मध्यरातमा प्रहरीचौकी पुग्दा

मध्यरातमा प्रहरीचौकी पुग्दा


प्राय: हामी आफ्नो देशमा भएका संयन्त्रहरूको आलोचना गर्र्छौं, अरू देशमा भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भनेर गुनासो गर्र्छौं । जब मुलुकबाहिर पुगिन्छ कतिपय कुरालाई लिएर भन्न मन लाग्छ, ‘ओहो यहाँभन्दा त हाम्रै देशमा राम्रो नि !’ हामी नै ठीक, हामीले गरेका काम नै राम्रा, हाम्रै मान्छे सकारात्मकजस्ता लाग्ने धेरै अनुभव छन् । शान्तिसुरक्षासँग सम्बन्धित कति कुरामा हामी प्रहरीको अनुसन्धानलाई लिएर सन्तुष्ट हुँदैनौँ र प्रहरीले यो गरेन त्यो गरेन भन्छौँ । तर, यसपटक थाइल्यान्डको राजधानी बैंककमा भएको एउटा घटनाले ‘नेपालको प्रहरी प्रशासन त कति राम्रो, कति सकारात्मक, धेरै छिटो, हामी नै राम्रा’ भन्ने कुरा महसुस गरायो । राति १२ बजे प्रहरीचौकीमा पुग्दा प्रहरीबाट खासै वास्तै नगरी भोलितिर हेरौँला भन्ने जवाफ मात्र दिइएन सम्बन्धित अपराधीलाई खोजेर जिम्मा लगाए आफूहरू त्यसमा कारबाही गर्न पछि नपर्ने जानकारीसमेत दिइयो । अपराधीलाई आफैंले पक्रन सके मानिस किन प्रहरीचौकी पुग्छन् र ? हाम्रा प्रहरीचौकीमा विदेशी महिलामध्ये रातमा कुनै कुराको उजुरी लिएर गए त्यसबारे कम्तीमा के भएको रहेछ भनेर रुचिपूर्वक जिज्ञासा राखिन्छ । त्यसपछि के गर्ने भन्नेबारे पनि प्रहरीबाट सल्लाह पाउन गाह्रो हुँदैन । अनुसन्धानको प्रक्रिया पनि हामीकहाँ राम्रो छ । त्यहाँ त प्रहरीहरूले उजुरी गर्न आएका मानिसलाई वास्तै गरेका थिएनन् । विदेशी मात्र नभएर थाईहरू नै पनि विभिन्न घटना लिएर त्यहाँ पुगेका थिए, उनीहरूले पनि प्रहरीबाट खासै ‘रेस्पोन्स’ पाइरहेका थिएनन् । ड्रग, झगडा यस्तै प्रकारका घटना लिएर मानिस त्यहाँ पुगेको देखिन्थ्यो ।
कहिलेकाहीँ यात्रा र जीवन उस्तै लाग्छ, कतिबेला के हुन्छ भन्नै सकिन्न । अनपेक्षित घटना हुन सक्ने भएकाले प्राय: म जीवनलाई यात्रासँग तुलना गर्ने गर्छु, यसपटकको बैंकक यात्रामा त्यस्तै घटना भयो जसले जीवनमा एउटा अनुुभव नै दिलायो भन्नुपर्ला । बैंककमा हुने महिला र सुरक्षासँग सम्बन्धित कार्यक्रममा भाग लिनका लागि यही माघ १९ गते बिहीबार हामी बैंकक आइपुग्यौँ । साथमा थिए साथीहरू लिली थापा, पिंकी सिंह राणा, सगुन बस्नेत, हुस्ना बानु, राधा पौडेल र अम्बिका पोख्रेल । साँझ होटेल पुगेपछि खाना खानका लागि राधा र हुस्नाबाहेक पाँचजना होटेलको ठीक अगाडि रहेको म्यागडोल्समा गयौँ । लाइनमा बसिरहेका बेला दुईजना केटा आएर हामीसँग बैंककमा मलेसियन पैसा चल्छ कि चल्दैन भनेर सोधे । आफूहरूलाई थाहा नभएकाले काउन्टरमा सोध्नुस् भन्ने जवाफ दिएपछि दुईमध्येको एकले यिनीहरूले भाषा बुझ्दैनन्, तपाईं सोधिदिनुस् न भनेर हामीमध्येकै एकजना साथीलाई भने । उनले काउन्टरमा सोध्दा चल्दैन भन्ने जवाफ पाइन् र उसलाई बताइन् पनि । त्यसैबीच खानेकुरा लिएर हिँड्दै गरेकी अर्की साथीको ‘ट्रे’मा धक्का दिएर ती दुईमध्येको अर्को व्यक्ति अघि बढ्यो, के गरेको भन्दै साथीहरू ऊसँग ठूलो स्वरमा कुरा गर्न थाले । त्यसैबीच अर्कोले लाइनमा बसेर काउन्टरमा पैसा तिर्दै गरेकी साथीलाई के-के कुरा गरेर अल्मल्याइरहेको थियो, तिनले ‘इग्नोर’ गर्दागर्दै त्यसले उनको हातमा रहेको पर्सबाट केही अमेरिकन डलर निकाल्यो । एइ के गरेको ? भनेर उनले कराएपछि होइन मसँग भएको पैसा र यो पैसामा के फरक रहेछ भनेर चेक मात्र गरेको, यो पैसा राखे हुन्छ भनेर पर्समै राखिदियो । ‘वाइयात’ भन्दै उनी त्यो मान्छेसँग रिसाउन थालिन् । त्यो भने धन्यवाद भनेर खाना पोखिएकी साथीका अगाडि एक डलर राखिदिएर हिँड्यो । तुरुन्तै तिनीहरू त्यहाँबाट गायव भए, खाना टेबुलमा राखेपछि पैसा गन्दा त ती साथीको ६ सय अमेरिकन डलर लुटिइसकेको रहेछ । सार्वजनिकस्थलमा सबै मानिसका अगाडि यति सजिलै तिनीहरूले पैसा लुटे कि हामी अकमक्क भयौँ । पछि त्यहाँको सीसी टीभीमा हेर्दा उसले पर्सबाट पैसा निकालेको र राखेको स्पष्टै देखियो, होटलमा आएर पाँचतारे होटल हो केही गर्न सक्ला कि भनेर कुरा गर्‍यौँ । उनीहरूले एक मात्र उपाय प्रहरीमा रिपोर्ट लेखाउने बताउँदै त्यसका लागि होटलको सुरक्षाकर्मीलाई साथ लगाएर पठाउन सक्ने बताए । सब गर्दा करिब रातिको १२ बजेको थियो, त्यसपछि ती चोरलाई पक्रन प्रहरीले मद्दत गर्छ कि भनेर होटलका सुरक्षाकर्मीका साथ हामी बैंककको पर्तुनामस्थित प्रहरीचौकी पुगेका थियौँ ।
विश्वकै चर्चित पर्यटनस्थल थाइल्यान्डको बैंककमा विदेशीहरूका लागि सबैभन्दा ठूलो समस्या भाषा नै हो । प्रहरीचौकीमा ‘पुलिस स्टेसन’बाहेक अरू कुनै पनि कुरा अङ्ग्रेजीमा लेखिएको थिएन, अफिसरहरू पनि थाई मात्रै बोल्ने, के भएको हो भनेर बुझाउनै गाह्रो । बल्लतल्ल अनेक गरेर जब घटनाबारे बुझाइयो उनीहरूको ‘रेस्पोन्स’ झनै कम भयो, कारण- त्यस्ता चोरीका घटना त त्यहाँ कति हुँदा रहेछन् कति । व्यावसायिक चोरहरूको सङ्ख्या यति धेरै रहेछ कि उनीहरूले चोर्नका लागि अनेक रणनीति अपनाउँदा रहेछन् । ठूला र व्यस्त सहरहरूको सबैभन्दा नराम्रो पक्ष नै विभिन्न अपराधमा वृद्धि हो । अमेरिकाको न्युयोर्कमा महिला प्राय: ब्याग अन्य स्थानमा झैं सामान्य रूपले काँधमा झुन्डाएर हिँड्दैनन्, काँधमा झुन्ड्याई अगाडि च्यापेर हिँड्छन् । बैंकक घटनामा प्रहरीले ‘ए, के-के नै भयो होला भनेको त जाबो पर्सबाट पैसा पो चोरिएको रहेछ’को शैलीमा व्यवहार गरेको भए पनि हामीले तिनलाई यो घटनामा अनुसन्धान नगरी धरै दिएनौँ । केही अधिकृतहरू बाध्य भएर म्यागडोल्स पुगे (जहाँबाट पैसा हराएको थियो) सीसीटीभी हेरे र फर्किए । यी सब कुरा गर्दा बिहानको दुई बजेको थियो । त्यसपछि प्रहरीले कुनै ‘फलोअप’ गरेन । हामीले कुरा गर्‍यौँ, हामीकहाँ भए कम्तीमा केही पाकेटमारहरूको तस्बिर देखाएर भए पनि यिनीहरू हुन् कि भनेर प्रहरीले सोध्ने थियो होला, सम्बन्धित व्यक्तिलाई हेर्दै भन्ने थिए होला- मुलुकबाहिर रहेको बेला पहिलो दिनमै पैसा हराउँदा तपाईंलाई कति अप्ठ्योरो भएको होला भन्ने कुरा हामी बुझ्न सक्छौँ, नआत्तिनुस् हामी तिनीहरूलाई खोज्न कोसिस गर्नेछौँ । तर, त्यसप्रकारका कुनै शब्द उनीहरूले व्यक्त गरेनन् न त हामी यतिसम्मचाहिँ गर्न सक्छौँ नै भने । यो घटनाले बाहिर हिँड्दा कोही मानिसले बोल्न खोज्यो भने पनि शङ्का गर्नुपर्नेदेखि लिएर धेरै कुरामा ध्यान दिनुपर्ने कुराको पाठ मात्र सिकाएको छैन, हाम्रो मुलुकमा अन्य मुलुकभन्दा राम्रा धेरै कुराहरू छन् जसलाई हामीले गौरव गर्न सकेका छैनौँ भन्ने कुराको आत्मसात् पनि गराएको छ ।