डायस्पोरामा नेपाली सञ्चारकर्म

डायस्पोरामा नेपाली सञ्चारकर्म


मानिसका मूल्य-मान्यताहरूलाई केन्द्रमा राखेर प्रेसले पनि मानिसको सामाजिक जीवनको सही रिपोर्टिङ गर्न सक्षम हुनुपर्छ । तर हाम्रो नेपालको पत्रकारितालाई अलिक बढी असन्तुलित, फेवर खोज्ने र वैचारिक ध्रुवको मात्रै पक्षधरतामा ढल्किने रुझानले गाँजेको छ ।
  • डिल्ली अम्माई/बेल्जियम

देश छोडेर प्रवास पलायन हुने क्रममा अरु बौद्धिक र श्रमिक जस्तै पत्रकारहरू पनि रहेका छन् । उनीहरूले प्रवासमा आफ्नो समुदायको सूचना, गतिबिधि र अवस्थितिलाई मूल थलोसँग सम्पर्क गराउने कार्यभारको साथै आफ्नो पहिचानलाई आफु बसेका देशका नागरिकहरूबीच परिचय गराउने काम पनि गरिरहेका हुन्छन् । जसरी दोभाषेले दुई भाषा बोल्ने नागरिकहरूबीच अन्तरक्रिया गराउने काम गर्छ त्यस्तै डायस्पोराका सूचनाकर्मिहरूले मूलभूत रुपमा दुई देशका सूचनाहरूको आदान प्रदान मार्फत कालान्तरमा दुई फरक सांस्कृतिक सभ्यताहरूलाई जोड्न सहयोग गरिरहेका हुन्छन् ।

त्यो नेपालमा महाभूकम्प गएपछि बेल्जियम लगायत युरोपमा प्रमाणित भयो । त्यहाँको समवेदनाको असर बेल्जियम लगायत संसारभरिका जनताले पत्रकारहरूकै कारण महसुस गरे । संसारभरि सहयोग अभियान चल्यो र त्यसले नेपालको दुखेको घाउमा राहत र ऐकबद्धताको आधार प्रदान गर्यो । त्यसैले पत्रकारिता र बिशेषगरि प्रवासी समाजमा डायस्पोराको पत्रकारिताले महत्वपुर्ण भूमिका खेलिरहेको कुरालाई कसैले नकार्न सक्दैन ।

केही दसक अगाडीदेखि डायस्पोरामा नेपाली संचारकर्मी क्रियाशील छन् । उनीहरूले प्रवासबाट आफ्नो रुचि र क्षमता अनुशार राजनैतिक, आर्थिक र सामाजिक साँस्कृतिक रूपमा डायस्पोरा दर्शकहरूका लागि सान्दर्भिक सूचना, मनोरञ्जन र शिक्षासम्बन्धी समाचारहरू दिइरहेका हुन्छन् । एकातिर डायास्पोरिक संचारकर्मीहरूले सूचनाको सम्प्रेषणद्वारा प्रवास र मूल थलो जोडिरहेका छन् भने अर्कोतर्फ डायस्पोराको आफ्नो समुदायलाई कर्मभूमिका नागरिकसँग जोडीरहेका छन् । अहिलेसम्मका संचार गतिविधिलाई केलाएर हेर्दा डायस्पोरिक मिडियाले मुख्यतः दुईवटा फराकिलो भूमिका खेल्ने देखिन्छ ः पहिलो, प्रवासी मिडियाले डायस्पोरिक समूहहरूलाई होस्ट देशमा समायोजन तर्फ मद्दत गर्न सूचना र सल्लाहसँग सम्बन्धित अभिमुखीकरणको भूमिका खेल्छ ।

त्यस्तै दोश्रो, डायस्पोरामा आफ्नो समुदायका गतिबिधिको जानकारी दिनुको साथै मातृभूमिमा भएका घटनाहरूको बारेमा जानकारीहरूको लेनदेन गर्ने काम पनि प्रवासी मिडियाले गरेको देखिन्छ । जस्तैः हालै टर्कीमा पाकिस्तानीद्वारा चारजना नेपाली अपहरणमा परेको घटना होस् वा युक्रेनको युद्धबाट नेपालीहरू भागेर फ्रान्स वा पोर्तुगल पुगेको सूचना होस् प्रवासका मिडियाहरूले धेरै छिटो र विश्वासिलो तरिकाले समाचार सम्प्रेषण गरे । अझै डरलाग्दो कुरा मानव तस्करहरूद्वारा कोलम्बिया हुदै अमेरिकासम्मको कहालीलाग्दो नेपालीहरूको यात्राबारे डायस्पोराका नेपालीहरूले नै समाचार सम्प्रेषण गरे । त्यो पनि उनीहरू आफै त्यो यात्रामा सहभागी भएर गरिएको डरलाग्दो विवरण शरिर नै काँप्ने खालको थियो । यो सबै सूचनाको प्रसारणले अमेरिकाको सपना देख्ने हजारौं नेपाली त्यो रुट प्रयोग गरेर जान छोडेका छन् । यो सबै देन डायस्पोराका नेपाली पत्रकारहरूको नै हो ।

डायस्पोराको पत्रकारितामा अर्को आधुनिक आयाम पनि जोडिएको छ । त्यसले नयाँ मिडिया टेक्नोलोजीको बिकास र प्राबिधिक ज्ञान थप्नुकासाथै रेडियो र टेलिभिजनमार्फत आफ्ना विचारहरू प्रसारित गर्न डायस्पोरा समूहहरूलाई अनगिन्ती प्लेटफर्महरू उपलब्ध गराएको छ । नेपाली डायस्पोराका पत्रकारहरूले प्रसारण र प्रकासित गरेको संचार सामाग्रीलाई अहिले नेपालका मुख्य मिडियाहरूले स्थान दिन थाल्नुको कारण सूचनाको विश्वसनियता नै हो । त्यसले के देखाउंछ भने मूलधारका नेपाली मिडियाहरूसँगै बिश्व प्रसिद्ध बिबिसी नेपाली सेवाले समेत डायस्पोरिक मिडियाको विकासलाई प्रोत्साहित गरिरहेको छ । यद्यपि, प्रवासी नेपालीहरूको व्यापार मोडेल अझै पनि मुख्य रूपमा स्वतन्त्र र सानो स्तरमा छ, र तिनीहरूको मुद्रित संस्करण प्रायः वैकल्पिक वितरण आउटलेटहरू अति सानो बाटोबाट गुज्रीरहेका छन् । ति सबैलाई समायोजन गरेर एउटा विशाल नेपाली डायस्पोराको सामुहिक मिडियाकेन्द्र बनाउने सम्भावना रहे पनि त्यो खाले सोचको बिकास अझै हुन नसक्नु दुखद नै मान्नु पर्छ । अझै पनि हामीहरू मूलधारका नेपाली पत्रिका, टेलिभिजन र अनलाइनमै चित्त बुझाएर बसेका छौँ तर डायस्पोराको छुट्टै संयुक्त लगानीमा मिडिया कम्पनि बनाउनेतिर सोचिरहेका छैनौं ।

बेल्जियममा नेपाली पत्रकारहरूको समुदायसंग अन्तर्सम्बन्ध

बेल्जियममा विशेषगरी सन् २००० देखिने नेपाली संचारकर्मिहरूले यहाँको नेपाली समुदायका अधिकतम गतिविधिहरू नेपालको मुलधारमा रहेका पत्रपत्रिकाहरूमार्फत प्रकाशित गर्न थालेका हुन् । खासगरी बेल्जियममा विभिन्न अनलाइन मिडियाहरूमद्धे नमस्ते युरोपका सम्पादकले नेपाली पुर्खाहरूले सहादत गरेको स्थान खोजबिन गरि समूदायलाई जानकारी गराएपछि इपरमा नेपाली समुदायको स्रद्धा बग्न थालेको देखिन्छ । त्यो सायद बेल्जियमको खोज पत्रकारिताको क्षेत्रमा कोशेढुंगा मान्नु पर्छ ।

त्यस्तै युरोपमा नेपालीहरू संगठित हुने क्रम बढेसँगै समुदायका गतिबिधिबारे लेख्ने वा प्रसारण गर्ने कार्य नेपाली मिडियाकर्मीले नै गर्दै आइरहेको देखिन्छ । जव समाजमा सकारात्मक गतिविधिको साथै नकारात्मक गतिबिधि बढ्न थाल्छ त्यस्ता गतिबिधिबारे पत्रकारहरूले बेलाबेलामा समालोचना र खबरदारी समेत गरिरहेका छन् । जसको एउटा उदाहरण गेन्टको एसेण्ट्रा मेलामा भएको मानव तस्करीको भण्डाफोरलाई लिन सकिन्छ ।

२००६ बाट सम्पादक तेज नेपालीको नेतृत्वमा युरोपकै पहिलो प्रिन्ट मिडिया शुरु भयो । त्यसपछि पत्रकारिताले अझै ब्यबस्थित रुपमा अगाडी बढ्न थाल्यो । पछि बेल्जियमबाट प्रकासित चारदिशालगायत केही अनलाइनहरूले पनि सुचनाको क्षेत्रमा उल्लेख्य भूमिका खेलिरहेका छन् ।

समाजमा अन्तरक्रियात्मक प्रतिक्रियासहित अगाडी बढ्दै जाँदा सन् २०१२ मा नेपाल पत्रकार महासंघ युरोप साखाको गठन हुन पुग्यो । जसमा फ्रान्सका पत्रकार ददि सापकोटाको नेतृत्वदायी भूमिका रहेपनि बेल्जियमका पत्रकारको पनि उल्लेख्य सहभागिता रहेको थियो । त्यसपछि युरोपका केहि पत्रकारहरूले नेपाल पत्रकार महासंघको सदस्यता पनि प्राप्त गर्न सफल भएका छन् । गतबर्ष बेल्जियम शाखा बनेपछि हाल यो शाखाका सबै सदस्यहरूले महासंघको सदस्यता प्राप्त गरेका छन् भने बेल्जियमका पुराना पत्रकारहरूको सदस्यता नबिकरण भएर आइपुगेको छ । नयाँ सदस्यता प्राप्त गर्ने सबै मित्रहरूलाई बधाई दिँदै संयमित, सन्तुलित र लगनशिल भएर समाचार संकलन गर्नु हुन बिशेष अनुरोध गर्दछौँ ।

युरोप शाखाको कुरा गर्दा, पहिलो पुस्ताका नेपाली पत्रकारहरू नेपालकै सामाजिक मनोविज्ञानबाट ग्रसित रहेको गतिविधिले देखाएको छ । नेपाल पत्रकार महासंघका शाखा भित्र हुने नेतृत्वको होड राजनीतिका भात्री संगठनमा जस्तै देखिन्छ । तर सुचना सम्प्रेषण र समुदायको सेवालाई तुलनात्मक रुपले हेर्दा नेपाली मुलका प्रवासी पत्रकारहरूको योगदानलाई कम आँक्न सकिँदैन ।

उदाहरणको लागि पत्रकारहरूले यहाँ हुने प्रयटन प्रबर्धनबारे भएका दुतावास संलग्न कार्यक्रम, एनआरएनका सामाजिक गतिबिधि, खेल, साहित्य र अन्य सांस्कृतिक गतिबिधि, ब्याबशायी प्रबर्धनका गतिविधिहरू प्राय सबैको मिडियाले कभरेज गरेकै हुन्छ । अहिले युरोपका कुटनैतिक नियोगहरूपनि पत्रकारहरूसंग समन्वय नगरी समुदायका गतिविधिबारे जानकारी लिनै सक्दैनन् । त्यसैले नेपाली डायस्पोरा युरोप र बिशेषगरि बेल्जियमका पत्रकारहरू समुदायका भरपर्दा सुचना सम्बाहक बनिरहेका छन् । यो नै सबैभन्दा महत्वपुर्ण कुरा हो ।

प्रवासका पत्रकारहरूको आगामी कार्यदिशा के हुनुपर्ला ?

पछिल्लो चरणमा बेल्जियमका पत्रकार ओम शर्माद्वारा सम्पादित चार दिशा अनलाइन पत्रिका, युरो नेपाल च्यानल, फ्रान्सबाट सञ्चालित नेपाल प्लस र मुलुकका मिडियालाई आधार मानेर प्रकाशित अनेक पत्रपत्रिकाले डायास्पोरिक जर्नालिज्मलाई धेरै महत्व दिएका छन् । अब यी सबै पत्रपत्रिकाले नेपाली समुदायका सबै सांस्कृतिक, धार्मिक, आस्थागत, आर्थिक र सेवामुलक गतिविधिका तत्वहरूको सन्तुलनमा न्युज पब्लिस गरेका छन् त ? विशेषगरी बेल्जियमका सबै पत्रकारहरूले संयुक्त रूपमा कसरी सूचना संजालको उन्मादबाट समाजोपयोगी समाचार फिल्टर गर्न के गर्नु पर्ला भन्ने बहस चलाएका छन् त ? वा हाम्रा न्युजका प्लटहरूको तथ्यगत आधारहरू अझै कमजोर भएर विश्वसनियतामा झोक्राउनु पर्ने अवस्थाको सृजना हुँदै गइरहेको त छैन ? यदि छ भने प्रवासका पत्रकारहरूको आगामी कार्यदिशा तिनै कमजोरी सुधार्नको लागि निदिष्ट गरिनुपर्छ ।

समग्रमा भन्दा हाम्रो पत्रकारिता चाहे त्यो नेपालमा वा प्रवासमा होस् विशेषतः आधारभूत वर्गको लागि हो । सारतः, पत्रकारिता दबिएका आवाजहरूको आवाज हो, भिन्न प्रकारको तर उत्कृष्ट समाज सेवा हो, स्वतन्त्रताको पहरेदार हो र पत्रकारिता निरंकुशता, विभेद र अन्यायविरुद्धको चुनौतीपूर्ण आवाज हो । भुइँमान्छेहरूको अधिकतम् हिस्साले बोक्ने आस्था, विश्वास र उनीहरूभित्र रहेको राष्ट्रिय तन्तुहरूसमेत हाम्रा पत्रकारिताका हिस्सा हुन सक्नुपर्छ । उनीहरूको सुख, दुःख, आशा र भविष्यप्रतिको चिन्तासमेत हाम्रो कलमका हिस्सा हुनुपर्छ । बेल्जियमस्थित नेपाली डायस्पोरा त्यसैपनि अत्यन्त माइनोरिटीमा छ । त्यसैले यहाँका प्रमुख मिडियामा हाम्रो पहुँच सुन्यबराबर छ । अथवा हाम्रा आवाज, चाहना र गतिविधिका सुचना दबिने अवस्थामा नै छन् भन्दा आत्युक्ति नहोला । हामी पत्रकारहरूले हाम्रो समुदायको केही कुराहरू बाहिर ल्याउन, कमसेकम भबितब्यमा गुहार माग्ने स्तरबाट माथि उठाएका छौँ । अब यहाँको लोकल भ्यालुसँग जोडेर हाम्रो पत्रकारिता युरोपका स्थानीयतहमा समेत पु¥याउनु पर्दछ । यो पनि अबको हाम्रो कार्यभारभित्र पर्दछ ।

त्यसैले जहाँ जुन अबस्थामा छौँ, त्यसलाई सिंहावलोकन गर्दै पत्रकारहरूको परिप्रेक्ष्यमा एकीकृत र समुदायको हकमा अन्तरक्रियात्मक रूपमा आफ्नो कलमलाई अझै तिखार्नुको विकल्प हामीसँग छैन ।

सञ्चार जगतलाई प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ र सन्देश

युनेस्कोको महासभाको सिफारिसमा सन् १९९३ डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवस घोषणा गरेको थियो । त्यसबेलादेखि मे ३, विन्डहोक घोषणाको वार्षिकोत्सवलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ । प्रेस स्वतन्त्रता दिवस घोषणाको ३० वर्षपछि पनि जनहितको सापेक्षतामा सूचना खोज्ने, प्रवाह गर्ने र प्राप्त गर्ने स्वतन्त्रताको महत्व घोषणाको निर्णयमा हस्ताक्षर गर्ने बेलाको जत्तिकै सान्दर्भिक छ ।

मे ३ ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको अनुस्मारकको रूपमा कार्य गर्दछ । यो प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूकोबारेमा मिडिया पेशेवरहरू बीच प्रतिबिम्बित गर्ने दिन पनि हो । यो प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्तहरू सम्मान गर्नको लागि; विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्नको लागि; मिडियालाई उनीहरूको स्वतन्त्रतामा हुने आक्रमणहरूबाट बचाउनको लागि; कर्तव्यको क्रममा ज्यान गुमाएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नको लागि एउटा महत्वपूर्ण दिन हो ।

परिचय : सन् १९९३ देखि वार्षिक रूपमा आयोजित, ग्लोबल सम्मेलनले पत्रकारहरू, नागरिक समाजका प्रतिनिधिहरू, राष्ट्रिय अधिकारीहरू, शिक्षाविद्हरू र व्यापक जनतालाई प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामा उदीयमान चुनौतीहरू छलफल गर्न र समाधान पहिचान गर्नुको साथसाथै काम गर्ने अवसर प्रदान गर्दछ ।

२–५ मे २०२२ मा युनेस्को र गणतन्त्र उरुग्वेले पुन्टा डेल एस्टे, उरुग्वेमा वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवस ग्लोबल सम्मेलन आयोजना गर्न लागेका छन् । ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ भन्ने नाराका साथ गर्न लागिएको सम्मेलनमा डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विषयमा ब्यापक छलफल हुने अनुमान गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ ले नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई प्रेस स्वतन्त्रतामा अवरोध पु¥याउने मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता तथा गोपनीयतामा बढ्दो निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न आवश्यक ठोस समाधानहरू खोज्ने ठानिएको छ ।

२०२२ को विश्व प्रेस स्वतन्त्रता दिवसको विषयवस्तु ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ले पत्रकारहरूले सामना गरिरहेका धेरै नयाँ डिजिटल खतराहरूलाई निर्देशित गर्ने देखिन्छ, र संसारभरिका संचारकर्मी लगायत सबै सरोकारवालाहरूबाट आवश्यक प्रतिक्रियाको माग समेत गर्ने देखिन्छ ।

अमेरिकाको नर्दन क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेका दुई–तीन ठूला सूचना कम्पनीले संसारका अधिकतम सम्पूर्ण सूचना प्रणालीमाथि नियन्त्रण जमाएका छन् । ठूला कम्पनी वा सरकारद्वारा गरिने केन्द्रिकृत डिजिटल नियन्त्रणका दुष्परिणाम सन् २०१९ मा भारतमा देखिएको थियो, जतिबेला भारत सरकारले जम्मु-काश्मीरको विशेष हैसियत खारेज गरिदिया, त्यसबेला जम्मु-काश्मीरको सम्पूर्ण सञ्चार सम्बन्ध विच्छेद गरियो । जसले समुदायको सूचना पहुँचलाई निषेध ग¥यो र समुदाय सूचनाविहीनताको अवस्थामा फस्यो । यो केन्द्रिकृत सूचना नियन्त्रणले समुदायको स्वार्थ भन्दा सरकारको सत्ता स्वार्थलाई प्रतिनिधित्व गर्ने हुँदा यसबाट समुदायको सूचना अधिकारलाई कसरी स्थापित गर्ने ? पत्रकारिताभित्रको यो चुनौती अहिलेको सबैभन्दा गम्भीर चुनौती हो ।

सञ्चारमाध्यमको चरम केन्द्रीकरणबाट अब नेपाल पनि अलग रहन सक्ने छैन । नेपालमा पनि अबको पत्रकारिता सामाजिक सञ्जालको कोलाहलमा हराउला कि भन्ने चिन्ता पत्रकारिताभित्रकै गम्भीर खतरामध्ये एक हो ।

सिलिकन भ्यालीले नियन्त्रण र फिल्टर गर्ने ‘क्लिक बेट’ पत्रकारिताले कसरी आम पत्रकारिताको आत्मामाथि प्रहार गरिरहेको छ ? यसले के स्वतन्त्र पत्रकारितालाई जीवन्त रहन देला ? यो संसारभरका पत्रकारहरूले उठाइरहेको अर्को गम्भीर प्रश्न हो ।

सामाजिक संजाल र सूचना नियन्त्रणलाई एकछत्र हल्लाइरहेको सिलिकन भ्यालीको सफ्टवेयर कन्ट्रोल रुममा के कुरा बढाइचढाइ गर्ने र के चाहिँ नगर्ने भन्ने डिजाइन गरिन्छ । भनिन्छ, त्यसखाले सञ्चारमाध्यममा सम्पादकीय मूल्याङ्कन शून्य रहन्छ । यस्तो सञ्चारमाध्यमका लागि उपभोक्ता झुम्मिने हरेक कुरा उचित भइदिन्छन् । चाहे त्यो लैंगिक वा जातीय विभेदकारी स्क्रिप्ट होस् वा अन्धराष्ट्रवादी उन्मादको स्क्रिप्ट । युद्धोत्तेजक ललकार होस् वा घृणा फैलाउने डिभाइस, पत्रकारिताको संहिताअनुसार त्यहाँ कुनै कुरा फिल्टर गरिँदैन ।

डाटा रिटेन्सन, आर्टिफिसियल इन्टेलिजेन्स, स्पाइवेयर र स्वेच्छाचारी निगरानी जस्ता डिजिटल प्रविधिहरू र अभ्यासहरूद्वारा गोपनीयताको अधिकारमा हुने खतराहरूको सन्दर्भमा गोपनीयता मापदण्डहरू बलियो हुनुपर्छ । जसबारे पत्रकारहरूले उचित चासो ब्यक्त गरिरहेको कुरा कसैबाट छिपेको छैन । त्यस्तै, पत्रकारहरूविरुद्ध अनलाइन हमलाहरू, उत्पीडन, धम्की र गोपनीयताको उल्लङ्घनका योजनाबद्ध अभियानहरूलाई रोक्न र हटाउन बलियो कदमहरू चाल्नुपर्छ ।

नेपालको कर्पोरेट हाउसभित्रको कान्तिपुर प्रकरणले संचारक्षेत्रभित्र हुने महिलाहिंसालाई पुष्टि गरिसकेको छ । विशेषगरी अनलाइन र अफलाइनमा हिंसात्मक रूपमा लक्षित महिला पत्रकारहरूको सुरक्षाका लागि जवाफदेहिता बढाएर तीव्र कदमहरू चाल्नु आवश्यक छ । पत्रकारितामा डिजिटल घेराबन्दी तोड्न र चुनौतीहरूको बहुपक्षीय समाधान खोज्न सदस्य राष्ट्रहरू, इन्टरनेट मध्यस्थकर्ताहरू र नागरिक समाज सबैको भूमिका हुन्छ र हुनुपर्छ ।

अन्त्यमा, ब्यस्त पत्रकार, प्रकाशक, प्रसारक, ब्लगर, भ्लगर वा मिडिया मालिकको दैनिक जीवनमा, पत्रकारिताका आधारभूत सिद्धान्तहरूलाई बेवास्ता गरिँदै आएको देखिन्छ । अर्कोतिर हामी संचारकर्मीहरू पनि बहकिन थाल्छौँ, कहिलेकाही पूर्वाग्रही बन्दछौँ र हरेक समाचारलाई पाँच डब्लुको आधारमा जाँचपड्ताल गर्दैनौँ । अन्तमा गलत नतिजामा पुगेर समाचार सम्प्रेषण गर्छौं । त्यो प्रायः आलोचनात्मक चेत नभएका पत्रकारहरूको हकमा अझ बढी लागु हुन्छ ।

पत्रकार हरेक कुरामा संकालु, सूचनामा पारदर्शी, स्थायी प्रतिपक्षी र आलोचनात्मक चेत भएको हुनुपर्छ । भावनात्मक लगाव, वैचारिक वा धारणागत पूर्वाग्रह, व्यक्तिको निश्चित स्वार्थलगायतका प्रवृत्तिबाट तटस्थ बनेर तथा विज्ञानका नियमहरूलाई प्रयोग गरेर व्यक्ति, घटना र वस्तुको गतिलाई हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने दिशामा क्रियाशील चेत नै आलोचनात्मक चेतना हो  । आलोचनात्मक चेत निर्माण र त्यसको प्रयोगको प्रक्रियामा लेखिनु, बोलिनु र देखाइनुपर्ने कर्म भनेको पत्रकारिता क्षेत्र हो । त्यसैले पत्रकारतामा मात्र यो चेतनालाई समुदायको दीर्घकालिन हितलाई मानक बनाएर तरिकाबाट प्रयोग गरिनुपर्छ । त्यो हामी नेपाली पत्रकारहरूको लागि पनि त्यत्तिकै सत्य हो जति डायस्पोराका पत्रकारहरूको लागि सत्य हो । अबको स्वतन्त्र पत्रकारिताबारेको बहसमा यो तर्क पनि उठाइनु आवश्यक छ ।

आधुनिक युगमा सञ्चारमाध्यम मानवको अन्तरक्रियाको महत्वपूर्ण अंग भएकोले यसले समुदाय र संचारकर्मीबीच मात्र अन्तरक्रिया गरिरहेको हुँदैन । यसले सरकार र अन्तर्राष्ट्रिय संघ संस्थासंग पनि अन्तरक्रिया गरिरहेको हुन्छ । त्यसले सामाजिक न्याय तथा सम्पति र सुबिधाको असमान वितरण प्रणालीतर्फ पनि आवाज उठाइरहेको हुन्छ । त्यही सूचना वार्तालापको अन्तरसम्बन्धलाई विशेष गरी अभिव्यक्ति स्वतन्त्रताले निरन्तरता दिएको हुन्छ । अभिव्यक्ति स्वतन्त्रताले नै स्वतन्त्र पत्रकारितामा अहम् भूमिका खेल्न सक्छ । अभिव्यक्ति स्वतन्त्रता भन्नाले समुदायको वाक् स्वतन्त्रतालाई बुझ्नु पर्छ । तर अहिले त्यसमा साहित्य, लेख, रचना र समाचारका विभिन्न रुपहरू पनि पर्दछन् ।

मानवीय मूल्यको कसीमा अभिव्यक्ति स्वतन्त्रताले जति महत्व राख्छ त्यो भन्दा बढी समानताको मुद्दालाई मानवताको दृष्टिमा अझै न्यायिक मानक मानिन्छ ।

आधुनिक सञ्चार क्षेत्रमा समानताको मुद्दा आर्थिक परिदृश्यको कुरा मात्र रहेन । त्यो सूचनाको समान हक, सूचनाको समान पहुँच, शिक्षा र सुरक्षामा समान अधिकारमा पनि लागु हुन्छ । स्रोत, साधन र सामाजिक न्याय आदि कुरामा समानता समुदायको राजनैतिक प्रणाली र वैश्विक सामाजिक प्रणालीले निर्धारण गर्ने कुरा हुन् । त्यसैले पत्रकारितामा देश वा राजकीय प्रणालीको कुनै सीमा तथा बन्धन हुँदैन भनिएको हो ।

सारांशमा उमेर, लिङ्ग, जाति, जातीय पहिचान, राष्ट्रियता, भाषा, वर्ग, सामाजिक उत्पत्ति वा धर्मको भेदभाव नगरी हरेक मानिस जन्मजात समानताको हकदार छ भनी स्वीकार गर्ने नीतिलाई मानव अधिकारको बडापत्रले सुनिश्चित गरेको छ । त्यहि आधारमा वैश्विक मानव हरेक देशमा कारण देखाएर सबैतिर बस्न र सुसूचित हुन पाउने स्वतन्त्रता समानताको अन्तर्निहित मान्यतासँग जोडिएको हुन्छ ।

मानिसका यिनै मूल्यहरूलाई केन्द्रमा राखेर प्रेसले पनि मानिसको सामाजिक जीवनको सही रिपोर्टिङ गर्न सक्षम हुनुपर्छ । तर हाम्रो नेपालको पत्रकारिता अलिक बढी असन्तुलित, फेवर खोज्ने र वैचारिक ध्रुवको मात्रै पक्षधरतामा ढल्किने रुझानले गाँजेको छ । मतलव उनीहरू समुदायको नभएर आफ्नो पक्षपोषण खोज्छन् । त्यसको असर नेपाली डायस्पोराको पत्रकारितामा समेत देखिने गर्दछ । त्यसको प्रमुख कारण दक्षताको अभाव नै हो । जब पत्रकारहरू राम्ररी प्रशिक्षित हुन्छन् तब सूचनाको विश्वसनीय स्रोत बन्दछन् । अन्यथा सार्वजनिक शिक्षकको रुपमा प्रेसले भूमिका नखेल्न सक्ने खतरा रही रहन्छ ।

छोटकरीमा भन्दा पत्रकारिता चाहे त्यो कुनै पनि बिटबाट गरिएको किन नहोस्, दिइने सूचना प्रायः मानव समुदायको हितका बिबिध पक्षलाई समेटेर गरिन्छ । हाम्रा लेख, सम्पादकीय वा शैक्षिक बिषयहरूमा जैविक अस्तित्वको सवाल प्रभावकारी रुपमा आउँछ । जस्तैः पत्रकारिताले जलवायु परिवर्तन, पोषण, स्वास्थ्य (विशेष गरी एचआईभी जस्ता रोगहरू सम्बन्धी) सहित शैक्षिक विषयहरूको विस्तृत श्रृंखलाको बारेमा वयस्क जनसंख्यालाई सूचित गर्न सक्छ ।

आर्थिक पत्रकारितामा आधारभूत मुद्रा व्यवस्थापन र बजेट, कृषिमा विकास, बाल हेरचाह र यस्तै बिषयले प्रधानता पाउँछन् भने प्राकृतिक रुपमा जल, जमिन र न्यायिक वितरण प्रणालीका कुराहरू पनि आउँछन् । त्यसैले पत्रकारिता खेल, मनोरंजनदेखि बिज्ञान, खगोल र ब्यबस्थाभित्रका सूचना संगसंगै अनियामितताहरूको खोदाई पनि हो । त्यो सबै स्वतन्त्र पत्रकारिताबाट, अझ अगाडि बढेर भन्दा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबाट मात्र सम्भव छ ।

अगाडि नै भनियो कि अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसमा विश्वभर समाचार संकलनको क्रममा सहिद भएका पत्रकारहरूको पनि सम्झना गरिन्छ । विश्वभरका देशहरूबाट सङ्कलन गरिएको तथ्याङ्कले सन् २०२१ मा विश्वभर ४६ पत्रकार मारिएको खुलासा गरेको छ । सन् २०१२ मा १४७ पत्रकार मारिए, तुलनात्मक रुपमा २०२१ मा २००३ देखि यता सबैभन्दा कम पत्रकार मारिए ।

क्षेत्रका आधारमा पत्रकारको मृत्युको तथ्याङ्कले देखाउँछ कि २०२० मा इराकमा छ जना पत्रकारको हत्या भएको छ भने पाकिस्तानमा चार र भारतमा चार घटना भएका छन् ।

पत्रकारहरूका लागि संसारको सबैभन्दा खतरनाक देश मेक्सिको हो, जहाँ २०२० मा आठ पत्रकार मारिएका थिए । मेक्सिकोमा पत्रकारहरूलाई बारम्बार निगरानीमा राखिन्छ, धम्की दिइन्छ र राजनीतिक भ्रष्टाचारको पर्दाफास वा प्रचार गर्ने प्रयास गरेको आरोपमा घातक सजाय दिइन्छ जुन ज्यादै दुखद कुरा हो । देशको हिसावले मेक्सिकोमा हरेक वर्ष औसतन आठदेखि दश पत्रकारको हत्या हुने गरेको छ ।

समाचार संस्था, लाटभियन-आधारित रूसी अनलाइन खोजी मिडिया आउटलेट द इनसाइडरका अनुसार हालसालैको युक्रेनी युद्धको क्रममा रुसी पत्रकार ओक्साना बाउलिनाको राजधानी कीभमा २३ मार्चमा ‘कामिकाजे ड्रोन’ – विस्फोटक पदार्थ भएको हवाई ड्रोनद्वारा हत्या गरिएको थियो । त्यतिबेला, उनी कीभको उपनगर पोडिलमा रहेको सपिङ सेन्टरमा अघिल्लो आक्रमणबाट भएको क्षतिको रिपोर्ट गरिरहेकी थिइन् ।

आरएसएफको पूर्वी युरोप र मध्य एसिया डेस्कका प्रमुख जेन क्याभेलियरले भने अनुसार विश्वभरी वर्षको सुरुवातदेखि मारिएका पत्रकारहरूमध्ये एक चौथाइ युक्रेनको युद्ध कभर गर्ने क्रममा विगत ३० दिनमा मरेका छन् । ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की, फक्स न्यूजका लागि फिक्सरको रूपमा काम गर्ने २४ वर्षीय युक्रेनी पत्रकार ओलेक्जेन्ड्रा कुभ्सिनोभा, इभगेनी साकुन, कीभ लाइभ टिभी च्यानलका लागि काम गर्ने युक्रेनी क्यामेराम्यान, जो मार्च १ मा कीभ टेलिभिजन टावरमा रूसी मिसाइलहरूले प्रहार गर्दा मारिए ।

यहि मञ्चबाट ‘पत्रकारहरूमाथि आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हो भन्ने कुरालाई जोड दिँदै हामी रूसी र युक्रेनी अधिकारीहरूलाई पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछौँ ।’ यी सबै लगायत अहिलेसम्म संसारभर रिपोर्टिंगको क्रममा शहीद भएका पत्रकारहरूलाई हार्दिक श्रद्धान्जली अर्पण गर्दछु !

(लेखक अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका उपाध्यक्ष हुन् । सं.)