प्रहरीलाई खेद्ने कि बलियो पार्ने ?

प्रहरीलाई खेद्ने कि बलियो पार्ने ?


हालै इजिप्टको फुटबल मैदानमा भएको दङ्गामा अठहत्तर व्यक्तिको मृत्यु भयो । मर्नेमा कैयौँ सुरक्षाकर्मी पनि परे । घरेलु दर्शकले समर्थन गरेको क्लब हारेको र जित्ने टोलीका खेलाडीले दर्शकतिर नराम्रो प्रतिक्रिया दिएको आरोपमा खेल समाप्त भएपछि दर्शकहरू मैदान छिरेर जित्ने टोलीलाई मैदानबाट खेदेका थिए । जित्ने टोलीको ज्यान जोगाउन सेनाको हेलिकोप्टर नै प्रयोग गर्नुपर्‍यो । जब एक पक्ष मैदानमा उत्रियो अर्को टिमको पक्ष पनि प्रतिकारमा उत्रियो । त्यहाँ एकले अर्कोलाई चक्कु प्रहार गर्न थालियो । स्टेडियममा आगो बल्न थाल्यो । एक-अर्कालाई खेदिखेदी मार्नेसम्मको काम हुँदै थियो, तर यो समयमा बढो खेदपूर्ण दृश्यचाहिँ के थियो भने त्यहाँ उपस्थित हतियारधारी प्रहरीले स्थिति नियन्त्रण गरेको पटक्कै देखिएन । उनीहरू त्यसबखत एकै ठाउँमा बसी तमासा हर्ेर्दै थिए । केही प्रतिकार नगरे पनि अराजक समर्थकको भीडले प्रहरीमाथि पनि आक्रमण गर्न थाल्यो । त्यसैको परिणाम हो त्यस दिन त्यहाँ धेरै पुलिसहरू पनि मारिए । यो घटनापश्चात् त्यहाँका गभर्नरले राजीनामा दिनुपर्‍यो । आपतकालीन संसद् भेला बोलाइयो । छानबिन समिति बन्यो । अन्तमा सबै एउटा के निष्कर्षमा पुगे भने कमजोर सुरक्षा व्यवस्थाका कारण नै यो दु:खद् घटना घटेको थियो । यस कमजोर सुरक्षा किन हुन पुग्यो भन्नेमा पनि लगभग सबैको धारणा एउटै थियो, त्यो के भने इजिप्टमा हुस्नी मुबारकविरुद्ध भएको जनआन्दोलनमा प्रहरीको मनोबल निक्कै गिरेको थियो । त्यसबेला आन्दोलनकारीहरूलेे प्रहरीलाई होस्नी मुबारकको निजी सुरक्षा दलको रूपमा मात्र हेरिरहेका थिए । मुबारकको पतनसँगै उनका लागि सडकमा डट्ने प्रहरी पनि जनताका आँखामा शत्रु बन्न पुगे । अराजक भीडका अगाडि प्रहरी स्वयम् नै आफ्नो ज्यान र जागिर जोगाउन चिन्तित हुन थाले । नयाँ सरकारले पनि प्रहरीलाई शङ्कामा हेरेको अनुभव प्रहरीलाई हुन थाल्यो । स्टेडियममा अठहत्तरजनाको ज्यान जानुको कारण यही कमजोर मनोबल नै थियो । अन्तर्राष्ट्रिय समाचारहरूका पनि प्रतिक्रया यस्तै थिए ।
म्ा यो घटना यहाँ किन उल्लेख गर्दै छु भने नेपालमा पनि चौतर्फी रूपमा सुरक्षा बललाई कमजोर बनाउने काम भइरहेको छ । ०४६ सालको आन्दोलनपछि प्रहरीलाई अर्धमूच्रि्छत अवस्थामा ठेलामा घुमाउने काम भयो । हुलले महानिरीक्षकको जुँगा तान्यो । त्यतिबेलाको प्रहरीहरू बिनाअपराध राजाको शासनको प्रहरी भएको आरोपमा परे, जब कि राजदरबारको विश्वास केवल सेनामा मात्र थियो । पञ्चायतको रिस पनि प्रहरीमाथि फेरियो । जब नयाँ प्रजातान्त्रिक सरकार बन्यो तब फेरि तत्कालै तिनै पञ्चायतका भनिएका प्रहरीहरूबाटै समाजमा शान्तिसुरक्षा कायम गर्नु थियो । त्यसबखत मन्त्रीहरूलाई प्रहरी वा उच्च दर्जामाथि नै विश्वास थिएन । प्रहरीहरू त्यसबखत यति अप्ठ्यारो स्थितिमा थिए कि एकातर्फ आप\mनो जागिर नै खतरमा परेको महसुस गर्दै थिए भने अर्कोतर्फ जनताको नजरमा पनि उनीहरूको सम्मान एकदमै झरेको थियो । प्रहरीको मनोबल एकदमै झरेको त्यो अवस्थामा नेपालभरि नै गुण्डागर्दी र अन्य अपराध बढ्न पुग्यो ।
चुनावमा प्रहरी आवश्यक पर्ने हुँदा तत्कालै नेताहरूले उच्च पदका अधिकृतहरूलाई खोस्न भने सकेनन्, तर ऐन नै परिवर्तन गरी रत्नशमशेर आईजीपीलाई हर्टाई राजनीतिज्ञसामु प्रहरी भनेको कोही होइन है भन्ने सन्देश दिन भने भ्याइहाले । ०४६ सालको आन्दोलन र त्यसपछिको राजनीतिक मारमा परेका प्रहरीहरू सशक्त भएर फेरि आफ्नो पुरानो र्फममा र्फकनुअघि नै माओवादी युद्ध सुरु भयो । भर्खर भर्खर मनोबलमाथि उठाएको प्रहरीको माओवादी युद्धले फेरि मनोबल तल झार्न थाल्यो । प्रहरी इकाइहरू नै र्सर्नुपर्ने अवस्था सिर्जना भयो । कैयौँ प्रहरी मारिए । एकातर्फ मावोवादी युद्धले लिएको उचाइसँगै प्रहरीहरूको मनोबल गिर्दै थियो भने अर्कोतिर काङ्ग्रेस-एमालेका सरकार आईजीपीहरू परिवर्तन गर्दै प्रहरी सङ्गठनलाई रकम जुटाउने र कार्यकर्तालाई जागिर खुवाउने अखडाको रूपमा उपयोग गर्दै थिए । दोहोरो मारमा परेपछि प्रहरीको मनोबल झन् गिर्‍यो । यो समयमा पनि समाजमा अपराध बढ्न पुग्यो ।
म्ााओवादी आन्दोलनलाई दरबारले काङ्ग्रेस-कम्युनिस्ट खत्तम पार्ने अवसरको रूपमा लिइरहेको थियो भने काङ्ग्रेस, एमालेले एक-अर्कालाई कमजोर पार्ने मौकाको रूपमा लिइरहेका थिए । दरबारका कारण सेना यो युद्धलाई उपयोग गरी राजालाई पुन: मजबुत बनाउने अवसरको खोजीमा थियो भने एमाले वा काङ्ग्रेसलाई माओवादीले मारेविरोधी दल मख्ख पर्ने अवस्था थियो । यसबीच एकोहोरो थ्री नट थ्री लिएर भिड्ने प्रहरी बिनाकारण मरिरहेका थिए र प्रहरी मर्दा चित्त दुखाउने कुनै जनता र राजनीतिक व्यक्ति थिएनन् । तिनैताका प्रहरी आईजीपीहरूको गुटभित्र पिल्सिएर पनि चरम शोषणबीच काम गरिरहेका थिए । यस अवस्थामा ०४६ सालदेखि नै झर्दै आएको मनोबल झन् तल पुग्यो । यही समय हो देशभर अराजकता झन् बढ्न पुग्यो ।
आखिर माओवादीहरू हतियार क्यान्टोनमेन्टमा राखेर चुनावमा जाने अवस्था आयो । विजयी मुडमा रहेका मावोवादीका भ्रातृ सङ्गठनले प्रहरीलाई केटाकेटीबराबर पनि गन्दैनथे । भर्खर त्रासदीपूर्ण अवस्थाबाट बाहिर आएको प्रहरीलाई काङ्ग्रेस, एमालेको सरकारका गृहमन्त्री र प्रधानमन्त्रीहरूले अझै पनि दुहुनो गाई सम्झँदै आर्थिक शोषण गर्ने र भर्तीकेन्द्र बनाई उनीहरूको जितका लागि चुनावमा प्रयोग गर्ने काम गरिरहेका थिए । त्यो स्थितिमा प्रहरी फौजको मनोबल तल झरे समग्र प्रजातन्त्रमा नै नकारात्मक असर पुग्छ भन्ने काङ्ग्रेस-एमालेका नेताहरूले कहिल्यै बुझेनन् । झन्झन् सुडान काण्ड र अन्ोकौँ काण्डमा प्रहरीलाई मुछ्दै पैसाका लागि सरुवा-बढुवामा समेत हस्तक्षेप गर्न थाले । प्रहरी महानिरीक्षक फेरेर झन्झन् प्रहरी सङ्गठनलाई कमजोर पार्दै गए । यो समयमा सङ्गठित अपराध र अराजकता झन् बढयो ।
चुनावी प्रक्रियाबाट माओवादी सरकारमा आइसकेपछि पनि समाजमा अराजकता घटेन । किनकि प्रहरीको झरेको मनोबल उकासिएको थिएन । वाईसीएलजस्ता अर्धसैनिक समूह पनि अझै अराजक भएर नै प्रस्तुत भइरहेका थिए । प्रहरी प्रमुखहरूलाई भ्रष्टाचारको आरोप लगाउँदै जेल हाल्ने काम पनि हुँदै थियो भने गृहमन्त्रीको परिवर्तनसँगै आईजीपी परिवर्तन गर्ने काम पनि हुँदै थियो । मनलागी ढङ्गले सरुवा-बढुवा पनि गरिँदै थियो । यो स्थितिमा यसै पनि प्रहरीको मनोेबल झर्ने भइहाल्यो, त्यसमाथि पैसाको बलमा वृत्ति विकास हुने स्थिति बनेपछि प्रहरीलाई पनि पैसा कमाउन बाध्य हुनुपर्ने स्थिति सिर्जना भयो । त्यसैले आजका दिनसम्म आइपुग्दा पनि प्रहरीमाथि चौतर्फी आक्रमण हुँदै आएको छ र अहिले त्यो आक्रमण झन् बढिरहेको छ । प्रहरीलाई अहिले प्रेस राजनीतिक व्यक्ति, अदालत अख्तियार सबै क्षेत्रबाट आक्रमण छ । आक्रमणले मनोबल झन् गिराएको छ र मनोबल गिर्नाले अराजकता झन् बढेको छ । आज प्रहरीलाई नेपालको भ्रष्टाचारीको अखडाको रूपमा चित्रित गर्न थालिएको छ । त्यसैको एक उदाहरण हुनसक्छ हालै एक दैनिकमा पैसा फैलाउँदै प्रहरी भन्ने शीर्षकमा पैसा रोप्दै गरेका प्रहरीको कार्टुन बनाइएको थियो । यस्तो स्थितिमा समाजमा प्रहरीले कुन मनोबलमा काम गर्लान् ?
चाहे जहाँ-जहाँबाट प्रहरीलाई भ्रष्ट वा काम नलाग्ने प्रमाणित गर्ने होडबाजी चलेको होस् त्यसमा पङ्क्तिकारलाई केही भन्नु छैन किनकि सबैले आ-आफनो धर्म र कर्तव्यअनुसारै त्यो काम गर्दै छन् । अख्तियारमा उजुरी जान्छ, अदालतमा मुद्दा जान्छ, प्रेसमा खबर जान्छ, राजनीतिक व्यक्तिहरू अधिकारक्षेत्रभित्रै रहेर प्रहरी प्रमुखहरू फेर्छन्, सरुवा गर्छन्, छानबिन आयोग बनाउँछन् । तर, मेरो चिन्ता र चासो केमा छ भने सबैको थप्पडमा परेको यो सङ्गठनको मनोबल झन्झन् तल झर्दै गयो भने यो समाजको सुरक्षा व्यवस्थाको स्थितिे अझ झन् के होला ? के अब निकट भविष्यमा नेपालमा खडा हुनसक्ने जातीय-क्षेत्रीय लडाइँमा यो सङ्गठनले नेपालीको सुरक्षा गर्न सक्ला ? सबैले तर्साएर राखेको प्रहरीले राज्य-राज्यबाट निस्कने सशस्त्र जत्थालाई नियन्त्रण गर्न सक्ला ? बढदो सङ्गठित अपराध रोक्न सक्ला ? यदि सकेन भने आमनेपाली समाजको सुरक्षास्थिति झन् के होला ?
म त त्यो दिनको कल्पना गरेर डराउन थालेको छु । जुन ढङ्गले प्रहरीलाई हरेक क्षेत्रबाट कमजोर बनाउने काम भइरहेको छ त्यही ढङ्गले यसलाई मजबुत बनाउने काम भने भएको देखिँदैन । ०४६ सालदेखि लगातार मक्किँदै आएको यस सङ्गठन कमजोर मनोबलकै कारण धराशयी भयो भने त्यसबखत आमनेपालीको सुरक्षास्थिति के होला ? त्यसैले मेरो अनुरोध छ कि प्रहरीलाई कर्तव्यनिष्ठ बनाउनुपर्छ, इमानदार बनाउनुपर्छ, व्यावसायिक बनाउनुपर्छ, साथसाथै हामीले यो पनि बुझ्नुपर्छ कि तिनलाई बलियो पनि बनाउनुपर्छ । हाम्रो आफ्नै सुरक्षाका लागि पनि यो जरुरी छ अन्यथा हालै इजिप्टमा कमजोर मनोबल भएका प्रहरीले आपतकालीन अवस्थामा त्यहाँका जनताको रक्षा गर्न नसकेझैं यहाँका प्रहरीले पनि हामीलाई आपत् पर्दा हाम्रो रक्षा गर्न सक्ने छैनन् । त्यसैले प्रहरीहरूलाई खेद्ने मात्र होइन बलियो पनि बनाऊँ ।