अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको सुनकको प्रष्टोक्ति

अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको सुनकको प्रष्टोक्ति


बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजा चार्ल्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि उनबाट सरकार गठनको आह्वानपश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी समेत दिए ।

‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ’, प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने ।

प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत नभएको तर त्यसमा गल्ती भएको औंल्याए । आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलरको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै उनले अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको तर्क गरे । आर्थिक स्थायित्व नै आफ्नो सरकारको पहिलो प्राथमिकता भएको उनले दोहोऱ्याए ।