युरोप-अमेरिकाका हाई-वेहरूमा पैदल हिँड्नका लागि फुटपाथ राखेको देखिन्न । मानिसले सवारी साधन नपाएर वा त्यो नभएर पैदल नै हिँड्नुपर्ने बाध्यता त्यहाँ लगभग समाप्त भइसकेछ । बेलायतको चर्चिल अस्पतालमा पुग्दा मलाई त्यो अस्पताल नै हो भनेर विश्वास गर्नै पनि गाह्रो भयो । किनकि, त्यहाँ बिरामी भनिएकाहरू एक-दुईजना मात्र देखिन्थे । धानिनसक्नुगरी हुलका हुल बिरामी कुरिरहेका नेपालका अस्पताल देखेर गएका व्यक्तिलाई त्यो कुरा नौलो थियो । केन्टकी राज्यको त्यस टोलमा लगभग तीन सय घर थिए होलान् तर मानिस भने एकाध मात्र देखेँ । काठमाडौंका प्रत्येक टोलमा कमिलाका ताँतीझैं नेपाली दाजुभाइ देखिरहने मेरा लागि त्यो दृश्य अचम्मको थियो । स्वीडेनको माल्मोनजिक एक गाउँमा प्रत्येक खेतका गराहरू झन्डै एक-एक किलोमिटरका थिए, तर कतै किसान देखिनँ । यहाँ एक रोपनी जमिनमा ६ जनाको परिवार बिहानैदेखि खनजोत र गोडमेलमा लागिरहेको देख्ने मेरा लागि त्यो दृश्य नौलो थियो । इजरायलमा विमानस्थलबाट ओर्लिएदेखि नै मरुभूमि बालुवा मात्र देखेँ तर पनि त्यस जमिनमा पनि मान्छेले रूख रोपेर हरियाली ल्याएका, टेम्परेचर मिलाएर तरकारी उत्पादन गरी युरोप पठाएका, कतै पानी-खोला नभए पनि प्रत्येक घर-घरमा खानेपानी र बिजुली पठाएका मात्र होइन त्यहाँको मरभूमिमा दूधका कल्चौडा बोक्न नसकी थचक्क बसेका गाईहरू देख्दा मलाई पत्याउनै गाह्रो भयो । किनकि, म आफ्नो देशमा जङ्गल फाँडेको, चुरे फुटाएको तरकारी भारतबाट मगाएको, एक मात्र दूध नदिने गाई पाल्न पाँच सदस्यका परिवार त्यसैमा लागेको र ठूला-ठूला नदी भए पनि सिँचाइ, बिजुली र धारामा पानी नहुने देशबाट गएको थिएँ ।
भियतनाम एक युद्धले जर्जर बनाएको कम्युनिस्टहरूले चलाएको राज्य भएका कारण त्यहाँ जाँदा भने म आफ्नो देश निक्कै माथि नै पाउने विश्वास लिएर गएको थिएँ, तर हनोई विमानस्थलमा ओर्लेर त्यहाँका विमानस्थल देख्दा मेरो विश्वास चकनाचुर भयो । जम्मा त्यही एक एयरपोर्टमा मात्र दर्जनौँ ध्वजाबाहक जेटहरू देख्दा म पानीपानी भएँ । सहर प्रवेश गर्नेबित्तिकै लाम लागेर बहुराष्ट्रिय कम्पनीहरूको कारखाना र अफिसहरू देखेँ । मानिसको जीवन शैली र क्रयशक्ति निकै माथि रहेछ । नेपालमा राजनीति छिराएर मजदुर युनियनका नामबाट अस्तव्यस्त बनाएका कलकारखाना र उद्योग देखेर गएको मेरा लागि भियतनामले पनि जिल्ल पारिदियो । इन्डोनेसिया जाँदा भने म केही उत्साहित थिएँ । सायद इन्डोनेसियाभन्दा नेपाल कम छैन होला भने मेरो विचार थियो तर जसै जकार्ताको सहरमा भएको अग्लो टावर चढेर त्यो सहर मैले हेरेँ काठमाडौं त्यसका अगाडि व्याख्या गरेझैं पुरानो सहर मात्र लाग्यो ।
विगत चार-पाच वर्षभित्र प्रहरी जीवनको अवकाशपश्चात् म धेरै घुमेँ । जापानदेखि डेनमार्क, बेलायतदेखि अमेरिका, स्वीडेनदेखि इन्डोनेसिया, बैंककदेखि भियतनाम, इजरायलदेखि थाइल्यान्ड । जुन मुलुकमा पुगे पनि मानिस खान, बाँच्न र स्वस्थ रहनकै लागि मात्र सङ्घर्ष गरेको पाइनँ । उनीहरू बाँच्नका लागि केही काम गर्दै छन् तर बाँचेर संसार पनि हेर्दै छन् । अमेरिका र इजरायली किसान ६ महिना काम गरेर डेढ महिना टुरिस्ट भई संसार हेर्न वा रमाइलो गर्न पनि पुग्दा रहेछन् । आज दक्षिण-पूर्वीएसियाका मुलुकका जनता पनि आफ्ना जीवनस्तर माथि उठाउन निकै सफल भइसकेका छन् । तर, यही हुलमा नेपाल एउटा यस्तो मुलुक छ जो प्रत्येक दिन आर्थिक रूपले तल राजनीतिक रूपले तल, सामाजिक सद्भावले तल, यातायात व्यवस्था, वातावरण, रोजगारको अवसर, कृषि उत्पादनको हिसाबले तल, सुरक्षाको हिसाबले तल, एक शब्दमा भन्नुपर्दा हरेक हिसाबले तलको तल परिरहेको छ ।
यो कुरा सही हो कि देश विकासका लागि शक्तिको विकेन्द्रीकरण आवश्यक छ, स्रोतको बाँडफाँड समान रूपले हुन जरुरी छ, यसका लागि प्राविधिक हिसाबले सेवा दिने तरिका, इकाइ र प्रविधि परिवर्तन गर्नुपर्ला तर यसको मतलब के जातपात फरक भएकै कारण यो मुलुकको पतन भएको हो त ? के हिमाल, पहाड, मधेस नामका भौगोलिक विविधता भएका कारण यो मुलुक तलतल गएको हो त ? मेरो विचारमा त्यो होइन । यो मुलुक तल गएको अदूरदर्शी राजनीतिज्ञ हामीजस्ता र स्वार्थी जनताकै कारणले हो ।
अब खालि सबै राजनीतिक दललाई सेना र सुरक्षा फौजमा आफ्ना मानिस छिराउन आतुर छ । आखिर केका लागि ? सुरक्षाफौजमा छिराउनुभन्दा प्राविधिक तालिम दिएर देश निर्माणमा किन नलगाउने ? प्राविधिक बनाएर विदेशमा रोजगारका लागि किन नपठाउने ? यो मुलुकमा के नै राष्ट्रिय सुरक्षाको चुनौती छ र ? जसका लागि हजारौँ मधिसे वा पहाडे सेना थप्नुपर्ने आवश्यकता पर्यो ? वास्तवमै नेपाल बस्न लायक छ-छैन अध्ययन गर्नुपर्ने समय आइसकेको छ । झन्डै चौधघन्टे लोडसेडिङको अँध्यारोभित्र एक लिटर इन्धन पाउन आठ घन्टा लाइनमा बसेका नेपालीको जीवनमा सुधार कसले ल्याउँछन् । जुन प्रकारले नेपालका राजनीतिज्ञहरूले यो मुलुकलाई बर्बाद पार्दै छन्, क्षति कम हुँदैमा तिनलाई रोक्न नसके यो मुलुक उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ । अनुत्पादक ठाउँ, झैझगडा, अपराध वा मेलमिलाप नहुँदा जति ठाउँ अड्डा-अदालत खचाखच छ । बदाम खाएर घाम तापेर दिनभरि सुत्ने रत्नपार्क खचाखच छ । सडक-तमासा हेर्न, राँको बाल्न वा अर्काका गाडी फुटाउन एकैछिनमा कमिलाझैं मान्छे जम्मा भएका छन् तर बनाउने, रचना गर्ने सभ्यता-संस्कृति जोगाउने र नैतिकतालाई कायम राख्ने काममा भने एकाध मात्र लागेको पाइन्छ । यो मुलुकवासीले अब आफ्नो स्थिति कहाँ छ र कता जाँदै छ भनेर खोज्नैपर्छ । यी नेता र राजनीतिक दलहरू जो आफ्नो पदरक्षाका लागि जे-जस्ता मुलुकविरोधी निर्णय लिन पनि हिचकिचाइरहेका छैनन् तिनलाई खबदार गर्ने एक सशक्त नागरिक समाजको आवश्यकता भइसकेको छ । त्यो नागरिक समाजमा सबै नेपाली गोलबद्ध हुनु आफ्नै लागि पनि जरुरी छ नत्र आउने दिन प्रत्येक नागरिकले मसल्स र लाठीको छायामुनि बाच्न बाध्य हुनुपपर्नेछ ।
पृथ्वीनारायण शाहको सालिक हटाउन तम्सने माधव नेपाल प्रचण्ड, वाबुराम, सुशील कोइरालाजस्ता नेता जसलाई नेपालको एकीकरण गर्न तिनले बगाएका रगत-पसिनाको अर्थसम्म त थाहा छैन, जो तिनले बनाएका नेपाल राज्यमा नेता भएको आफूलाई मान्छन् त्यस्ता नेताहरूबाट यो मुलुक अगाडि बढ्छ भनेर कुनै नेपालीले अहिले सोचिरहेका छन् भने त्यसलाई भीरबाट खस्ने गोरुलाई रामराम भन्न मात्र सकिन्छ भन्ने उखानसँग जोडे हुन्छ । अब नेपालीहरूले एउटा निर्णयमा पुग्नुपर्छ त्यो के भने यी राजनीतिक दल र नेताहरूको विकल्प खोज्ने मात्र होइन यिनले जुन प्रकारले मुलुक बर्बाद गर्दै छन् त्यसलाई रोक्न सहास गर्ने नागरिक समाज पनि टोलटोलमा बनाउनुपर्छ । अब नेपालीले यहाँका नेताको कार्यक्षमता सम्बन्धमा ‘यू टर्न’ खोज्नैपर्छ ।
प्रतिक्रिया