नाङ्गिएकी विनिताले भनिन्-खै म नाङ्गिएकी ?

नाङ्गिएकी विनिताले भनिन्-खै म नाङ्गिएकी ?


प्रसङ्ग गत साताको हो । चलचित्र चपली हाइटबारे मिडियालाई जानकारी गराइने उद्देश्यका साथ यो सिनेमाको युनिटले भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । केही समयअगाडि मात्र आफ्नो तस्बिरको दुरुपयोग गरेर सिनेमाका निर्माताले आफ्नो करिअर बिगार्न खोजेको आरोप लगाउँदै पत्रकार सम्मेलनको आयोजनासमेत गरेकी ‘चपली हाइट’की नायिका विनिता बराल पनि देखापारिन् त्यहाँ । ‘यो सिनेमावालाहरूको कुरा पनि बुझिनसक्नुछ । कहिले मारकाट गर्छन् त कहिले मिल्छन् । यस्तै भएछ अहिले पनि,’ यस्तै गाइँगुइँ चल्यो त्यहाँ ।
प्रचार सामग्रीमा आफ्नो जुन तस्बिर राखियो त्यै तस्बिरप्रति आपत्ति जनाउँदै सिनेमा युनिटको धज्जी उडाउन पछि नहटेकी विनिताको तिनै प्रचार सामग्रीहरूले कार्यक्रमस्थल नै रंगिएको थियो । धेरैले अपेक्षा गरेका थिए कि विनिता त्यहाँ त्यो अनुमान मित्थ्या सावित हुन पुग्यो । कार्यक्रम सुरु हुनुभन्दा निकै समय अगाडि पुगिसकेकी थिइन् उनी ।
पत्रकार सम्मेलनमा गाह्रो प्रश्नहरू पत्रकारले तेर्स्याउलान् कि भन्ने त्रासमा देखिन्थिन् विनिता तर उनको उपस्थिति साँच्चि नै मायालाग्दो नै थियो । निर्मात्री कृषा चौलागाईंले चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’बाट निकालिएपछि विनितालाई कृषाको अगाडि फिल्म खेलेर जसरी पनि देखाउनु थियो र उनको त्यो उद्देश्य पूरा गरिदिए निर्माता अर्जुनकुमारले चलचित्र ‘चपली हाइट’ बनाएर । गजब कुरा के छ भने पहिलो सिनेमाबाट निकालिएको विनिताले अभिनय गरेको दोस्रो चलचित्र नै पहिले रिलिज हुने भएको छ । के म तिम्रो साथी बन्न सक्छु आउने कहिले हो थाहा छैन तर ‘चपली हाइट’ भने चैत ३ गतेदेखि नै प्रदर्शनमा आउने पक्का भइसकेको छ ।
पत्रकार सम्मेलनमा विनिताले चपली हाइटको प्रचार सामग्रीमा राखिएको आफ्नो तस्बिरका कारण बजारमा आफूलाई फरक किसिमले हेरिन खोजिएकोमा दु:खेसो पनि गरिन् । ‘तस्बिरमा जस्तै यो केटी बाहिर पनि त्यस्तै हो कि भन्ने र बजारमा नग्न हिरोइन भनेर सम्बोधन गर्ने गरेकोमा मन दु:खेको छ,’ उनले थपिन्, ‘मलाई नग्न हिरोइन नभन्नुस् । त्यो त एउटा पात्र मात्र हो । म त्यस्तो होइन ।’

बेडसिन पचाउलान् दर्शकले ?
० कहिले झगडा कहिले मिल्ती के हो ?
-झगडा होइन, केही असdmभदारी थियो ।
० सस्तो लोकप्रियताका लागि त होइन ?
-होइन, होइन त्यस्तो होइन ।
० हामीले यो कुरालाई कसरी बुझ्ने ?
-अब विगतमा गएर केही फाइदा छैन, नयाँ सोचका साथ अगाडि बढ्नु छ ।
० आफ्नै चलचित्रविरुद्ध पहिले किन गर्नुभयो पत्रकार सम्मेलन ?
-मैले भने नि विगतमा नजाऊँ ।
० जुन तस्बिरमा तपाईंले आपत्ति जनाउनुभएको थियो । अहिले त्यै तस्बिरअगाडि बसेर अन्तर्वार्ता दिइराख्नुभएको छ । कस्तो लागिरहेको छ त ?
-मैले यसलाई केवल अभिनय सम्झिएकी छु । अरू केही होइन ।
० चपली हाइटमा त किस र बेडसिन नै दिनुभएको छ । दर्शकहरूले पचाउलान् त ?
-त्यो त दर्शकहरूको कुरा हो । हेरौँ सिनेमाहलमा सिनेमा गएपछि नै थाहा होला ।
० अब फेरि लफडा त गर्नुहुन्न नि ?
-पहिले पनि गरेकी थिइनँ र अब पनि गर्दिनँ ।

‘मेरा शत्रु धेरै भए’
नेपाली सिनेमामा घिमिरे थर भएकाहरूको बाहुल्य छ । यो थर भएकाहरूको नाम लेख्ने हो भने लामै हुन्छ, तुलसी घिमिरे, मदन घिमिरे, उज्ज्वल घिमिरे, श्रवण घिमिरे, भारती घिमिरे, श्याम घिमिरे आदि ।
माथि उल्लिखित घिमिरेहरू सफल पनि छन् र, खासै विवादमा परेको पनि पाइएको छैन । तर, सिनेमा क्षेत्रमा आएको दुई वर्ष पनि नपुग्दै आफ्नै चुरिफुरीका कारण एउटी घिमिरे थर भएकी नायिकाको प्रवेश भने विवादबाटै सुरु भयो । उनी हुन्- आफूलाई सफल नायिका भन्न रुचाउने पहिलेकी मीना र अहिले कि सुमिना घिमिरे ।
कहिले विवाहका कारण त कहिले निर्देशकसँगको कारण । केही न केहीका कारण विवादमा आइरहने सुमिना यो हप्ता भने अर्को विवाद दिएर बजारमा छाइन् । यसपटकको उनको विवादको कारण थियो, ‘दर्ुबईमा नाच्दा-नाच्दै उनी बन्धकमा परिन् ।’ एक अनलाइनले यो खबर पठाएपछि केही समय सिनेमा क्षेत्रबाटै गायब भएकी सुमिना मिडियातिर आफूमाथि लागेको आरोपको खण्डन गर्नतिर व्यस्त भइन् । उनले यतिसम्म भनिन् कि आफ्नो प्रगति हर्ेन नसक्ने अन्य हिरोइनहरूले उनको बारेमा यस्तो हल्ला चलाएका हुन् रे ।
सुमिनाको कुरा पनि अचम्म छ कि उनले सिनेमामा होइन कि विवादमा मात्र प्रगति गरेकी छिन् । के उनी भन्न सक्छिन्- उनले खेलेको कुनचाहिँ सिनेमा हिट भयो अहिलेसम्म ? घामजस्तै छर्लङ्ग छ कि उनले खेलेका र रिलिज भएका सिनेमा अहिलेसम्म सबै फ्लप छन् । उनले पहिले खेलिन् दुलही- त्यो पनि फ्लप नै भयो । सिनेमाभित्र मात्र दुलही भइन् उनी, दर्शक माझ राम्री हुन सकिनन् ? अनि प्रशान्त तामाङको जोडी भएर सुमिनाले काम गरिन् अर्को चलचित्र ‘किन मायामा’ मा । त्यसले पनि दर्शकहरूबाट माया पाउन सकेन । र, पछिल्लोपटक सुमिनाले अभिनय गरेको चलचित्र सडक पनि अन्तत: नामजस्तै सडकमै आइपुग्यो । यसरी एकपछि अर्को असफल फिल्म दिने अनि विवादमा पनि तानिने सुमिनाको कुरा पनि बुझिसक्नु छैन ।
यसरी एकपछि अर्को फिल्महरू असफल हुँदै जान थालेपछि निर्माता-निर्देशकहरू अब सुमिनादेखि टाढिन थालेका छन् । सिनेमाहरूको निर्माण व्यापक छ तर उनी भने आफ्ना विवादबारे खण्डन गर्दै मिडियातिर धाउनमा नै व्यस्त भएको देख्दा नै उनको हातमा यतिबेला कुनै फिल्म छैनन् भन्ने कुरा स्पष्ट भएको छ । त्यसो त, आफू विवादमा तानिनुमा सुमिनाले मिडियालाई पनि दोष दिएकी छिन् । ठीकै छ, एक-दुईवटा विवादमा उनलाई मिडियाले अतिरञ्जित गरेर प्रस्तुत गर्‍यो होला तर बारम्बार उनी मात्र विवादमा तानिनु र आउनु हावा नलागी पात हल्लिँदैन भनेजस्तै होइन र ? हिरोइन त अरू पनि छन् नि ? तर एकपछि अर्को विवादमा उनी मात्र किन तानिन्छिन् ? एकपटक सुमिनाले आफ्नो अनुहार ऐनामा हेर्ने कि ? आजभोलि सुमिनाले गुनासो गर्दै भन्न थालेकी छिन् रे, ‘मेरा मित्र होइनन् शत्रुहरू धेरै भए ।’ हाम्रो उनलाई एउटा सुझाव छ- सुमिनाजी फूलको आँखामा फूलै संसार ।

तपाईंको दृष्टिमा
कुनै समय एक सरकारी अधिकारीको रूपमा मात्र चिनिने चूडामणि देवकोटाको परिचयले यतिबेला व्यापकता पाउँदै छ । मुलुकप्रतिको चिन्ता र पीडालाई साहित्य तथा गीतमार्फत प्रस्तुत गर्न सक्ने एक चिन्तनशील सर्जक पनि मानिन्छन् उनी । हालसम्म उनले लेखेका ८२ वटा गीत रर्ेकर्ड भइसकेका छन् भने धरती र धुन, भूगोल र भावना, माटो र मुटु, स्मृतिशेषसमेत गरी चारवटा गीतिसङ्ग्रह उनले बजारमा ल्याइसकेका छन् । देवकोटाको मनका हरफ नामक पुस्तक पनि प्रकाशित भएको छ ।
शाखा अधिकृतको रूपमा ०३७ सालमा सामान्य प्रशासन मन्त्रालयबाट सरकारी जागिर सुरु गरेका देवकोटाले अर्थ मन्त्रालयमा चार वर्ष सेक्सन अफिसरको रूपमा काम गरे । जागिरकै क्रममा करिब ११ वर्ष काठमाडौंबाहिर पनि बिताए उनले । वर्तमान प्रधानमन्त्री अर्थमन्त्री हुँदा तातोपानी भन्सारमा प्रमुख भन्सार अधिकृत भएर दुई वर्ष सेवा गरेका चूडामणि देवकोटा हाल आन्तरिक राजस्व विभाग काठमाडौं लाजिम्पाटमा निर्देशकको रूपमा कार्यरत छन् । सर्जक अनि सफल सरकारी कर्मचारी देवकोटाको दृष्टिमा जीवन र जगत् के हो त ? तपाईंको दृष्टिमा स्तम्भका लागि राजन घिमिरेसँग सर्जक देवकोटा यसरी प्रस्तुत भए ।

० जीवन के हो ?
– सङ्घर्ष
० प्रेम के हो ?
– पूजा
० सुन्दरता के हो ?
– दृष्टि
० मन के हो ?
– चञ्चल पन्छी
० भावना के हो ?
– सागर
० विवाह के हो ?
– संस्कार
० बन्धन के हो ?
– अनुशासन
० अपमान के हो ?
– जिउँदै मर्नु
० इज्जत के हो ?
– कमाइ
० बेइज्जति के हो ?
– मुख लुकाएर हिँड्नुपर्ने
० मिलन के हो ?
– खुसियाली
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– वसन्त ऋतु
० बालपन के हो ?
– काँचो माटो
० तृष्णा के हो ?
– वासना
० रिस के हो ?
– पतनको बाटो
० जोस के हो ?
– हिम्मत
० नसा के हो ?
– क्षणिक आनन्द
० यौन के हो ?
– प्रकृति
० सन्तुष्टि के हो ?
– सुख
० कर्तव्य के हो ?
– मानवधर्म
० विश्वास के हो ?
– समर्पण
० असल के हो ?
– सर्वग्राह्य
० खराब के हो ?
– तिरस्कार
० सबभन्दा ठूलो धोखा के हो ?
– आत्महत्या
० दु:ख के हो ?
– मनस्थिति
० सुख के हो ?
– सन्तोष
० खुसी के हो ?
– मनोद्वेग
० आनन्द केमा छ ?
– प्राप्तिमा
० मित्र को हो ?
– दु:खको साथी
० शत्रु को हो ?
– खराब आचरण
० सङ्घर्ष के हो ?
– जीवनचक्र
० प्राप्ति के हो ?
– आत्मसम्मान
० आस्था के हो ?
– वैयक्तिक विश्वास
० धर्म के हो ?
– परम्परागत धरोहर
० नैतिकता के हो ?
– सामाजिक कसौटी
० चरित्र के हो ?
– गुण-अवगुणको पोको
० ज्ञान के हो ?
– सागर
० बुद्धि के हो ?
– खारिएको सुन
० सम्झौता के हो ?
– साझा चौतारो
० सृष्टि के हो ?
– सभ्यताको निरन्तरता
० गुरु को हो ?
– पिता
० राजनीति के हो ?
– समाज
० देश के हो ?
– मुटु
० समाज के हो ?
– तेस्रो आँखा
० पद के हो ?
– क्षणिक
० विकास के हो ?
– समृद्धि
० व्यापार के हो ?
– नाफा
० अनुशासन के हो ?
– पद्धति