नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा तयारी सुरु

नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा तयारी सुरु


नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा संरचनाअनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण बैठक बसेर तयारी सुरु गरेको हो ।

बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातायात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषिराम गौतम, प्रचारप्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिलबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी, अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णुमाया गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा वसन्तराज दवाडी र सदस्यमा आकृति भण्डारीलाई जिम्मेवारी दिएको उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

खेल सञ्चालन कार्यविधि २०७९ छलफलपछि स्विकृतिका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । प्रतियोगिता आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछ । खेलकुदको तयारी तथा टिम छनोट र बन्द प्रशिक्षणका लागि करिव ७ करोड खर्च लाग्ने अनुमानसहित परिषद्ले मन्त्रालयसँग बजेट मागेको छ ।