अबको चुनाव : परिवर्तनको खोजी

अबको चुनाव : परिवर्तनको खोजी


  • राजबाबु शंकर

आजको ३२औँ दिनमा हुने संसदीय तथा प्रदेशसभा चुनावको चटारो शुरु भइसकेको छ । काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरू चुनावी तयारीमा लागेका छन् । आनकातान फरक के छ भने २०७४ सालको चुनावमा एमालेसँग टाँसिएको माओवादी केन्द्र यसपालि काङ्ग्रेससँग गठबन्धनका नाममा सरकारदेखि चुनावी गठबन्धनसम्म साथ छ । काङ्ग्रेस, माके, एस, जसपा लगायत सत्तापक्षीय गठबन्धनसँग चुनावी सिंगौरी खेल्न एमाले पनि राप्रपालगायत दलहरूसँग चुनावी तालमेलमा जाने छ ।

गत बैशाख ३० गतेको स्थानीय तह चुनावमा कुनै पनि पार्टीसँग आबद्ध नभएका निकै कम संख्यामा स्वतन्त्र हैसियतमा उम्मेदवारी परेमध्ये केही मात्रको विजयपछि तिनको कार्यपरिणाम चिर अपेक्षित रूपमा सकारात्मक देखिएको परिप्रेक्ष्यले वर्तमानमा राजनीतिक वृत्त तरङ्गित छ । अर्थात्, स्वतन्त्र प्रत्याशीप्रतिको जनचाहना अबको चुनावमा झन् आवश्यक र ठानिने सोचलाई मलजल पुग्ने पक्काजसो देखिँदै छ । आ-आफ्नो पेशागत क्षेत्रमा स्थापित र नाम पनि कमाएका केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहरका कारण आजसम्म शासन र प्रशासनमा जनचाहना विपरीत साँढे ढलिमली गरिरहेका दलहरू ‘अब के पोे हुने हो’ भन्ने ऊहापोहमा रहेको अनुमान गर्न गाह्रो छैन ।

काठमाडौं महानगरपालिकामा इन्जिनियर एवम् गायकी पृष्ठभूमिका स्वतन्त्र युवा उम्मेदवार बालेन साहको सम्मानजनक जीत, धरान उपमहानगरमा पनि स्वतन्त्र युवा उम्मेदवार हर्क साम्पाङ र धनगढीमा गोपी हमाललाई मेयरमा अत्यधिक मतले विजयी बनाउनु राजनीतिक दलहरूको अकर्मण्यता, अक्षमता र कुशासनप्रति जनताले तीव्र रोष प्रकट गरेको प्रष्ट संकेत हो । साथै, केही अन्य नगरपालिका तथा गाउँपालिकामा पनि स्वतन्त्र हैसियतमै केहीले जितेका छन् । यी स्वतन्त्र रूपमा विजेताहरूले गरिरहेका जनअपेक्षित कामले पाइरहेको अपूर्व प्रशंसा एवम् समर्थनले समेत अबको चुनावमा स्वतन्त्र उम्मेदवारप्रतिको रुझान कायमै रहने आँकलन छुट्टै छँदैछ ।

नानाथरि नामधारी दलहरूबाट जनअपेक्षा सम्बोधन नहुनुको परिणति नै नयाँ विकल्पको खोजी थियो, हो र अब पनि हुन्छ । अबका दुई चुनावमा पनि त्यो खोजीले निरन्तरता पाउँछ नै । स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरूमा धेरजसो युवाहरू नै छन् र उनीहरूले समस्यालाई पर्गेलेर नयाँ बस्तुनिष्ठ सोचयुक्त लक्ष्यलाई चुनावी एजेण्डा बनाएका छन् । र, दृढ इच्छाशक्तिले भरपूर ती युवा आकांक्षीहरूले अब यसअघिका ‘मै हूँ’ भनिखाएका दलीय उम्मेदवारहरूलाई पानी पिउन पनि नपाउने अवस्था बन्न सक्ने लगभग निश्चित छ । दलहरूको नाममा मैमत्त भएर कुकार्य मात्रै गर्दै आएका त्यस्ता स्वाँठ उम्मेदवारहरू अबका दिनमा बढारिनु पर्ने साझा अभिमत चुनावका दिन मतमा बदलिने आसार देखिँदो नै छ ।

परिवर्तन समयको माग हो । देश र जनताका निम्ति गतिलो काम नगरेका/गर्नै नचाहेका पद मात्रै ओगटुवा अक्षम झुण्डको पुस्तान्तरण अब अनिवार्य भइसकेको छ, जुन समयको प्राथमिक माग हो- यो बस्तुतथ्यलाई नजरअन्दाज गर्ने सुविधा नेटोपारि पुगिसकेको वर्तमानमा परिवर्तनप्रतिको आमचाहनालाई नयाँ आयाम दिन अत्यावश्यक छ, तब नै राजनीतिलाई ‘स्वस्वार्थको निकृष्टतम सौदाबाजी गर्ने थलो’ र ‘जागिर खाने सुरक्षित पेशा’ बनाइआएका फजुल नटुवाहरूको पलायन बाध्यकारी बन्ने छ । अनि मात्र शासन पद्धतिमा पनि परिवर्तन भइ सुशासनमय दिनहरू प्रारम्भ हुने आधार तय हुने छ । यसतर्फ यसपालि सबै मतदाता सचेत, गम्भीर र जिम्मेवार बनुन्, विवेक बर्तिउन्- अपेक्षा यही नै हो ।