जनता जगाउने मेयर

जनता जगाउने मेयर


मानिस सकारात्मक भएपछि चाहेका धेरै कुराहरू सहज हुन्छन् । आफूवरिपरिका मानिसलाई ‘स्पेसल फिल’ गराउन सक्नु नेतृत्वमा हुने मानिसको सफलता हो । मेयर हर्क यही सफलतातर्फ उन्मुख छन् ।
  • बबिता बस्नेत

‘देश नेता, कर्मचारी र ठेकेदारले होइन जनता आफैंले बनाउनुपर्छ ।’ धरानका मेयर हर्क साङ्गपाङ्गको नारा हो यो । नगरका हरेक काममा नागरिक सहभागिता गराउने उनको भिजनलाई धरानका जनताले साथ दिइरहेका छन् । शनिबार अरुका लागि छुट्टीको दिन हो तर धरानवासीका लागि श्रमदान गर्ने दिन । जनश्रमदानका लागि आह्वान गर्दै मेयर आफैं काममा खटिन्छन्, लाइन लागेर नागरिकले काममा सहयोग गर्छन् । खानेपानीपछि अब धरानवरपरको जंगलमा फूल र फलफूल लगाउने कार्यलाई नागरिकले साथ दिइरहेका छन् । शहर सफा राख्न तोकिएको समय र स्थानमा फोहोर थुपार्नका लागि माइकिङ गरिन्छ, सोहीअनुरुप विभिन्न स्थानबाट फोहोर उठाइन्छ । मेयरको भनाइमा ‘श्रम नगरेर हो अभाव भएको र अभावले गर्दा नै हो द्वन्द्व र लडाइँ भएको’ । उनी अभावरहित, द्वन्द्वरहित शहर बनाउन चाहन्छन् । आफूले श्रम गरेपछि विकासका कार्यमा भएका हरेक उपलब्धिमा जनताले अपनत्व महसूस गर्ने नै भए ।

जनतालाई एकताको सूत्रमा बाँध्नका लागि उनले विभिन्न चोकमा कविता, गीतलगायतका सिर्जना सुनाउने कार्यक्रमको आयोजना गर्दैछन् । जहाँ सर्वसाधारणले मेयर र सबै मानिसका अगाडि आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्छन् । एकार्कालाई प्रशंसा गर्ने वातावरणले मानिसहरूबीच सौहार्द्धता वृद्धि हुन्छ, हर्क साङपाङ विकाससँगै आफ्नो शहरमा मानिसहरूबीच सौहाद्र्धता बढाउन चाहन्छन् । आहा… तिमी कति राम्रो, तिमीले गाएको गीत कति राम्रो, तिम्रो कविता गज्जब, तिमीले बजाएको गितार… तिम्रो मुक्तक… तिम्रो दोहोरी गीत, तिम्रो लोक गीत, तिम्रो र्‍याप… तिमी जस्तो… या तपाईं जस्तो… भनेर एकार्काको तारिफ गर्ने वातावरणले मानिसलाई ‘स्पेसल’ महसूस गराउँछ । यस्ता कुराले मानिसमा सकरात्मक भाव पैदा गर्छ । मानिस सकरात्मक भएपछि चाहेका धेरै कुराहरू सहज हुन्छन् । आफूवरिपरिका मानिसलाई ‘स्पेसल फिल’ गराउन सक्नु नेतृत्वमा हुने मानिसको सफलता हो । मेयर हर्क यही सफलतातर्फ उन्मुख छन् ।

कुशल नेताले पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्छ । हर्क साङपाङले जनतामाझ ब्यवहारिक अभ्याससहितको पथप्रदर्शकको भूमिका निर्वाह गरिरहेका छन् । विचारका हिसाबले आफ्नो विचारमा अरुलाई सामेल गराउन सक्नु नेतृत्व हो । हर्क कामसँगै विचार निर्माणमा लागेका छन्, एकार्कामा सकारात्मक भाव पैदा गर्ने विचार !

धेरैजसो मानिसहरू आफू पदमा पुग्नुलाई सफलता ठान्छन् । पदमा पुगेपछि म सफल भएँ भनेर आफूलाई भयङ्कर ठान्ने मानिसहरू हामीकहाँ धेरै छन् । कति त आफू पदमुक्त भइसकेपछि पनि म यस्तो पदमा थिएँ त्यसकारणले मलाई मान-सम्मान चाहिन्छ भन्नेहरू पनि छन् । पदलाई सर्वोपरि ठानेर पदकै कारण चिनिने मानिसहरू पदको समाप्तिसँगै हराउँछन् । पदमा हुँदा विशेष काम गर्ने मानिसहरूलाई भने मानिसले कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छन् । मानिसको जीवनमा सफलताको अर्थ पद होइन, प्राप्त पदलाई उसले कसरी सदुपयोग गर्‍यो र कतिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्‍यो भन्ने हो । अरुको जीवनमा खुशी ल्याउन सक्नु सफलता हो, तर हामीकहाँ चाहिँ पदमा पुग्नासाथ सफलता प्राप्त गरेको ठान्ने चलन छ, जुन सही होइन । आफ्नो नजरमा सफल हुनु र अरुको नजरमा सफल हुनु फरक कुरा हो ।

कतिले मेयर हर्कलाई नीति बनाउनुपर्ने मान्छे कहाँ कोदालो बोकेर हिँडेको… पनि भन्ने गर्छन् । हो, मेयर नीति बनाउने र निर्देशन दिने पद हो । साथै, बनेका नीतिहरू कार्यान्वयनमा ल्याउने काम पनि नेतृत्वकै हो । आफूले कोदालो नखनी अरुलाई मात्रै कोदालो बोकेर काममा खट भनेका भए सायद धरानमा अहिले यो छोटो समयमा जति काम भयो त्यति हुँदैन थियो होला । कुशल नेताले पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्छ । हर्क साङपाङले जनतामाझ ब्यवहारिक अभ्याससहितको पथप्रदर्शकको भूमिका निर्वाह गरिरहेका छन् । विचारका हिसाबले आफ्नो विचारमा अरुलाई सामेल गराउन सक्नु नेतृत्व हो । हर्क कामसँगै विचार निर्माणमा लागेका छन्, एकार्कामा सकरात्मक भाव पैदा गर्ने विचार ! हामीकहाँ नेताले ब्यक्त गर्ने विचार आम जनताले सहमति जनाउन सक्ने प्रकारका भइरहेको परिप्रेक्ष्यमा उनका साधारण तर जनउपयोगी विचारले मानिसलाई आकर्षित गर्दै गइरहेको छ ।

वडाध्यक्षहरूले बैठकमा देखाएको कागजपत्र फाल्ने, च्यात्ने, मुठ्ठी बजार्नेलगायतको बहादुरीले राम्रो सन्देश दिएको छैन । आफ्नो ठाउँलाई राम्रो बनाउन जनताको साथ लिएर अघि बढेका मेयरलाई साथ दिँदा आउने परिणाम शान्त, सौहार्द्धपूर्ण र हराभरा धरान हो ।

नेतृत्वमा रहेका मानिसका लागि किनेका गाडीका बेरुजु र गाडीमा खर्च भएको रकम हेर्दा जो-कोहीलाई आफूले तिरेको करको माया लागेर आउँछ । जनप्रतिनिधिहरूले आफ्नो सेवा-सुविधामा मात्रै ध्यान केन्द्रित गरेका कुराहरू सावजनिक भइरहँदा नेता हुनुको अर्थ ‘राज’ गर्नका लागि हो भन्ने बुझाइ नेतृत्वमा परेको देखिन्छ । खासमा नेता हुनुको अर्थ राज गर्नु नभएर जनताको जीवन सहज बनाउनका लागि सहजीकरण गर्नु हो । जुन काम हर्क साङपाङले नेतृत्वमा पुगेर गरिरहेका छन् । नेता हुनुको अर्थ पदप्राप्तिपछि गजक्क परेर जनतासँग टाढा हुनु झैँ गरी हाम्रा अभ्यासहरू बढिरहेका छन् । जुन सही अभ्यास होइनन् । नेता भनेको यस्तो मानिस हो जसले दूरदृष्टि राख्न सक्छ, परसम्म देख्न सक्छ, जनतालाई समान ब्यवहार गर्न सक्छ । भोट जसको लिए पनि निर्वाचित भएर पदमा पुगिसकेपछि उसले जनतालाई हेर्ने दृष्टिकोण समान हुनु पर्छ । तर हामी कहाँ नेतृत्वमा पुगेकाहरूको अधिकांश समय आफूइतरलाई गाली गरेर बित्ने गरेको छ । जुन नेतृत्वमा हुनुपर्ने गुण होइन । हर्क साङपाङ आफ्नो साधारण जीवनशैली र काममार्फत नेताको अर्थ बुझाउन लागिपरेका छन् ।

नेतृत्व महत्वाकाङ्क्षाबाट आउनु हुँदैन भनिन्छ तर हाम्रो समस्या के हो भने नेतृत्वमा आउनेहरू आफ्नो महत्वाकाङ्क्षाका कारण आएका छन् । नेता हुनका लागि जनतालाई सकारात्मक बाटोतर्फ डोर्‍याउने दृष्टिकोण चाहिन्छ । जनताका अगाडि शान लगाएर हिँड्ने नभइ विनम्रतापूर्वक प्रस्तुत हुने क्षमता आवश्यक हुन्छ । अरुलाई राम्रो देख्नका लागि आफू मनभित्रैबाट राम्रो बन्नुपर्ने हुन्छ । मुलुकलाई सकरात्मक बाटोमा हिँडाउनका लागि आफू सकारात्मक सोचबाट निर्देशित हुनुपर्छ । म किन नेतृत्वमा छु भन्ने कुरा थाहै नपाइ नेतृत्वमा पुगेका कारण समस्याहरू आएका हुन् । खाने, लाउने, बस्ने, जस्ता स-साना कुरामा नेताहरू अल्झिएको देख्दा नेतृत्वको अर्थ कसले र कसरी बुझाउने होला भन्ने कुराले मनमा ठाउँ लिन्छ । हामीकहाँ ठेक्कापट्टा लगायतका धनप्राप्तिका काममा नेताहरूको प्रत्यक्ष संलग्नताले नेतृत्वको परिभाषालाई गलत सावित गर्ने प्रक्रियामा छ । नेतृत्वको परिभाषालाई जोगाउनका लागि राजनीतिमा हर्क साङपाङहरूको प्रवेश र सक्रियता आवश्यक छ । यस्ता मानिसको नेतृत्वमा चलेको कुनै पनि ठाउँमा भ्रष्टाचार हुने सम्भावना हुँदैन । वडाध्यक्षहरूले बैठकमा देखाएको कागजपत्र फाल्ने, च्यात्ने, मुठ्ठी बजार्नेलगायतको बहादुरीले राम्रो सन्देश दिएको छैन । आफ्नो ठाउँलाई राम्रो बनाउन जनताको साथ लिएर अघि बढेका मेयरलाई साथ दिँदा आउने परिणाम शान्त, सौहार्द्धपूर्ण र हराभरा धरान हो । मेयरको यो दृष्टिकोण र अभ्यासमा कतैबाट बाधा अडचन आएमा त्यसमा साथ दिने काम पनि जनताकै हो ।