आमा !

आमा !


  • ई. गणेशराज वस्ती

आमा ! आमा ! हाम्री आमा !
धन्य हुन् हाम्री आमा !

नवै वर्षमा
गइ पराइघरमा !
बालिका न्यौपाने
बदलिइन् वस्ती थरमा !
कुना र काप्चामा पुगी
ती बिकट पहाडमा
न थिए टार कतै त
न थिए केही समथरमा !

आमा ! आमा ! हाम्री आमा !
धन्य हुन् हाम्री आमा !

विदेशिएका स्वामी
पछि लखेटिएर वन !
काङ्ग्रेसी भएकाले
डराएका तत्कालीन मन !
आगो लागेर
डढी गयो घर
ढिकी जाँतो गरी
बितेका थिए ती प्रहर !

आमा ! आमा ! हाम्री आमा !
धन्य हुन् हाम्री आमा !

क्यान्सर लागी स्वामीको
भइगयो निधन !
छत्तिस वटै वर्षमा
विधवा भएकी जन !
चारदेखि बीस वर्षका
सात जना छोराछोरी !
धानी दियौ परिवार
खेतीपाती गरी !

आमा ! आमा ! हाम्री आमा !
धन्य हुन् हाम्री आमा !

आज छन् छोराछोरी
ठिकठाक यस लोकमा
सहिन् धेरै कुरा त्यतिखेर
डुबे पनि दुःखमा, शोकमा !

आमा ! आमा ! हाम्री आमा !
धन्य हुन् हाम्री आमा !