फुर्सदिलाहरू,
पहार ताप्दै
लोकतन्त्र र गणतन्त्रका कुरा गरिरहेछन्,
अधिकार र स्वतन्त्रताका कुरा गरिरहेछन्
तर,
मेरो छेउछाउ अझै डर डुलिरहेको छ,
मनमा त्रास छ
अनि
आँगनमा आतङ्क नाचिरहेको छ
र
अझै भयसँग युद्ध लडिरहेछु ।
टाठाबाठाहरू,
चोक, चौतारोमा बसेर
‘नयाँ नेपाल’को कुरा गरिरहेछन्,
‘अग्रगमन’को कुरा गरिरहेछन्,
समृद्धि र सम्पन्नताका कुरा गरिहेछन्,
तर,
म भने,
उनै,
धम्की र चेतावनीसँग जुधिरहेछु,
गरिबी र अभावसँग सिँगौरी खेलिरहेछु ।
सत्य बोलिरहेछु हजुर,
न मेरो नयाँ वर्षसँगै हर्ष आउँछ,
न कुनै च्ाडपर्वमा उमङ्ग नै ।
आश्वासन बाँड्नेहरू लडिरहेछन् एक-आपसमा सत्ताका लागि
यसैले त,
अझै पनि म
कुण्ठा र निराशाबीच बाँचिरहेछु,
म भोकसँग जुधिरहेछु
गरिबीसँग युद्ध लडिरहेछु ।
-पोखराथोक, पाल्पा
नर्भिकदेखि नेशिपसम्म-वामदेव पण्डित
(वर्ष ९६)
नर्भिक प्रबल प्रसिद्ध गनिने नामी चिकित्सालय
भर्ना भैकन बेडमा सुती लडेँ बाँच्ने लिई आशय ।
खोकी औ दमले म पीडित भई गर्दै दबाई थिएँ
नामी ने.शि.प.को हिरादिवसको निम्तो मिल्यो फर्ुर्किएँ ।।
प्यारो ने.शि.प. त्यो प्रसिद्ध हुन गो गोपाल पाण्डेयले
साठी वर्ष अगाडि निर्मित गरे शिक्षा दिने ध्येयले ।
त्यो संस्था गतिशील धेर हुन गो चर्चा छ चारैतिर
बिरामी म परेँ तथापि म पुगेँ त्यो कार्यमा आखिर ।।
चौरासी वयबाट माथितिरका साहित्य-स्रष्टा गण
सम्मानित हुने विशुद्ध गतिलो राम्रो थियो कारण ।
घण्टा तीन बिदा लिएर म पुगेँ आदर्श त्यो कार्यमा
जेठोमा म परँेछु म सकलमा पौडेँ म आनन्दमा ।।
स्रष्टा ती कविजी वरिष्ठ सनको राम्रो भयो स्वागत
फर्कें फेरि म हस्पिटलमै भो स्वास्थ्यमा मर्मत ।
पाँचौँ रात बसेर हस्पिटलमा माया दिने डाक्टर
ज्यादै धेर विनम्र नर्स कलिला सुसभ्यका सिस्टर ।।
यस्ताको दिनरात आश्रय लिई आनन्दले बस्दथेँ
व्याधी काट्न भनेर साहस लिई मुड्की कसी ठोक्दथेँ ।
प्यारा डाक्टर सभ्य सिस्टरहरू नर्सादिको स्नेहले
पाउँथ्यो दिनरात नै हरघडी आनन्द यो देहले ।।
गाठी एक हुँदा विशेष तहको कोठा थियो एकल
एकान्तस्थल त्यो थियो अनि सदा भज्थेँ महाशंकर ।
ठूलो तारकखण्ड त्यो गगनको जान्नै नसक्ने कुरो ।
सानोमा परमाणु लेख्नु कसरी थर्किन्छ यो पाखुरो ।।
लीला अद्भूत दैवको बसी-सुती सम्झिरन्थेँ सदा
भै डिस्चार्ज म फर्किएर घरमा आनन्द भो सर्वदा ।
मेरो यो इतिहास हस्पिटलको शय्यातिरै पल्टिई
लेखेको जनता-जनार्दनहरू पढ्ने छन् चासो लिई ।।
प्रतिक्रिया