डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क स्वास्थ्य शिविर शुरु

डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क स्वास्थ्य शिविर शुरु


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ । डडेल्धुरा अस्पतालको आयोजना, सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले मंगलबार शिविरको उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै मन्त्री बोहराले आगोले पोलेका, जलन भएका, ओठ र तालु फाटेका र दुर्घटनामा परी गम्भीर घाइते भएकाको उपचारका लागि डडेल्धुरामा बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवश्यक रहेकोमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशभरी यस्ता बिरामीको उपचार हुँदैन उपचारका लागि नेपालगञ्ज, काठमाडौं वा भारत धाउनुपर्ने अवस्था छ । यसले गर्दा समयमै उपचार नपाइ अकालमै ज्यान जान्छ भने उपचार सम्भव भए पनि निकै खर्चिलो हुन्छ । यसकारण डडेल्धुरामा बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवश्यक छ रहेको उनले बताए । त्यसका लागि आफूले पहल गरिरहेको उनको भनाइ छ । त्यसका लागि आफूले पहल गरिरहेको समेत उनले बताए ।

आजदेखि यही साउन २१ गतेसम्म सञ्चालन हुने नि:शुल्क शिविरमा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरूको विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क स्वास्थ्य परीक्षणसँगै शल्यक्रिया गरिने जनाइएको छ । शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरू, जन्मजात हातगोडाको औंलाहरू टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औंलाहरू टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिने छ ।

यसैगरी, मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर नचल्लने भएका बिरामीको पनि शिविरमा नि:शुल्क उपचार हुनेछ । कान तथा नाक चिरिएको बिरामी, शरीरमा मुसा, कोठी, दाग तथा गाँठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सरसम्बन्धी बिरामी, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षणसँगै नि:शुल्क शल्यक्रिया र शल्यक्रिया गरिएका बिरामीहरुलाई बस्ने कोठासमेत नि:शुल्क रहेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंका १३ जना विशेषज्ञ चिकित्सकसहितको टोली रहेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका बिरामीलाई पायक पर्ने गरी डडेल्धुरा अस्पतालमा शिविरको आयोजना गरिएको सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल निर्देशक सन्तोषविक्रम भण्डारीले जानकारी दिए । शिविरमा सेवा लिनेहरूको भिड लागेको छ ।