बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते


  • विकास रौनियार, धादिङ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति १० बजे काठमाडौंबाट सिराहा जाँदै गरेको बा.प्र. ३ ००१ ख ०७२२ नंं।को यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं. ७ स्थित खेस्टेखोला पुलनजिकै विपरित दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नंं.को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नंं. ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का सोही स्थानका ३४ वर्षीय रमेश लामा घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पुर्णरुपमा क्षतिग्रस्त भएको छ । आगो नियन्त्रणका लागि धुनिबेशी नगरपालिकाको दमकल प्रयोग भएको थियो । बसमा लागेको आगो नियन्त्रणमा आएलगत्तै गएरातिबाटै दुईतर्फी सडक संचालमा आएको छ ।