साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समयअनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।
‘नेपालमा मात्र नभइ दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन,’ प्रशिक्षक केसीले भनेका छन्, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन, तर हामी यहाँ जित्न आएका हौँ ।’
त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषको भनाइ छ ।
यस्तै, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन् । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।
यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो ।
यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।
यु-२० टिम :
गोलकिपर : ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षक : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : आयुश घलान (कप्तान), दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकर : रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी
प्रतिक्रिया