जनतालाई झुटो आश्वासन नदिने चौधरीको बाचा

जनतालाई झुटो आश्वासन नदिने चौधरीको बाचा


  • आरपी उपाध्याय, नवलपरासी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तिथिमिती नजिकिन थालेपछि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी कार्यक्रमलाई गति दिन थालेका छन् । पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा हुने प्रतिस्पर्धाले सबैको ध्यानाकर्षण हुन थालेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरी चुनावी मैदानमा उत्रेका छन् भने सोही क्षेत्रबाट उम्मेदवार रहेका जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठी र चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको उम्मेदवार चौधरीसँग सत्ता गठबन्धनका दलहरु साथ रहेका छन् भने त्रिपाठीलाई एमालेको बलियो समर्थन प्राप्त छ । पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा एमालेले आफ्नो उम्मेदवारी नगराएर त्रिपाठीलाई नै समर्थन गरेको छ ।

सो क्षेत्रमा दुई स्वतन्त्र उम्मेदवार अजय शाही र महेन्द्र सिंह ठकुरीले पनि प्रतिस्पर्धा गरिरहेका छन् । २०४८ सालदेखि २०७४ सालको निर्वाचनसम्म एक पटक मात्र पराजित भएका त्रिपाठी यसपटक आफ्नो निर्वाचन क्षेत्रको विरासत जोगाउन जोडबलका साथ चुनावी मैदानमा उत्रेका हुन् ।

उता काङ्ग्रेसका उम्मेदवार चौधरी आफूले झुटो आश्वासन नदिने, जनतालाई झुक्याउने खेलमा कदापि नजाने र विकासलाई आधार बनाइ उम्मेदवारी दिएको दाबी गरिरहेका छन् । नेपाली काङ्ग्रेस नवलपरासी संघीय क्षेत्र नं. १ का पालिका र वडाहरुमा कार्यकर्ता भेला र भेटघाट कार्यक्रममा पनि उम्मेदवार चौधरीले अब हुने निर्वाचनमा ढाँट्ने, झुटो बोल्नेको नभएर वास्तविक धरातलमा उभिएर राजनीति गर्नुपर्ने भएकोले आफुले उम्मेदवारी दिएको क्षेत्रअन्तर्गत गण्डकपीडितको समस्या उखु र केराखेती गर्ने किसानको पीडा, स्वदेशमै रोजगारीको अवस्था सृजना, बन्द रहेको प्रसौनी छोटी भन्सारलाइ सुचारु गर्नुपर्ने कार्यप्रति आफ्नो प्राथमिकता रहने बताएका छन् ।

क्षेत्रअन्तर्गत प्रतापपुर गाउँपालिकाको विभिन्न वडाहरुमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा चौधरीले उपरोक्त धारणा राखेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार देवकरण कलवार, समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ , काङ्ग्रेस जिल्ला सचिव उमेशचन्द्र यादव लगायत नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।