अलमुताइरीको स्थानमा हुमागाईं प्रशिक्षक, आजदेखि खेलाडीलाई प्रशिक्षण गराउने

अलमुताइरीको स्थानमा हुमागाईं प्रशिक्षक, आजदेखि खेलाडीलाई प्रशिक्षण गराउने


राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आज शुक्रबारदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने भएका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको जानकारी दिए ।

प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै बङ्गलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने उद्देश्यका साथ काम गर्ने बताए । अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाईँ नेपाली मूलको अमेरिकी नागरिक हुन् ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उनको अनुपस्थितिमा एन्फाले एक खेलका लागि हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

आगामी असोज ११ गते घरेलु मैदान दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण एक खेलका लागि एन्फाले प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको हो । प्रारम्भिक चरणमा रहेका ४० खेलाडीलाई प्रशिक्षक हुमागाईंले प्रशिक्षण गराउनेछन् । प्रशिक्षक हुमागाईंले यसपटकदेखि फुटबल खेलका समर्थकलाई पनि हप्तामा एक दिन खेलाडीले प्रशिक्षण गरेको स्थलमा प्रवेशको मौका दिने बताए । नेपालमा फुटबल फ्यानको संस्कृतिलाई विकास गर्न समर्थकलाई प्रशिक्षणस्थलमा भित्र्याउने योजना रहेको उनको भनाइ छ ।

यसैगरी एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उनको अनुपस्थितिमा प्रशिक्षक हुमागाईंलाई नियुक्त गरिएको जानकारी दिए ।

नेपाली टोलीले प्रारम्भिक चरणको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठलाई बोलाएको छ ।

यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का र अमित तामाङ छन् भने मिडफिल्डरमा सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदीप गुरुङ, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट छनोट भएका छन् ।

त्यस्तै फरवार्डमा विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास प्रारम्भिक चरणमा छनोट भएका छन् ।