समयको विरोधाभाषमा म र मेरो हजुरआमा

समयको विरोधाभाषमा म र मेरो हजुरआमा


मनोवाद/अनुभूति
  • डिल्ली अम्माई/बाग्लुङ्ग

जीवनको बारेमा सबैसँग आ-आफ्नै परिभाषा छ । मेरो सन्दर्भमा भन्ने हो भने जीवनसम्बन्धी मेरै परिभाषा छ मसँग । मेरो बुझाइमा, जीवन ऊर्जा र पदार्थको अन्तरसंघर्ष हो र भाव पक्ष भन्नाले शरीरमा रहेको पदार्थ र उर्जाबीच हुने अन्तरसंघर्षले पैदा गरेको विद्युतीय तरङ्ग । सम्झना भनेको तिनै तरङ्गहरूको गोदामघर (पावर हाउस)मा थन्क्याइएका सूचना-तरङ्गहरूको भण्डार । यो मेरो सोच्ने, चिन्तन गर्ने र आफूलाई बुझ्ने आफ्नै तरिका हो ।

चिन्तन प्रणालीले सोच्ने तरिकामा फरक पार्छ । पदार्थको सन्दर्भमा होस्, उर्जाको सन्दर्भमा होस् वा गति अर्थात् समयको सन्दर्भमा किन नहोस्, मेरा सोचाइ र मुल्याङ्कनका आफ्नै आयामहरू छन् । सम्झनामा तरङ्गको प्रभाव र सञ्चालन प्रक्रियालाई भौतिक रूपले कसरी व्याख्या गरिन्छ मलाई थाहा छैन । तर मानिसले आफ्नो भोगाइलाई पछिसम्म बचाएर राख्ने क्षमताको विकास गरेदेखि समयको गतिलाई अघि–पछि सार्न सक्ने भएको हो । मानिसको त्यो खुबीले नै चौथो आयाम अर्थात् समयलाई सम्झनाको समय यन्त्रद्वारा नियन्त्रण गर्न सक्ने बनाएको छ । त्यही कारण हामीले आफ्नो सम्झनाको कारण घटनालाई फरक पार्न नसके पनि समयका हरेक क्षणलाई आफूले भनेको ठाउँमा रोक्न सक्छौँ । समय यन्त्रको प्रभाव र प्रक्रियामा हाम्रो दिमागले सुरक्षित राखेको सम्झना अन्य घटनाहरूमा जस्तै हाम्रो पारिवारिक इतिहासका सन्दर्भमा पनि लागु हुन्छ ।

मेरो सन्दर्भमा भन्नुपर्दा, स्मरणमा जडित समय–यन्त्रले मेरो भुतकालको यात्रालाई हजुरआमानेर रोकिदिन्छ । कसैको समिप्याताको कुरा गर्दा वा परिवारभित्र शोकको कुरा गर्दा मेरो अन्तःस्करणले धेरै अगाडिबाट मलाई अघि पछि हुन दिँदैन । सङ्कल्पले मनको गतिलाई छिरलिनबाट रोकेझैँ हजुरआमाको कुलप्रज्ञाले म उहाँको पुस्ताबाट अघि-पछि हुनै सक्दिनँ । समययन्त्रभित्र म अझै बालक नै छु र प्रायः हजुरआमासँग खेलिरहेको हुन्छु । समय यन्त्रले तान्दै लैजाने क्रममा धेरै पटक समयलाई पचाइदिने त्यहि कालो छिद्रभित्र पुगेको छु ।

सबैलाई थाहा भएकै कुरा हो कि गतिको असिमितताले समय रोकिदिन्छ । गुरुत्वको असीमिततालाले पनि समय रोकिदिन्छ र उर्जाको असीमितताले पनि समय रोकिदिन्छ । यी सबै पदार्थका अन्तिम कारण र उर्जाका प्रथम कारण भएकोले सम्झनाको जन्म भएको हो । यी कुराहरू विज्ञानका विद्यार्थीहरू, अझ खगोलशास्त्रका विद्यार्थीहरूले सजिलै बुझ्छन् होला । यस मानेमा मेरो हजुरआमा पनि मेरो हिरण्यगर्भको क्षितिजमा स्थिर हुनुहुन्छ ।

निरन्तर जस्तै अहिले पनि मेरो समययन्त्रले अलिक अगाडि लिएर गैरहेको छ । म मेरो हजुरआमा पार्वतीको साथमा पुगिसकेको छु । विसं २०५३ मा विलुप्त हुनुभएको मेरी हजुरआमालाई सजीव देख्न दिमागमा भएको त्यही समय यन्त्रले मलाई सहयोग गर्दै आइरहेको छ ।

धानको बिउ काढ्ने बेलामा आफ्नै आवाजमा हजुरआमाले मलाई भन्नुहुन्थ्यो, ‘बाबु, तँलाई थाहा छ ? मेरा बुढा–ससुरा गोर्खाबाट आएका रे !’

‘आबुई ! मेरो हजुरबुबाको पनि हजुरबुबा है, रघुनाथ ? तपाईंले त देख्नुभएन नि उहाँलाई ?’ मेरो जिज्ञाशामा खुसी हुँदै हजुरआमाले भन्नुहुन्थ्यो, ‘बुढाससुरालाई कहाँबाट देख्नु नि ? उहाँ त ६८ वर्षको हुँदा खस्नु भएको अरे ! ससुरालाई चाहिँ देखेँ । धेरै बोल्नुहुन्थेन । उहाँका भाइ हुनुहुन्थ्यो । नयाँघरे सेतुका हजुरबा, कति जाती हुनुहुन्थ्यो कान्छो ससुरा !’

मेरो हजुरबुबाका बुबा र जेठो बुबा जम्मा तीन भाइ, जेठो बाजे लामा झाँक्रीमार्फत औषधिमुलो गर्दागर्दै सानैमा बित्नुभएछ । बाँचेका दुई भाइ (पदमपानी र गौरीश्वर)का सन्तान अझैसम्मको बंश निरन्तरतामा बगिरहेका छौँ । माहिलो अर्थात्हाम्रा बाजेतर्फका हजुरबुबाहरू क्रमशः (नरिश्वर, गंगाधर र मनिलाल) तीन भाइ, जेठो जिजुबातिर छ भाइ (पशुपति, बाला कृष्ण, कलाधर, चन्द्रदत्त, चंद्रिश्वर र देउपति) रहेछन् । जेठो जिबाको माइलो र राइलो छोरा भैँसी पाल्न बौतान जानु भएछ । त्यो समय यकिन रुपमा भन्न नसके पनि राणा कालको उत्तरार्ध अर्थात् १९७०÷८० को दशकतिर उहाँहरू बौतान गएको हुनुपर्छ ।

प्रत्यक्ष त मैले कुनै हजुरबालाई पनि देखिनँ । जेठी हजुरआमाबाहेक बनहूँ भएका अन्य हजुरआमाहरू सबै देखेँ । मैले हजुरआमाले बनाएको समय यन्त्रको माध्यमबाट मेरा दुवै बाजे समेत भेटेँ । हजुरआमा समय रोकेर मलाई मेरा दुई जना बाजे भेटाइदिने समययन्त्र बन्नुभयो त्यतिखेर । मेरो बाजेको बुबा अथवा मेरो जिजुबुबाका धेरै आनीबानीबारे पनि हजुरआमाले बेलिबिस्तार गर्नुभयो । पुस्ता हस्तान्तरण हुँदै आएका धेरै कुरा मेरो हजुरआमाले मलाई दिएका अविस्मरणीय उपहार हुन् । मलाई हजुरआमाले भनेका एक एक कुराको अझै आज जस्तै याद छ ।

‘तँलाई थाहा छ ? तेरो बाजे अर्थात् मेरो ससुरा एकपटक बेस्सरी लोट्नुभयो निभारे घर ! सोत्तरको भारीसँग भएकोले बढी मर्का पर्यो । त्योबेला अहिलेको जस्तो औषधिमुलो थिएन बाइ ! थलिएर घाउमा किरा पर्थे, त्यही घरको जडीबुटी हो, भए भयो नभए मर्ने त हो ।’

मेरो बाजेको त्यो अवस्थाले मलाई मर्माहत बनायो ।

मेरो बंशको गणना र अघिल्ला पुस्ताको लागि समय अझैसम्म रोकिएको छ, हजुरआमाले धानको बिउ उखेल्दै समययन्त्रमार्फत मलाई भन्नुहुँदै थियो, ‘बाबु, तेरो हजुरबा बित्दा तँ जन्मेकै थिइनस् । बुढा बितेको तीन वर्षपछि जन्मेको होस् तँ गुहाटीमा । एउटा नाति देख्ने धोको थियो तेरो हजुरबाको !’

‘हजुरबाको धोको पुरा गर्न म किन छिटो नजन्मे हुँला ?’ म आफैलाई थाहा छैन । हजुरआमाको मुखबाट अम्माईको दमेकमा पुस्ता गनिँदैनथ्यो, परिवार संख्या मात्र गनिन्थ्यो । मैले पनि पुस्ता गनिनँ । किनकि म हजुरआमाकै कथा सुनेर, वंशजका तथ्यगत अनुभूतिले हुर्केको केटा । मलाई आनन्द दाइ, डिल्ली दाइ र रामे दाइमा कत्ति फरक लाग्दैन ।

सानो परिवार, नेपाल तीर्थबाट दमेक फर्कंदा गोर्खाको गाउँबाट बनहूँका जिम्माल र हाडेका मुखियाको पछि लागेर आएका हाम्रा बाजे सेराबाट बनहूँ आए । हाडेतर्फ लागेको भए हामी जन्मिने थिएनौँ होला । बनहूँ जिम्मालको पछि लाग्नाले हामी जन्मियौँ । दयालु जिम्मालले आफ्नै छोरी विवाह गरीदिएर हाम्रो सृष्टिको बाटो खोलिदिए । त्यसैले जिम्माल हाम्रो कुलका देवता हुन् भन्ने लाग्छ मलाई । उनि हाम्रा जिजुमावली मात्र नभएर बनहूँमा अम्माइहरूका प्रथम पुजनीय जीवनदाता पनि हुन् ।

विक्रम सम्वत् १९१७ तिर छोरा र छोरीलाई बराबर अंश दिएर हाम्रा जिजुलाई सम्पत्तिको मालिक बनाउने जिम्मालहजुरबुबा कति उदार चित्त भएका मानिस हुनुहुन्थ्यो होला ? अहिले त छोरीलाई अंश दिने मानिसलाई समानतावादी भनिन्छ भने त्योबेला उहाँको प्रख्याति पक्कै सबैतिर फैलिएको थियो होला । मकैबारीको गैह्रीखेत, घोडेधुङ्गा, पत्ल्यानी हामीलाई अंशमा दिएको, बनहूँको सबै जग्गा जिम्माल मामा–हजुरबाले छोरीलाई अंशमा दिएको । अझै छन् ती जमिनमा हाम्रा हजुरबा र बाजेहरूका पौरखका चिन्ह र सुस्केराहरू ।

पोहर एक जना हाम्रै सगोत्री भाइले सोधे, ‘दाइ, हामी कति पुस्ता हो र ? खाल्लिका दाई बित्दा हामीले नुन बार्नुपर्छ र ?’

मैले धेरै भनिनँ, ‘भाइ, नुन बार्नु संस्कार मात्र हो, मन लागे नुन खाउ मन नलागे नखाउ । त्यसले कसैलाई मर्का पार्दैन, असर पनि गर्दैन । आफन्तको मृत्युमा आत्मालाई करुणाले भिजाउनु र मृतात्माको चीरशान्तिको कामना गर्नु अर्को कुरा हो । नुनलाई मैले त्यति महत्त्व दिन्नँ । महत्त्वपूर्ण कुरा भावनाको हो । त्यसको पवित्रताको कुरा हो । मैले हाम्रो दाजुको सम्बन्ध गणना गर्दा हजुरआमाको समयबाट गणना गर्छु । यसको मतलब मलाई हाम्रो वंशजका धेरै कुरा हजुरआमाले दिनुभएको हो । त्यसैले मेरो समययन्त्र हजुरआमाको समयपछि स्थिर छ । हाम्रा बाजेका ससुराबुबा अर्थात् जिम्माल मामा हजुरबा मेरो हजुरआमाका बुढाससुरा हुन् । डिल्लीदाजु मेरो बाजेका भाइका सन्तति हामी दाइका सन्तति । हामी दुई भाइका सन्तान हौँ, कुरो बुझ् ।’

म आफ्नो समययन्त्र त्योभन्दा अगाडि ल्याउन चाहन्नँ । किनकि समय चलायमान बनाएर आफन्त पर धकेल्दा मलाई कता–कता आत्मीयबोधले चिमोट्छ । मेरा अग्रज आफन्तबारेका सबै जानकारीको स्रोत मेरो हजुरआमा हो । २०५३ सालमा बित्नुभएकी मेरी हजुरआमाले मलाई दिएको त्यही वंशगत जानकारीको उपहारले म धनी छु । अहिलेसम्म मैले मेरो वंश गणना गर्दा हजुरआमालाई जीवन्त देख्दछु र अङ्कहरूको बीचमा उभिएर उहाँले मलाई सँधै खबरदारी गरेको पाउँछु । त्यसैले त्योभन्दा पछाडिको समय गन्दा मेरो अगाडिको उज्यालो र मेरी हजुरआमा बिलाएर जानुहुन्छ । समयको विरोधाभाषमा मैले मेरी हजुरआमालाई कदापि गुमाउन चाहन्नँ । मेरी हजुरआमाको स्मृति मबाट गुम्नु भनेको मेरो मृत्यु हो ।’ अस्तु !