बारा दुर्घटनाका बालक भन्छन्- ‘बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ’

बारा दुर्घटनाका बालक भन्छन्- ‘बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ’


  • photo: rss


अञ्जली थापा, हेटौंडा

जितपुर-सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दशैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३/४ घण्टा बसपार्कमा नै कुर्नुपऱ्यो । धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६-००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन्- ‘ब्रेक फेल भयो भन्ने सुनेँ, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।’ गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन्- ‘झसङ्ग भएर बुबालाई हेरेको देखिनँ । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।’

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाइ छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए ।

त्यसैगरी अर्का घाइते ३५ वर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउनुहुन्छ । उहाँले आफूले भने हामफालेर ज्यान जोगाएको बताउनुहुन्छ । नारायणगढबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उहाँ बताउनुहुन्छ । ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उहाँको भनाइ छ । उक्त क्रममा पुलनजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफु हामफाल्न बाध्य भएको उहाँको भनाइ छ ।

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको हातको शल्यक्रियाको तयारी हुँदैछ ।