सशक्त काङ्ग्रेसको आवश्यकता-श्रीधर शर्मा

सशक्त काङ्ग्रेसको आवश्यकता-श्रीधर शर्मा


राजनीतिक वृत्तमा फेरि नेपाली काङ्ग्रेसको एकताको विषय चर्चामा छ । भ्रातृ सङ्गठनदेखि विभाग र केन्द्रीय समितिको गठनसम्ममा असहमतिका कारण सभापति सुशील कोइराला तथा वरिष्ठ नेता शेरबहादुर देउवाको लगभग टुटेको सम्बन्ध पुन: जोडिन खोजेको कुराले यो चर्चा भएको हो ।
नेपाली काङ्ग्रेस यस्तो दल हो जसमा सधैं एकताको कुरा हुन्छ तर एकता कहिल्यै हुँदैन । तैपनि यसको इतिहासका कारण यो ‘हिङ नभए पनि हिङ बाँधेको टालो’झैँ छ । विभिन्न कालखण्डमा भएका स्वतन्त्रता आन्दोलनमा कहिले राजालाई गद्दीमा बसाल्न र शासनभार लिन, कहिले राजालाई संवैधानिक बनाउन र कहिले तिनै राजालाई गद्दीबाट हर्टाई गणतन्त्र स्थापना गर्नका लागि पनि यसकै नेतृत्वमा आन्दोलन भएको कुरा सम्झँदा पनि यसको इतिहास अचम्मकै लाग्दछ ।
तर, समय र परिस्थितिलाई बुझेर आफूमा समयानुकूल परिवर्तन ल्याउँदै आएको यो दल नै वास्तवमा ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ हो । बिना कुनै विध्वंश क्रान्ति गर्नु र परिवर्तन ल्याउनुमा आफ्नै किसिमको गौरव छ । यही गौरव काङ्ग्रेससँग छ । सत्रौँ शताब्दीका विचार बोकेर हिँड्नेहरूले यसलाई ‘यथास्थितिवादी’ र ‘प्रतिगामी’को आरोप लगाए पनि यो मुलुकको वास्तविक ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ दल नेपाली काङ्ग्रेस नै हो, किनकि यसले आफूलाई समयानुकूल बनाउन समर्थ भएको छ । चर्का कुरा गरेर, कल्पनामा उडेर मात्र कोही क्रान्तिकारी ठहरिन सक्दैन, वस्तुगत यथार्थलाई आत्मसात् गर्न सक्नुपर्छ, काङ्ग्रेस यसैको उदाहरण हो । काङ्ग्रेस वास्तवमा यो मुलुकको सिङ्गो इतिहास हो ।
यस्तो हुँदाहुँदै पनि दलभित्रको आन्तरिक किचलो र कलह अनि दलमा भित्रिएका विकृति-विसङ्गतिले यति ठूलो ‘गौरवशाली’ दल सपना बाँडेर शासन गर्ने, जनतालाई भ्रममा पारी सत्ता कब्जा गरेर शासक बन्ने स्वार्थ र नियत बोकेका दलका सामु निरीह र निर्धो बन्नु परिरहेको अवस्था सम्पूर्ण लोकतन्त्रवादीहरूका लागि दु:खको कुरा हो । यतिखेर अग्रगमनको नाममा मुलुक र जनतालाई अँध्यारोतर्फ फर्काउने चेष्टा गर्ने दलहरूको दबदबा छ, यिनै चर्चामा छन् ।
परिवारवाद र गुटबन्दी नेपाली काङ्ग्रेसको आन्तरिक कलहका प्रमुख कारक हुन् । यिनै कारण यसका संस्थापक नेताहरू नै अपमानित हुनुपरेका घटना पनि हाम्रासामु छन् । जबसम्म नेतृत्वले यस्ता कमजोरी परित्याग गरी निष्पक्ष ढङ्गमा योग्यता, क्षमता र योगदानको आधारमा जिम्मेवारी सुम्पने परिपाटी स्थापित गर्न सक्दैन तबसम्म काङ्ग्रेस एक ढिक्का हुन सक्दैन । सशक्त एवम् सुदृढ काङ्ग्रेस आजको आवश्यकता हो । यसो हुन नसकेसम्म काङ्ग्रेस सशक्त र सुदृढ हुन सक्दैन अनि लोकतन्त्र पनि स्थायी हुन सक्दैन ।
एउटा जीवन्त लोकतान्त्रिक दलभित्र मत-मतान्तर हुनु अस्वाभाविक होइन । तर, दलभित्रको कलह जुन रूपमा सार्वजनिक हुन्छन् तिनले दलको क्रियाकलापमा पनि प्रभाव पर्ने हुँदा आन्तरिक किचलोका कारण राष्ट्रिय राजनीति तथा मुलुकका अन्य पक्षमा प्रभाव पार्नुहुँदैन । आन्तरिक कलह दलभित्रै सीमित रहनुपर्छ, अन्य दलका सामु यसको प्रभाव देखिनुहुँदैन । यसो हुनसक्यो भने मात्र काङ्ग्रेस लोकतान्त्रिक दल ठहरिनेछ ।
सुशासन र समृद्धिको नारा दिने तर जनतामाथि थिचोमिचो गर्ने काम भइरहेको बेला विभाजित काङ्ग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन । काङ्ग्रेस आन्तरिक कलह र किचलोमा अल्मलिँदा गैरलोकतान्त्रिक शक्तिलाई आफूखुसी गर्न सजिलो भएको कुरा नेतृत्वमा रहने र गुटबन्दीमा लाग्नो नेताहरूले बुझ्नुपर्छ । काङ्ग्रेसको देश र जनताप्रतिको जिम्मेवारी के हो भन्ने कुरा यिनले नबुझेसम्म काङ्ग्रेसप्रतिको नेपाली जनताको आशा र विश्वास साकार हुन सक्दैन । यस कुराप्रति काङ्ग्रेस नेताहरू गम्भीर हुनुपर्छ । आन्तरिक किचलो जति लम्बिन्छ उति नै लोकतन्त्रमाथि प्रहार र सङ्कट परिरहन्छ भन्ने कुरा उनीहरूले महसुस गर्नुपर्छ ।
अहिले राष्ट्रिय राजनीतिमा एनेकपा (माओवादी) हावी छ । तर, उसका क्रियाकलाप र गतिविधिले गर्दा म्ााओवादीप्रति विश्वस्त हुन सक्ने अवस्था छैन । सहमति गर्ने तर कार्यान्वयन नगर्ने उसको शैली, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद लाद्ने उसको नियत तथा विधि र पद्धतिलाई उपेक्षा गर्दै जबर्जस्ती गर्ने उसको प्रवृत्ति उसको रणनीतिअनुरूपकै हो भन्ने कुरामा कुनै भ्रम छैन । यस्तो स्थितिमा काङ्ग्रेस सुदृढ, एकताबद्ध र आफ्नो अडानबाट कत्ति पनि विचलित नभई अड्न सक्ने हुनु जरुरी छ ।
कथित जनयुद्धकालका कामकारबाहीलाई वैधता दिने षड्यन्त्र माओवादीबाट भइरहेको छ । अवकाश रोज्ने लडाकु बिदाइका क्रममा माओवादीका धेरै कुरा खुलेका छन् । सङ्ख्या बढाएर काल्पनिक लडाकुको भत्ता बुझेको, बाहिरियालाई लडाकु बनाएर भित्र्याइएको त धेरै अघि खुलेको हो, संविधानसभा निर्वाचनताका लडाकुलाई वाईसीएल बनाएर बाहिर पठाइएको र कतिपय विदेशसम्म गएका तथा अहिले तिनलाई दिन थालिएको रकम कमाण्डरहरूमार्फत पार्टीले नै लिन खोज्दा विवाद उत्पन्न भएको र आफ्नै नेतालाई बहिष्कार गर्नेजस्ता काम भइरहेबाट माओवादीको सक्कली अनुहार उदाङ्गो हुनुको साथै उसको नियतमा कुनै भ्रम राख्नु नपर्ने भएको छ ।
यस्तो स्थितिमा मुलुककै सबैभन्दा पुरानो दल जसले राणाशाही, निरङ्कुश पञ्चायत र संवैधानिक राजतन्त्र हुँदै गणतन्त्रको स्थापना गर्ने आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो उसले आफूलाई एकताबद्ध र सशक्त बनाउनु नितान्त जरुरी छ । सोझा सीधा जनतालाई भुइँफुट्टाका हावादारी गफ र भ्रममा अल्मलिन नदिनका लागि पनि मुलुकको एकमात्र लोकतान्त्रिक शक्ति नेपाली काङ्ग्रेसको एकता र सुदृढता आजको अनिवार्यता हो । प्रजातान्त्रिक दलभित्र आन्तरिक प्रजातन्त्र नभएको भनी आलोचना र प्रहार खेप्नुपरेकोमा त्यसलाई जवाफ दिनका लागि पनि नेताहरूले आ-आफ्ना स्वार्थ त्यागी उदारता साथ प्रस्तुत हुनुपर्छ ।
हिजोको इतिहास र गौरवले मात्र दल अघि बढ्न नसक्ने तथ्यलाई उनीहरूले आत्मसात् गर्न सक्नुपर्छ । यस्तै एकताका कुरा गर्ने तर कहिल्यै एक हुन नसक्ने विगतको इतिहास दोहोरिन नदिनका लागि पनि विवादको अन्त्य गरी यो एकता प्रयास र्सार्थक हुनुपर्छ । सङ्कटमा परेको लोकतन्त्र जोगाउन, लोकतन्त्रको नाममा लोकतन्त्रका मूल्य-मान्यता र आदर्शमाथि प्रहार भइरहेको वर्तमान सन्दर्भमा सहमतिका लागि भएको पहल सकारात्मक हुनुका साथै यसबाट समस्त काङ्ग्रेसजनलाई उत्साहित बनाएकाले यस पक्षमा पनि ख्याल राखी अघि बढ्नु मुलुक, जनता, दल र लोकतन्त्रकै हितमा हुने कुरा काङ्ग्रेसका जिम्मेवार नेताहरूले बुझ्नु जरुरी छ ।