषणा भएअनुसार ‘हजारे अभियान’मार्फत वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न कोषसँग सहकार्यमार्फत गरिने अध्ययन, अनुसन्धानलगायत अन्य क्रियाकलापमा कोष र संघबीच आपसी सहकार्य गर्नु/गराउनु यस समझदारीको उद्देश्य हो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गराउने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल, अध्ययन समूह वा समिति उपसमितिमा संघका प्रतिनिधिसमेत समावेश गराइ संयुक्त रुपमा अध्ययन गर्ने व्यवस्था मिलाइने कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिएका छन् । संघले वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरूको सामाजिक सुरक्षासम्बन्धी विषयमा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय गोष्ठी, अन्तरक्रिया, छलफल तथा अन्य कार्यक्रमहरूमा कोषलाई सहभागी गराउने र कोषमार्फत गराउन सकिने विषयको बजारीकरण गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्ले छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख भएअनुसार संघले गर्ने वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा कोषले सोसम्बन्धी सूचना तथा जानकारीहरू आवश्यकताअनुसार उपलब्ध गराउनेछ र, सो विषयमा प्रस्तुतीकरण समेत गर्नेछ ।

यस्तै, वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको योगदान रकम कोषमा ल्याउने प्रकृया सरलिकृत गर्न संघ र संघअन्तर्गतका अन्य निकायहरूबाट कोषले आवश्यकताअनुसार सहयोग प्राप्त गर्नेछ । समझदारीपत्र कार्यान्वयनका लागि कोष र संघबाट आफू अधिनस्थ सम्बन्धित सबै निकायहरूलाई जानकारी गराइ कार्यान्वयनको व्यवस्था मिलाइने छ ।

वैदेशिक रोजगारीमा रही सामाजिक सुरक्षा कोषको दायरामा रहेका श्रमिकहरूको विदेशमा रहँदा वा स्वदेश फिर्तीपछिको जीवनलाई सुरक्षित र व्यवस्थित बनाउने गरी आर्जित सिपलाई उपयोग गर्दै उद्यमशीलता प्रवर्द्धन र थप रोजगारी सृजना गर्दै अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्य लिइएको कार्यकारी अध्यक्ष आचार्यले जनाएका छन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको जीवनचक्रमा आइपर्ने जोखिम व्यवस्थापनको लागि अध्ययन अनुसन्धान गरी योजनाहरू विकास गर्ने, समझदारीपत्र कार्यान्वयनको सिलसिलामा कुनै पक्षलाई द्विविधा भएमा एकआपसमा छलफल गरी द्विविधा निराकण गरिने सहमति पनि भएको छ ।