नेपालको नाम नै मेटाउने चेतनास्तर !

नेपालको नाम नै मेटाउने चेतनास्तर !


श्रीमान् ‘वाम’ श्रीमती ‘काङ’ वा यस्तै- यस्तै विभाजन एकै ओछ्यानमा पनि देखिन थाल्यो । सिद्धान्त, दर्शन आदिले मात्र पनि दलहरूलाई सङ्गठन बनाउने बल पुगेन र जाति, सम्प्रदाय आदिमा सङ्घ-सङ्गठन भनेर विभाजन शुरु भयो । नेपाली अब नेपाली हुनुभन्दा हिमाली, पहाडी, तराईवासी हुन थाल्यो । जति चेतनास्तर बढ्दै जाँदैछ त्यति नै नेपाली भन्ने परिचय धुमिल हुँदैछ ।
  • स्वयम्भूनाथ कार्की

नेपाली जनताको चेतनास्तर बढेको छ भनेर आजकाल निकै बढाइचढाइ कुरा गर्ने गरिन्छ, सुनिन्छ÷सुनाइन्छ । स्वभाविक रूपले सबैले अस्तिभन्दा हिजो धेरै, हिजोभन्दा आज र आजभन्दा भोलि धेर जान्दछ । तर यो जानेको कुरा ज्ञान हो, बुद्धि वा चेतना हैन । समाजले प्रतिपल थप प्रगति गर्दै जान्छ तर विकास थप नै हुन्छ भन्ने छैन । यो बुद्धि र ज्ञान अनि विकास र प्रगतिको अन्तर थाहा नपाउने गरेर मान्छेको मगज नै कुन्ठित भइसकेको छ । तैपनि चेतनास्तर बढेकै मान्दा पनि वर्तमानमा नेपालमा नेपाली दुर्लभ र लोपोन्मुख भएका छन् । ०२८/३० साल ताका नेपालमा नेपाली मात्र थिए । हिमालमा बस्ने नेपाली, चुच्चेनाक भएका नेपाली, थेप्चे नाक भएका नेपाली । नेपालमा रहेका हरेक समुदायको पहिलो परिचय नेपाली थियो । दोक्चा लगाउने, दौरा लगाउने, धोती गम्छा धारण गर्ने सबै नेपाली थिए ।

तिनले आफ्नो मुलुक नेपाललाई माया गर्थे, पागलपनमा पनि देशको अवहेलना गर्न सक्दैन थिए भने देश खारेज गर्ने कुरो बोल्ने त के सपनामा देख्यो भने पनि अपराधबोधले ग्रस्त हुन्थे । त्यसपछि चेतनास्तर बढ्यो, ‘मण्डले’ नाम कमाउनेहरू देखापर्न लागे । उनिहरूले नेपालीलाई इतर र भितरमा बाँड्ने कोशिस गरे । तैपनि बुधनी खवास र महाप्रसाद उपाध्याय नेपाली नै थिए । शौकत अलि र पेम्वा लामा, आइतमान मिजार अनि बलबहादुर छेत्री नेपाली भनेर नै चिनिन्थे । केवल राजनीति गर्नेहरू भने नेपाली भन्दा अन्य नामले चिनिने प्रयत्न गर्थे । नेपाली राजनीतिकर्मीमा कोही इतर कोही भितर भनिन्थे । पञ्च, महापञ्च ‘भितर’ थिए भने तीबाहेकका ‘इतर’ । तैपनि देशलाई नै अवहेलना गर्न सक्ने गरेर चेतनास्तर बढेको थिएन ।

त्यसपछि ‘सुधारिएको पञ्चायत’ आयो । अब इतरले पनि ‘प्र’ (प्रतिबन्धित) जोडेर स्थान पाए । भितर समुहले यसलाई रोक्न न्वारनदेखिको बल लगायो । राजाले भने- ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली !’ तर महापञ्चले यसलाई पचाएनन् र, पञ्च र जनताबीच विभाजन ल्याए । आफूलाई मन परेकोलाई तानतुन पारेर पञ्च बनाइ भितरमा ल्याउने नत्र इतर बनाइ ‘प्र’ थपेर गतिविधि गर्न पाएका दलहरूतिर धकेल्ने र नाम दिने- व्यवस्थाविरोधि । बिस्तारै जनमत सङ्ग्रहको चार लाखको फरक शुन्यमा झऱ्यो, उल्टियो अनि थपिँदै गयो । महापञ्चहरू भने सञ्च मानेर आफूलाई निष्कण्टक ठानेरै बसे । एकै परिवारमै इतर र भितर पैदा भए । नेपाली हुनुको गौरव कम भएको महसूस हुँदै गयो ।

जब बहुदल आयो मान्छे ‘नेपाली’ भन्दा पनि काङ्ग्रेस, एमाले भनेर चिनिनमा गौरव गर्न थाले । श्रीमान् ‘वाम’ श्रीमती ‘काङ’ वा यस्तै- यस्तै विभाजन एकै ओछ्यानमा पनि देखिन थाल्यो । सिद्धान्त, दर्शन आदिले मात्र पनि दलहरूलाई सङ्गठन बनाउने बल पुगेन र जाति, सम्प्रदाय आदिमा सङ्घ-सङ्गठन भनेर विभाजन शुरु भयो । नेपाली अब नेपाली हुनुभन्दा हिमाली, पहाडी, तराईवासी हुन थाल्यो । जति चेतनास्तर बढ्दै जाँदैछ त्यति नै नेपाली भन्ने परिचय धुमिल हुँदैछ ।

गणतान्त्रिक नेपालमा त नेपालीलाई जातीय लिङ्गीय परिचय दिइएको छ । बसोबासको भूगोलको परिचय दिइएको छ । देशको नाम नेपाल नै ठिक भएन भन्न पनि पाइएको छ । जब देशको नाम नै नमानेपछि त्यो नाम जोडेर भएको नेपाली परिचय नमान्न पाइने भएको छ । नेपाली-नेपाली एक हौँ भन्नेलाई कारवाहीको धम्की दिने चेतनाको स्तर बढेको छ । देश नै खारेज गर्ने नारा लगाउने, नेपालको झण्डा जलाउने काम गर्नेलाई तुल बिछ्याउने चेतनालाई बढेको मान्ने कि घटेको ?!

दलहरूको यो सिकाइबाट बढेको चेतनास्तरले भिट्टामोडको रामआसरे र पाँचथरको वीर नेम्बाङले परिचय साझा गर्नु हुन्न । रौतहटको रहमत खाँ र जुम्लाको प्रेम हमालले अलग-अलग परिचय दिनु पर्दछ । देशको निमित्त योगदान दिन आवश्यक छैन बरु देशको वासिन्दा भएबापत देशले आफूलाई केही गरेन भनेर कोपर्न, चिथोर्न पाइन्छ । त्यसैले यस्तो चेतनास्तर बढेको चाहिएन । नेपाली-नेपाली मिल्न नदिने दलहरूको उपस्थिति नहोस् भन्ने नेपाली जमात चाहिएको छ । यो मुलुक, परम्परा अनि आ-आफ्नो सभ्यता बचाउने र प्रवर्धन गर्ने हो भने जनता कडा हुनै पर्दछ । बाँच्न त अरबको बालुवामा उँट चराएर पनि नेपाली बाँचेकै छन् । हिम्मत गरे स्वदेशमै नेपाली भएर शिर ठाडो गरेर बाँच्न सकिन्छ ।