डायरी चारधाम यात्राको

डायरी चारधाम यात्राको


विभिन्न उकाली, ओराली, सुख, दुःखसहितको यात्रा नै हो जिन्दगी । यी कुराहरूले हामीलाई छाया बनी पछ्याइरहन्छन् । केही यात्रा यति महत्वका हुन्छन् कि हृदयको एउटा कुनामा आँकुराएको बिजलाई विशाल वृक्ष बनाउन सहयोग पुऱ्याउँछ । मेरो जीवनमा पनि यो यात्रा अविश्मरणीय रहनेछ ।
  • सुन्दर शर्मा

भाइ दीपेन्द्र र बुहारी शुलोचनासँग चारधाम यात्रामा म पनि अनायासै जोडिन पुगेँ । चारधाम यात्राको लागि हिँड्न त हिँडियो तर त्यहाँ पुग्न के कस्तो सवारीसाधन र मार्ग प्रयोग गर्न सकिन्छ, खाने/बस्ने के-कस्तो सुविधा उपलब्ध छ, यिनै कुराले एक प्रकारको खुल्दुली मच्चाइरहेको थियो ।

जेठ १३ गते

जेठ १३ गते बिहान ९ बजे हाम्रो (दीपेन्द्र, शुलोचना र म) यात्रा शुभारम्भ भयो । ११ बजेको श्रीएयरलाइन्सको विमानबाट धनगढी पुगियो । मनमा अनेक कौतुहल र थुप्रै तर्कहरू लिएर सिटिइभिटिको गाडीबाट गड्डाचौकी पुग्यौँ । त्यहाँ भाइले बुक गरेको इन्डियन गाडी आइपुगेको थियो । महाकाली ब्यारेजमा फोटो क्लिक गर्दै अगाडि बड्यौँ । बाटोमा पर्ने विशाल ‘गुरु नानक कृत्रिम पोखरी’को अवलोकन गरियो । यो पोखरी गुरु नानकले आफ्नो खर्चमा निर्माण गरी सरकारलाई हस्तान्तरण गरेका रहेछन् । हामी रातको १ बजे हरिद्वार पुग्यौँ । पर्यटकको घुइँचोले त्यहाँका होटेल जम्मै प्याक ! चालकले साथिलाई भनसुन गर्दा बल्लतल्ल रुम पाइयो । सुत्न नपाइ उठ्ने बेला भइसक्यो ।

जेठ १४ गते

जेठ १४ गते दोस्रो दिन बिहानै स्नान गरि श्राद्ध गर्नको लागि गंगाजीतर्फ लाग्यौँ । मेरो यात्राको उद्देश्य घुमघाम थियो भने भाइहरूको पितृश्राद्धको । त्यहाँका पुरेत (पाण्डा) बडो धुर्त हुँदारहेछन् । झन् नेपाली भनेपछि त माग बढाइहाल्ने । गंगामा स्नान गर्दै चारधामको पहिलो पितृश्राद्ध सम्पन्न भयो । होटेल फर्की खाना खाइ हामी दोश्रो यात्राको लागि यमुनोत्रीतर्फ हुइँकियौँ । देहरादुनमा केही समय सपिङमा खर्छ भयो । त्यसदिनको रातको विश्राम ‘स्यानी चट्टि’ भन्ने स्थानमा भयो । त्यो समयमा तीर्थयात्रीको भिड थामिनसक्नु थियो । होटेल त राम्रा तर खाना हामीले खोजेजस्तो नमिल्ने । चिल्लो, पिरो र मसालेदार खाना मात्र पाइने ।

जेठ १५ गते

जेठ १५ गते तेश्रो दिन हामी बिहान ८ बजे घोडाबाट यमुनोत्रीको लागि उकालो लाग्यौँ । प्रतिघोडा दुई हजार रुपैयाँ शुल्क । साँघुरो ५ फिटको कठिन बाटो । दुईतर्फी विभिन्न सवारीसाधन (घोडा, पाल्की, डोको र पैदल) चल्ने । एकतर्फ ढुङ्गेभित्तो छ भने अर्कोतर्फ कहालीलाग्दो भीर । त्यहाँबाट कारणवश खसेमा मान्छे त पर जावस् त्यसको हाडखोर पनि खोज्नु पर्दैन भन्दै थिए घोडेहरू । टाउकोमा पहाड नै खस्लाझैँ लाग्ने बाटोमा चट्टानी पहाडको अनुपम दृश्य अवलोकन गर्दै पुगियो यमुनोत्री ।

यमुना नदीको सिरानमा अवस्थित यमुनोत्रीमा रहेको तातोपानी कुण्ड प्रसिद्ध रहेछ । श्राद्ध गर्नेले कपडामा चामल बाँधेर तातो कुण्डमा राखिदिँदा एकैछिनमा पाक्दोरहेछ । त्यहीँ पाकेको चामलको पिण्ड बनाइँदो रहेछ । हामीले पनि त्यसै गऱ्यौँ । त्यहाँ पनि पाण्डाको हर्कत दिक्क लाग्दो । श्राद्धपछि यमुना माताको दर्शन गरी फेरि घोडाबाट नै फर्कियौँ । ओरालोमा घोडाको यात्रा हामी जस्तालाई निकै कठिन हुँदोरहेछ । १ किमि त हामी पैदल नै हिँड्यौँ ज्यान बचाउन । गाडी पार्किङस्थल आइपुग्दा २ बजिसकेको थियो । भोको ज्यानले सङ्केत गरिसकेको थियो । बाटोमा खाना खाने भन्दै गङ्गोत्री यात्राको लागि अगाडि लागियो । बिहानको खाना हाम्रो पेटले ३ः३० बजे बल्ल भेटायो । अगाडि बढिरहँदा राति १० बजे ‘कौशीघाट’मा बस्ने निधो गरियो ।

जेठ १६ गते

जेठ १६ गते तेश्रो दिन बिहानै ६ बजे गङ्गोत्रीको लागि प्रस्थान गरियो । यो बाटोचाहिँ निकै सहज रहेछ । बाटोवरिपरि बडेमानका पहाड । छेउबाट छङ्छङ् बग्ने गङ्गानदी । प्रदुषणरहित स्वच्छ वातावरण र धुवाँधुलोरहित बाटो । कतै-कतै सानो-सानो बस्ती देखिने । त्यस्तो पहाडी भेकमा पनि जहाँतहीँँ बाटो पिच गरेको । कति सजिलो सडक सन्जाल ! ठाउँ-ठाउँमा नवआगन्तुकको सुविधाको लागि ट्राफिक ईन्डिकेटर र अगाडिको बाटोको अवस्थाको जानकारीसहितका बोर्ड ।

१० बजे गङ्गोत्री पुगियो । लोभलाग्दो पार्किङ सिस्टम । सिदै गङ्गाजीतर्फ लागियो श्राद्धको लागि । दुई ठाउँका पुरेतले निकै दुःख दिएका यहाँ हामी अलि सजक थियौँ । भाइ र बुहारी श्राद्ध गर्न बसे । मैले बुबा-आमाको नाममा जल अर्पण गर्दै बत्ती बालेँ । यहाँको काम सकि गङ्गा मैयाको दर्शनको लागि मन्दिरतर्फ लाग्यौँ । भोकले अत्यास बनाएका कारण त्यहीँका होटेलमा आलु परौठा, तरकारी र दही बजाइयो पेटभरी । अब हामी केदारनाथको लागि अगाडि बढ्यौँ । फर्कंदा बाटोमा लटरम्म चुत्रो पाकेको देखियो । गाडी रोकेर चुत्रो टिपेर खाइयो । चट्टानी भिरमा फोटो खिच्दै अगाडि बढियो । सडक सन्जालको ब्यबस्थित विकासले गर्दा भाडाका साना सवारी साधन प्रशस्तै गुडेका देखिन्थे । त्यो दिन ‘उत्तर काशी’ भन्ने स्थानमा बस्यौँ ।

जेठ १७ गते

जेठ १७ गते चौथो दिन बिहानै स्नान गरी केदारनाथको लागि प्रस्थान गऱ्यौँ उत्तरकाशीबाट । १० बजे ‘सोनु प्रयाग’ (जहाँ केदारनाथ यात्राका सम्पुर्ण गाडी पार्किङ गरिन्छ) पुगिसकेका थियौँ । घोडा बुक गरी दर्ता गर्दा समय लाग्यो । तीर्थयात्रीलाई घोडावालाले दुःख नदेउन् र नठगुन् भनेर निकै सावधानी अपनाएको रहेछ सरकारले । सोनु प्रयागमा हजारौँ गाडीको पार्किङ ब्यवस्था सजिलै गरेको देख्दा काठमाडौंको अस्तब्यस्ततालाई झल्झली सम्झिए । (अब बालेनले गर्लान् कि जस्तो छ) ।

हामी १२ बजे त्यहीँबाट घोडा चढी केदारनाथतर्फ उकालो लाग्यौँ । प्रति घोडाको ६ हजार रुपियाँ शुल्क । बाटोमा पर्ने गौरीकुण्डमा अत्यधिक भिडको कारण त्यहाँ स्नान गर्न असमर्थ भयौँ ।

बाटोलाई छिनमै बादलुले छपक्कै छोपेर मसिनो पानी पर्न थाल्छ भने छिनमै खुला आकाशले पहाडलाई जिस्काइरहेको अनुभूति हुन्छ । नेपाली बोलेको सुन्दा मात्र पनि कति घोडे र डोके भाइहरू टक्क रोकिन्थे र मुखमा हेर्दै सोध्दथे- तपाईंहरू नेपाली हो ?

‘जननी जन्मभुमिश्च स्वर्गादपी गरीयसी’ भन्ने कुरा यहाँ देखियो । परदेशमा उनीहरू नेपाली बोलेको सुन्दा मात्र पनि हामीलाई भित्रैदेखि आनन्द आउँथ्यो । ती भाइहरू कालिकोटका रहेछन् । यात्रामा भरियाहरू खुट्टा बटार्दै, पेट समाउँदै हिँडेको देख्दा कम्ति मन दुख्दैनथ्यो । के गर्ने गरिबीले मानिसलाई बाध्य बनाउँदो रहेछ ।

अगाडि बढिरहँदा मलाई लागिरह्यो कि हामी साँच्चिकै स्वर्ग जाने बाटो हिँडिरहेका छौँ । ढुङ्गा छापेको ८–९ फिट चौडा बाटो । ठाउँ–ठाउँमा खानेपानीका साथै सफा सौचालयको ब्यवस्था । बाटो ब्यवस्थापनको लागि खटिएका रातो पोशाकवाला सरकारी कर्मचारी ।

ईश्वर छ वा छैन भन्नेहरू बहस गरिरहन्छन् । मचाहिँ ईश्वरमा विश्वास राख्छु । ईश्वर सत्य हो त्यसैले छ । सत्यले समाधान खोज्छ, असत्यले विध्वंश । असत्यलाई सिद्ध गर्न अनेक प्रयास गर्नुपर्छ, तर सत्यलाई सिद्ध गर्न फुलबुट्टा भर्नै पर्दैन, त्यो अटल रहन्छ ।

म शिव अर्थात् महादेवलाई औधी मान्छु, विश्वास पनि छ । त्यसैले बिरामीका बाबजुद केदारनाथ जाने मौका गुमाउन चाहिनँ । म मुर्तिमा फूलअक्षता छर्ने भन्दा भगवानको दर्शन र त्यहाँको बस्तुस्थिति बुझ्न मन पराउँछु । जीवनमा सबैले कुनै न कुनै यात्रा गरिरहेका हुन्छन् । तर त्यसले निर्दिष्ट गर्न खोजेको तात्विक ज्ञान बुझ्न खोज्दैनन् । मचाहिँ त्यहीँ तात्विक ज्ञान बुझ्ने कोशिश गर्छु ।

अलकनन्दा र भागिरथी नदीको संगम देवप्रयाग, भीमबली, भैरब मन्दिर, जङ्गलचट्टि जस्ता रमणीय स्थानलाई क्यामरामा कैद गर्दै बेलुका ५ बजे मन्दिर प्राङ्गणमा पुगियो । ढुङ्गा छापेको विशाल मन्दिर प्राङ्गणमा पुग्दा नै साक्षात् भगवान भेट्न पाको अनुभव भयो । खुशीले मन प्रफुल्ल भइ शरीरमा ताजगी फैलियो । अनि आँखाबाट खुशीका आँसु झर्न थाले । त्यो क्षण म यति खुशी थिएँ कि शब्दमा बर्णन गर्न सक्दिनँ ।

चारैतिर नमोः नमः शङ्करा गुन्जिरहेको थियो ।

२०१३ मा आएको भीषण बाढीले मन्दिर क्षेत्रमा रहेका कैयौँ मठमन्दिर, पाटी, सत्तल तथा हाटेलहरूको नामोनिशान नरहनेगरी बगाएछ । तर केदारनाथको मूल मन्दिरलाई एउटा विशाल ढुङ्गाले बचायो भन्दारहेछन् ।

अबेर भइसकेको थियो । बिहानदेखि पेटमा आधा बोतल पानी मात्र परेको थियो । तर पनि भोलेनाथको दर्शन अभिलाषाले भोक, प्यास, थकान केही पनि अनुभव भाको थिएन । दर्शन गर्दै दीप प्रज्वलन गऱ्यौँ । २–४ जना जोगी महाराजलाई दक्षिणा दियौँ । त्यहाँका बाबाहरू भन्दै थिए कि केदारनाथको शरीर यहाँ अवस्थित छ भने शिर पशुपतिनाथमा । केदारनाथमा शिवलिङ्ग होइन शिला रहेछन् । मन्दिर प्रदक्षीणा गर्दै भोलेनाथसँग फर्कने अनुमती माग्यौँ । सयौँ टेण्टको ब्यवस्था थियो रात बस्नको लागि, तर अग्रिम बुकिङ गर्नुपर्ने रहेछ । गौरीकुण्डबाट हेलिकप्टरको सुविधा पनि रहेछ, तर त्यो पनि अग्रिम बुकिङ गर्नुपर्ने रहेछ । हामी सोनुप्रयाग फर्कने निधो गऱ्यौँ । ७ बजेर १५ मिनेटमा हामी त्यहीँबाट पैदल यात्रा गर्दै ओरालो झर्न थाल्यौँ । मन्दिर जाने र फर्कने यात्रीको घुइँचो देखेर हामी पनि रातमै हिँड्ने साहस पलायो । ८० वर्ष नाघेका बुढाबुढी बाटोमा प्रशस्त भेटिन्थे । लौरो टेक्दै स्वाँ-स्वाँ गर्दै कति बाँकी छ मन्दिर आउन भनी सोद्धथे । हामी हाँसेर अब थोरै छ भन्थ्यौँ । सोनुप्रयाग आउन ३ किमि बाँकी छँदा मलाई सास फेर्न गाह्रो भयो । भाइलाई म अब अगाडि बढ्न नसक्ने जानकारी गराएँ । म डोको प्रयोग गर्न बाध्य भएँ । सोनुप्रयाग पुग्दा रातको २:३० बजेको थियो । होटेलहरू खुलै थिए । हामी खाना खाइ होटेलमा सुत्यौँ ।

जेठ १८ गते

जेठ १८ गते छैठो दिन सोनु प्रयागबाट बद्रीनाथको लागि प्रस्थान गऱ्यौँ । अगाडि जाँदैगर्दा विशाल पहाड खोपेर बनाइएको चट्टानी मार्ग । विकासको अनुपम दृश्य अवलोकन गर्दै भोकभोकै अगाडि बढियो । चारधाम यात्रामा बाटोमा पर्ने पाँच प्रयाग-देव प्रयाग, रुद्र प्रयाग, कर्ण प्रयाग, नन्द प्रयाग, बिष्णु प्रयाग (विभिन्न पवित्र नदीहरूको सङ्गम ) अवलोकन गर्दै अगाडि बढियो । बिष्णु प्रयागबाट १२ किमि अगाडि गोविन्दघाट रहेछ । जाशी मठ भन्ने ठाउँमा त्यो यात्राको अन्तिम पेट्रोलपम्प रहेछ । हनुमानचट्टि हुँदै अगाडि लाग्यौँ । टाउकोमा पहाड खस्ला झैँ लाग्ने बाटोका दुवैतर्फ काला चट्टानी भीमकाय पहाडको अनुपम दृश्य देखिन्थ्यो । हामी बेलुका ५ बजे बद्रीनाथ पुग्यौँ । श्राद्धको लागि अलकनन्दा नदीको तिरमा अवस्थित ‘ब्रम्ह कपाल’तर्फ लाग्यौँ । पिण्डको लागि त्यहीँ पुरेतले पकाएको चामल अर्थात् भात प्रयोग गर्नुपर्ने रहेछ । बालगोपाल भगवान्लाई भोग लगाउन प्रयोग गरिने पवित्र चामल मानिँदोरहेछ त्यो चामल ।

श्राद्धको काम सकी हामी बद्रीनाथको दर्शनको लागि मन्दिर प्राङ्गण प्रवेश गऱ्यौँ । त्यहाँको भिड देख्दा दर्शन पाउन असम्भवजस्तै लाग्यो । बत्ती बालेर फर्कनुपर्छ क्या हो भन्दै आपसमा कुरा गर्दै थियौँ । नजिकै उभिएको सुरक्षाकर्मीले हाम्रो कुरा सुनेछ । उसले नेपाली हौ भनी सोध्यो नेपाली भाषामै । हो भन्नासाथ त्यति टाढाबाट आएका तिमीहरूलाई म गराउँछु दर्शन भन्दै आफ्नो पछि-पछि आउन भन्यो । हामी उसको पछि लाग्यौँ । उसले हामीलाई सिधै भगवानको ढोकामा पुऱ्यायो । मन प्रफुल्ल हुनेगरी दर्शन गरियो । फर्कंदा त्यहीँ ठाउँमा कुरेको थियो । कुर्नुको कारण रहेछ- घ्युमा चोबेको नेपाली बत्ती छ भने देउ भन्नलाई । मसङ्ग बाँकी रहेको सबै बत्ती उसलाई थमाइदिएँ । अब हामी त्यहाँबाट फर्कनैपर्ने भयो । किनकि त्यहाँका धर्मशाला र होटेल सबै प्याक थिए । पार्किङनेर प्रतिवटा ९० आईसी मूल्य पर्ने पोलेको मकै किनेर खाँदै अगाडि बढियो । त्यो दिन रुद्र प्रयागमा रात बसियो । सम्पुर्ण यात्रामा कुनै न कुनै नदीले हामीलाई फलो गरेको अनुभूति हुन्थ्यो । किनकि बाटोको एउटा साइड नदी नै देखिन्थ्यो ।

हामी आफ्नै गाउँठाउँमा अवस्थित रमणीय प्राकृतिक सौन्दर्यसहितका स्थानको बारेमा अनभिज्ञ छौँ । यी हाम्रा प्राकृतिक सम्पदालाई बाहिरी जगतमा चिनाउन नसक्नु र यिनीहरूबाट फाइदा लिन नसक्नु हाम्रै कमजोरी हो ।

जेठ १९ गते सातौँ दिन हामी रुद्र प्रयागबाट हरिद्वारतर्फ प्रस्थान गऱ्यौँ । अब हामीलाई भोकभोकै कुनै तीर्थ जानु छैन । त्यसैले बाटोमा पाइने विभिन्न खानेकुराको स्वाद लिँदै निस्फिक्री अगाडि बढ्यौँ । हामी अहिले ‘उड्ता पक्षी’झैँ स्वतन्त्र छौँ । उमेरमै चारधाम यात्रा गर्न सफल भएर पनि होला निकै खुशी छौँ । यो एक सौभाग्य पनि हो ।

हाम्रो चालक सन्जय भाइ पनि बडो मजाकी रहेछन् । टुरिष्ट गाइडजसरी हामीलाई विभिन्न ठाँउको जानकारी गराए ।

बाटोमा ‘बहुगुणा मेडिकल कलेज’ र ‘बहुगुणा युनिभर्सिटी’ श्रीनगरको अवलोकन गरियो । देव प्रयागमा अवस्थित ‘केन्द्रिय संस्कृत विश्वविद्यालय’ (पहाडको भित्ता खोपेर बनाइएको भब्य संरचनाको नमुना रहेछ) को पनि अवलोकन गर्ने मौका मिल्यो । ऋषिकेशमा रामझुला र लक्ष्मण झुलाको पनि अवलोकन गरियो ।

हामी बेलुकी ४ बजे हरिद्वार पुग्यौँ । केही समय किनमेलमा खर्च भयो । त्यहाँको तातो तातो राबडीको स्वाद पनि लियौँ । अब प्रसिद्ध गङ्गाआरति हेरेर मात्र फर्कने मुड बनायौँ ।

विभिन्न उकाली, ओराली, सुख, दुःखसहितको यात्रा नै हो जिन्दगी । यी कुराहरूले हामीलाई छाया बनी पछ्याइरहन्छन् । केही यात्रा यति महत्वका हुन्छन् कि हृदयको एउटा कुनामा आँकुराएको बिजलाई विशाल वृक्ष बनाउन सहयोग पुऱ्याउँछ । मेरो जीवनमा पनि यो यात्रा अविश्मरणीय रहनेछ ।

हरिद्वारको गङ्गा आरती दर्शन गरि हामी बेलुकी ७ बजे गड्डाचौकीतर्फ लाग्यौँ । अलि अगाडि खाना खाई चालकले रातभरि गाडी गुडाए ।

जेठ २० गते

२० गते आठौँ दिनमा हामी बिहान ७ बजे गड्डाचौकीमा रहेको चालकको घरमा आइपुग्यौँ । उसले ब्रेकफास्ट गरेर मात्र जान अनुरोध गऱ्यो । आफ्नै बारीको कटहरको तरकारी, आलुपरौठा र अचारको स्वाद बडो मजाको थियो । उसैले हामीलाई धनगढी विमानस्थल पुऱ्यायो १२ बजेको श्रीएयरलाइन्सको विमानबाट हामी सुरक्षित काठमाडौं अवतरण गऱ्यौँ । हाम्रो चारधाम यात्रा सफलतापूर्वक सम्पन्न भयो । जय होस् ।