भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन


भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनको उपचार गरिएको थियो ।

यादवकी श्रीमती साधना गुप्ताको पनि गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मै निधन भएको थियो ।

यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिएका हुन् । समाजवादी पार्टीको स्थापना दिवंगत यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए ।

झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोगेका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उनी सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनैलाग्दा अन्तिममा रोकिनुपरेको थियो । उनलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो ।

उनले राजनीतिमा धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिएका थिए भने बेला बेलामा विवादमा पनि पर्ने गर्दथे । भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बनेका थिए भने एक पटक केन्द्रीय मन्त्री भएका थिए ।

आम निर्वानचनबाट १० पटक निर्वाचित भएका उनी सात पटक लोकसभा सदस्य रहेका थिए । उनी पहिलो पटक सन् १९६७ मा २८ वर्षको उमेरमा विधानसभा सदस्यमा निर्वाचित भएका थिए। मुलायम सिंह यादवको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो ।