बन्दको चपेटामा तराई

बन्दको चपेटामा तराई


सुविधासम्पन्न ठाउँमा बसोबास गर्नु पनि कहिलेकाहीँ अभिसापजस्तो हुने रहेछ । पहाडका धेरै स्थानमा मोटरबाटोको सुविधा छैन, त्यहाँका बासिन्दाले बन्दको दु:ख पनि त्यति भोग्नुपर्दैन, मधेसमा जताततै सडक सुविधा छ, सडक भएपछि मोटर गाडी हुने नै भए, ती मोटर गाडी चल्न नदिनका लागि र बजारमा हुने चहलपहल बन्द गरेर आफ्ना माग पूरा गरउनका लागि तराईका आन्दोलनकारीहरू तल्लीन छन् । के पूर्व, के पश्चिम, के भित्री मधेस तराई बन्द हुने क्रम जारी छ । बन्दको असर कहाँ, कसलाई, कतिसम्म पर्छ भन्ने कुरा आन्दोलनकारीका निम्ति कुनै चासोको विषय रहँदैन । गत सोमबार विराटनगर पुग्दा विराटनगर बन्द थियो, निहुँ थियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि । बन्दको सन्दर्भमा स्थानीयलाई सोध्दा खै यहाँ बन्द भइरहन्छ केही होला, किन भन्ने त थाहा भएन भन्ने जवाफ पाइयो । यसको अर्थ के हो भने यति धेरै बन्द भइरहन्छ कि के, कसो र किन भनेर स्थानीयवासीले वास्ता पनि गर्न छाडिसके । ‘माघ लागेपछि त बन्दको मौसम नै सुरु भएजस्तो भएको छ, यो वर्षको फागुन-चैतमा त कति बन्द होलान्, अहिले नै अनुमान गर्न सकिन्छ’ यसो भन्दै मानिसहरू मानसिक रूपमा बन्दलाई झेल्न तयार भइरहेका छन् । गत बिहीबार जनकपुर जानका लागि हिँड्न लाग्दा थाहा भयो, जनकपुर त बन्द रहेछ । बुधबार मात्रै काठमाडौंसहित देशव्यापी बन्द भएकाले त्यसको भोलिपल्टै त बन्द होलाजस्तो लागेको थिएन । केको बन्द रहेछ ? जिज्ञासा स्वाभाविक थियो, ‘खै हिजोको बन्दमा केही विद्यार्थीसँग सुरक्षाकर्मीको झडप भएकाले त्यसका विरुद्धमा भएको रे, कहिले खुल्छ टुङ्गो छैन’ जवाफले एकैछिन् त के गरौँ के गरौँ जस्तो भयो । कार्यक्रम थियो महोत्तरीमा, जनकपुरै बन्द भएपछि कसरी जाने…जाऊँ कि नजाऊँको दोधारबीच हिँडियो । जनकपुर पुग्दा बजार सुनसान थियो, केही रिक्साबाहेक यातायातका साधन थिएनन्, हातमा रड बोकेका एक हुल युवालाई सडकमा देख्दा अचम्मै लाग्यो । पछि कसैले भन्यो, यहाँ त चलनै यस्तै छ, बन्दको बेला पहिलापहिला लाठी बोकिन्थ्यो, अहिले रड बोकिन्छ । लाठीको ठाउँ फलामे रडले लिएको रहेछ । आवेगमा आएर ती रड मानिसका टाउकामा बजारिए के होला ? सम्भँदै जिउ सिरिङ्ग भयो ।
बन्दको दु:ख झेल्नेमा महोत्तरीको जलेश्वरवासी जनकपुरवासीभन्दा निकै अगाडि रहेछन् । धेरै दिनदेखि जलेश्वर बन्द रहेछ, कहिले खुल्ने हो कुनै टुङ्गो थिएन । बन्दकै कारण जलेश्वरमा तय गरिएका कार्यक्रमहरू बर्दिबास सारिएका थिए । कामविशेषले जलेश्वर हिँडेकाहरू जनकपुरबाटै फर्किनुपर्ने अवस्थामा थिए । ‘खै के हो के हो सधैं कुनै न कुनै कारणले बन्द भइरहन्छ कसरी जीवन धान्ने हो सोच्नै सकिएको छैन’ यातायात व्यवसाय गरिरहेका एक युवाको यो भनाइमा चरम निराशा झल्किन्थ्यो तर गर्न सक्ने अवस्था पनि केही थिएन । यही माघ १० गते मंगलबार जलेश्वरमा एक हुल मानिसले नेपाली झण्डा जलाए, कसैले कुनै प्रतिक्रिया जनाउन सकेनन् । मुलुक के हुन लागेको हो, जिल्लालाई के गर्न खोजिएको हो कसैलाई थाहा छैन । स्थानीयवासी भन्छन्, सुरक्षित तवरले आफ्नो व्यवसाय गरेर बाँच्न पाए हुन्थ्यो । मधेस आन्दोलनपछि बढेको पहाडी र मधेसीबीचको खाडल भने अहिले क्रमश: पुरिँदै गएको महसुस उनीहरूले गरिरहेका छन् । फलत: जनकपुर र महोत्तरीका विभिन्न गाउँबाट अन्य स्थानमा बसाइँ सरेका पहाडेहरू आफ्नो ठाउँ र्फकने क्रम बढ्दै गएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वर र सोही जिल्लाकै हाईवेमा अवस्थित बर्दिबासबीच अहिले घम्साघम्सीको अवस्था छ । यही कारणले जलेश्वर १२ दिनदेखि बन्द छ । बर्दिबास भने बन्द हुने र खुल्ने क्रम जारी छ । जिल्ला प्रशासन, मालपोत, नापीलगायतका जलेश्वरमा भएका सरकारी कार्यालयका सेवा केन्द्र बर्दिबासमा स्थापना गरिनुपर्ने माग बर्दिबासवासीको छ । यता जलेश्वरवासी भने बर्दिबासमा भएका सबै सरकारी कार्यालय जलेश्वरमा सारेपछि मात्रै सेवा केन्द्र खोल्न सकिने अडानमा छन् । अहिले बर्दिबासमा वन, भूसंरक्षण, सडक, खानेपानी, ट्राफिकलगायत नौवटा सरकारी कार्यालय छन् भने सदरमुकाम जलेश्वरमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, स्थानीय विकास, मालपोत, नापी, भूमिसुधार, महिला विकासलगायतका कार्यालय छन् । प्राय: जिल्ला कार्यालयहरू सदरमुकाममै हुने गर्दछन् । महोत्तरीमा भने जलेश्वर र बर्दिबासमा सरकारी कार्यालयहरू बाँडिएर रहँदा यी दुई स्थानबीच सधैं शक्तिको चलखेल र प्रतिस्पर्धा रहँदै आएको छ । ०६५ सालमा पनि यस्तै प्रकारको आन्दोलन यो जिल्लामा भएको थियो, पछि टुङ्गो लगाउने भनी आन्दोलनकारी पक्षबीच सहमति भएपछि आन्दोलन रोकिएको थियो । बर्दिबासवासीलाई ‘सफलता हासिल नगरी यो छोड्नै नमिल्ने आन्दोलन’ भनी माओवादीले आड-भरोसा दिएकाले अहिलेको आन्दोलनले भने फरक रूप लिन सक्ने देखिन्छ । यो विषयलाई लिएर बर्दिबासवासीहरू पालोपाली रिले अनशनमा समेत बसेका छन्, जहाँ महिलाको सहभागिता उल्लेख्य देखिन्छ । आफ्नो ठाउँमा सुविधा खोज्नु स्थानीयवासीका निम्ति स्वाभाविक भएकाले यसलाई निहुँ बनाएर माओवादीले महोत्तरीको बर्दिबास क्षेत्रमा आफ्नो उपस्थिति दह्रो पार्न खोजेको देखिन्छ तर यसो गर्दा जिल्ला भने रातदिनको बन्दले कमजोर बन्दै गएको छ । जलेश्वर र बर्दिबास ४२ किलोमिटरको दूरीमा छन् । मुलुक सङ्घीयतामा जाने भनेर अनेक कुरा भइरहेका बेला महोत्तरीमा भएको यो घटनाले भोलिको नेपालको अवस्था कस्तोसम्म होला भनेर अलिकति भए पनि अनुमान गर्न सक्ने बनाइदिएको छ । स्थानीय जनतालाई अधिकार बाँडफाँडलगायत साधन, स्रोत र शक्तिको कुरा गर्दा कति विचार गर्नुपर्ने रहेछ भन्ने कुराको उदाहरण पनि हो यो घटना । अहिले सङ्घीयताका नाममा विभिन्न स्थानका जनताले मोटर, क्वाटर र गार्ड नै प्राप्त गर्नेझैं गरी जसरी कुराकानी गरिएको छ यसको व्यवस्थापन गर्न कति गाह्रो होला ? अनुमान गर्न सकिन्छ । जनतालाई सपना देखाउन जति सजिलो हुन्छ त्यसलाई पूरा गर्न त्यति नै गाह्रो छ । एकताका संविधानसभाको चुनाव हुनेबित्तिकै त सबै कुरा ठीक हुन्छ भनी प्रचार गरिएको थियो, बीचमा संविधान बनेपछि त मुलुक आफैं बन्छ झैं गरी प्रचार गरियो । अहिले संविधानसभा र संविधान निर्माणबारे जनतालाई बताउन कठिन बन्दै गएपछि सङ्घीयताको सपना बाँड्न सहज ठानिएको छ । स्थानीय शक्ति बाँडफाँडका विषयमा जलेश्वर र बर्दिबासबीच हाल भइरहेको घम्साघम्सीलाई नजिकबाट नियाल्दै यो समस्या समाधान गर्नतिर लाग्नुपर्ने देखिन्छ । बिनातयारी मुलुक सङ्घीयतामा जाने हो भने अहिले एक जिल्लामा देखिएको यस्तो समस्या भोलि मुलुकभरि नै फैलने निश्चित छ ।