बिटुलिएकालाई चोख्याउन मात्र हो चुनाव ?

बिटुलिएकालाई चोख्याउन मात्र हो चुनाव ?


मुलुक दोहनको सवालमा कहिल्यै चोखिन नसक्ने प्रकृतिका अपराध गरेर बिटुलिएका यिनै राजनीतिजीवीहरूलाई नै चोख्याउने चुनावमा होमिन तमाम मतदाता आतुर बनेका छन् । देशलाई कुशासनको दलदलमा जाक्नेहरू नै सुशासन र समृद्धिको जग बसाउने भाषण दिँदै पानीमाथिको ओभानो बन्न खोज्दैछन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको लागि आगामी मङ्सिर ४ मा हुने निर्वाचनको चर्चा र निर्वाचनसम्बन्धित यावत क्रियाकलापका कारण यतिबेला मुलुकका अन्य विषयबस्तु ओझेलमा परेका छन् । राजनीतिक दलहरूले को-कस्ता व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सार्लान्, स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको लहर कस्तो रहला र, बागी (विद्रोही) बनेर चुनावी मैदानमा फालहान्नेहरू के-कति देखापर्लान् भन्ने आम जिज्ञासाको समन भइसकेको अवस्था छ । सबैमा अबको समान चासो छ- यसपटकको निर्वाचनको परिणाम कस्तो आउला र, त्यसले भविष्यमा प्रदान गर्ने परिणति के होला ?

पाँच वर्ष प्रतीक्षा गरेर आफ्नो लागि जनप्रतिनिधि चुन्नका लागि प्राप्त हुने अवसर एउटा राष्ट्रिय चाडसरह नै भएकोले निर्वाचनप्रति आमचासो र चर्चा बढ्नु स्वभाविक नै मान्नुपर्छ । तर वर्तमान अवस्था यस्तो छ कि यो कुनै महत्वको अवसर नभएर नेपालीका निम्ति दशा त भित्रिँदै छैन भन्ने आशङ्काको छाल उठिरहेको भान हुन्छ । उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका विभिन्न दलका पात्रहरू हेर्दा लाग्छ- फेरि पनि भ्रष्ट, अयोग्य र ‘आउटडेटेड’हरूलाई नै सत्तामा दोहो¥याउनका लागि चोख्याउने खेल वा कानुनी प्रक्रिया चलिरहेको छ, आमनिर्वाचनको नाममा । तमाम नेपाली जनता वा सचेत तप्काले सोचे/चाहेजस्तो आगामी निर्वाचन पवित्र प्रजातान्त्रिक पर्व हुन नसक्ने निश्चितप्रायः छ । अर्थात्, मङ्सिर ४ को निर्वाचनले मुलुकको कुरुप नेतृत्वदायी अनुहारहरूमा कुनै फेरबदल ल्याउन नसक्ने पक्कापक्की भएको छ । राजनीतिलाई राज्यदोहनको माध्यम बनाउँदै आएकाहरू नै हाबी भएर निर्वाचनको नेतृत्व गरिरहेको परिवेशले यस्तो सोच्न बाध्य तुल्याएको हो ।

आसेपासे अह्रौटे-भरौटेहरूको झोली भरिदिने र योग्य-इमानदारलाई पाखा लगाउने दुर्उद्देश्यबाट ग्रसित हुँदै उम्मेदवार छनोटको औपचारिकता निभाउन ठूला भनिएका कुनै दल पछि परेनन् । विकृतिको मात्रा तलमाथि होला, तर परमादेशी सत्ताधारी गठबन्धनको सिको गर्दै चुनावी ‘तालमेल’ र ‘सहकार्य’को राग मै हुँ भन्ने विपक्षीले पनि अलापेकै देखियो । अर्थात्, स्थापित भनिएका सबै राजनीतिक दल जसरी पनि चुनाव जित्नैपर्छ र सत्ताको सिँढी चढ्नैपर्छ भन्ने मानसिकताबाट आक्रान्त भएको थप स्पष्ट भएको छ । झर्नै नहुने गरी सत्तामा चढ्नुपर्ने र, चढिसकेपछि जनता र देशका लागि केही गर्नै नपर्ने सोचले उन्मत्त नेतृत्वकर्ताहरू अझै पनि ढुक्क तथा मस्त यसकारण छन् कि देशमा भयङ्कर चुनाव हुँदैछ अनि यो चुनावले अब त चाहनाको झोली भरपुर गरिदिन्छ भन्ने मृगतृष्णामा मग्न हुँदै सतहमा रमाइरहेका आमनेपाली उनीहरूले देखिरहेका छन् ।

प्रजातन्त्रमा जुन उद्देश्यका लागि निर्वाचन गरिन्छ, के मङ्सिर ४ को निर्वाचनले त्यो उद्देश्य परिपूर्ति गरिदेला ? यो सवाल दिन-प्रतिदिन सघन बनिरहेको छ । चुनावी गठबन्धन र तालमेलको नाममा भएका अत्यन्त अस्वाभाविक एवम् परस्परमा विरोधाभासपूर्ण गठजोडले नेपालका राजनीतिक दलहरू आफ्नो सिद्धान्त, आदर्श र निष्ठापूर्ण लक्ष्यबाट च्युत भइसकेका छन् भन्न अब कुनै मुहुर्त कुरिरहनु पर्दैन । मुलुकमा हाल जे-जति राजनीतिक, सामाजिक तथा आर्थिक विकार मौलाएका छन्, यी सबका प्रणेता हालका यिनै राजनीतिक नेतृत्वकर्ताहरू हुन् जसले पछिल्ला केही दशकभर कुनै न कुनै तरहले सत्ताको चास्नी चाट्दै आएका छन्, चाटिरहेका छन् । मुलुक दोहनको सवालमा कहिल्यै चोखिन नसक्ने प्रकृतिका अपराध गरेर बिटुलिएका यिनै राजनीतिजीवीहरूलाई नै चोख्याउने चुनावमा होमिन तमाम मतदाता आतुर बनेका छन् । देशलाई कुशासनको दलदलमा जाक्नेहरू नै सुशासन र समृद्धिको जग बसाउने भाषण दिँदै पानीमाथिको ओभानो बन्न खोज्दैछन् । राष्ट्रियता जगेर्नाको चर्का कुरा गर्ने तर राष्ट्रियता कमजोर तुल्याउन कुनै कसर नछोड्ने यिनको अभीष्ट प्रष्टिएको छ ।

लोकतन्त्र र संविधान बचाउने ढोँग रच्दै चरम अलोकतान्त्रिक र संविधानविपरीतका व्यवहार गर्ने यी पात्रहरूकै दबदबा जो चलिरहेको छ, यही मार्मिक तथ्यको आलोकमा अबको निर्वाचन र त्यसबाट चुनिएर आउने नेतृत्वकर्ताबाट प्राप्त हुने ‘अगुवाइ’ वा ‘अभिभावकत्व’को अनुमान गर्न सकिन्छ । असीम दुःखको कुरा त यो छ कि यस्ता कुपात्रहरूका लागि मैदान खालि गरिदिनु नै आमनेपाली वा नेपाली समाजको नियति देखिएको छ । आफ्नै खुट्टामा लगातार बञ्चरो प्रहार गरिरहने नेपाली-प्रवृत्तिले अन्तहीन दुखान्त सिर्जना गरिरहेछ ।

यिनै-यस्तै दुःखदायी परिवेशकै बीच नेपाली घर-आँगनमा उज्यालो चाड तिहारको प्रवेश हुनै लागेको छ । शुभ दीपावली पर्व भनेर पनि पुकारिने तिहार, नेवारी समुदायले हर्षोल्लासका साथ स्वागत गर्ने नयाँ नेपाल सम्वत् दिवस र तराई/मधेसले धुमधामसँग मनाउने छठ पर्वको सङ्घारमा सबैलाई शुभकामना । यस वर्षको दीपावलीले तमाम नेपालीजनमा विवेकको प्रकाश भरिदेओस्, यही शुभकामना !