बबिता बस्नेतको यात्रा संस्मरणमा आधारित पुस्तक ‘समय साक्षी’ सार्वजनिक

बबिता बस्नेतको यात्रा संस्मरणमा आधारित पुस्तक ‘समय साक्षी’ सार्वजनिक


लेखक एवम् पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’को लोकार्पण गरिएको छ । राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमामा बुधबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपालका प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, स्वयम् लेखक बस्नेत र उहाँका मातापिताले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

‘समय साक्षी’को प्रकाशक संस्था बुक हिलद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका विशेष अतिथि मुलुकका प्रथम गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरुपमा पुस्तक आएको मन्तव्य राख्नुभयो । लेखक बस्नेतको व्यवहारपरक एवम् सरल लेखनीको प्रशंसा गर्दै उहाँले पुस्तकमा समेटिएका हरेक सामग्री तीन∕चार पृष्ठका छोटा अध्यायको रुपमा रहेकाले पुस्तक पढ्न रुचिकर रहेको अनुभव राणाले सुनाउनुभयो । यात्राका बेला भेटेका विषयवस्तुलाई लेखक बस्नेतले महिला अधिकारसँग जोडेर प्रस्तुत गर्नुभएको जानकारी पनि उहाँले गराउनुभयो ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै कथाकार ढुङ्गानाले विदेश गएका बेलाको यात्रा संस्मरणमा आधारित पुस्तक हुनाले अत्यन्त रुचि लाग्ने खालका सामग्रीयुक्त भएको बताउनुभयो । यात्रामा देखिएका, बुझिएका र भोगिएका कुरालाई लेखोटमार्फत पस्किने क्रममा सम्बन्धित स्थानको यथासक्य जानकारी प्रदान गर्न भने लेखक चुकेको पनि उहाँले औंल्याउनुभयो।

‘चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ’, कथाकार ढुङ्गानाको टिप्पणी थियो ।

घटना र विचार साप्ताहिकका सम्पादकसमेत रहनुभएकी लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको औंल्याउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराउनुभयो । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उहाँको प्रष्टोक्ति थियो ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बुक हिलका संस्थापकद्वय भूपेन्द्र खड्का र पवन आचार्यले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको धारणा राख्नुभयो ।

ज्ञातव्य छ, ‘समय साक्षी’मा लेखकले हालसम्म यात्रा गर्नुभएका विश्वका चौबिस मुलुकका देखाइ, भोगाइ तथा अनुभूतिहरु चौरान्नब्बे वटा अध्यायमा समेटिएका छन् भने हरेक अध्याय रोचक, सुरुचिपूर्ण एवम् ज्ञानवर्द्धक रहेका छन् । यसअघि प्रकाशित कथा-संग्रह ‘सम्बन्धहीन सम्बन्धहरु’ लेखक बस्नेतको चर्चित साहित्य-कृति हो ।