यु-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने

यु-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने


श्रीलंकामा जारी यु-१७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गऱ्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे ।

खेलको २१औँ मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे ।

यस्तै, ३०औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३-० मा पुऱ्याए । ३७औँ मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए । पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो ।

नेपालका युनेशले ५१औँ मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५-० मा पुऱ्याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६–० को जित निश्चित गऱ्यो ।

नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।