सम्झनामा त्यो त्याओर (तिहार)

सम्झनामा त्यो त्याओर (तिहार)


  • डिल्ली अम्माई

‘टीकाको दिन आइसको, बिहुँबाट साइँली भोली आउँचे । म पनि दराउँदी भाइलाई टीका लगाउन जान पर्च, कोदो झरेर गइसको’, हाम्री आँओइ (हजुरआमा) ढिकीमा भिजाएका चावल कुट्दै गन्गनाउन थाल्नुहुन्थ्यो ।

‘क्यार्नी तोनि आँ ओई, गर्दागर्दै नभ्याइनीलाई’, हाम्री आमा त्यो भन्दा धेरै बोल्नुहुन्नथ्यो ।

चाडबाड रनकमा हाम्रो दमेक मग्न थियो । उपल्ला जिम्मालाको घरतिर साइत सोध्न जानेको धुइरो हुन्थ्यो । गाइतिहारको दिन बाले धुपधुँआर सकेर मलाई उपल्ला जिम्मालकहाँ गाईलाई पिणो ख्वाएर पन्चामृतको लागि गाईको दुध लिन पठाउँथे । अन्त कतै गाई पाल्ने चलन थिएन । नएघर कान्छाबाको गाई थारिएको थियो कि निभारे गोठ सरेको थियो थाह भएन ।

पुजा सकेर हाम्रा बाले गौवाको बिर्को र रयालेको चावलको पिठो दिँदै आदेश दिन्थे- ‘जा नानी गोठका सबै भैंसीको जिउ र निधारमा पिठाको छप्पा लगाएर आइज ।’ मैले हाम्रो दुवै भैंसी र पाडीको निधारदेखि फिर्पातासम्म दश छप्पा लगाएर आउँथेँ । बाको र मेरो लक्ष्मी पुजा सकिन्थ्यो ।

गोरु तिहारको दिन काम कति हुन्थ्यो भनेर साध्य नै हुन्थेन । बहिनीहरूले आमा र हजुरआमालाई सघाउने, आमाले भिजाएका चामल कुट्ने, पिठो छिन्कने, पकाउने, काम त कति हो कति । त्यो दिन बेलुकाको कामबारे के कुरा गर्नु, दराउँदी लैजाने घुमाउनी रोटी अलग्गै, आमाले छहरा मामाघर लैजाने घुमाउनी र पुरी रोटी अलग्गै, भैलोलाई दिने, घर खाने अलग्गै ।

‘अलिकति मकैको पिठो मिसाएसी रोटी कमला हुन्छन्, भाइहरूका दाँत झरिसके’, आँओईको बेग्लै रोइलो हुन्थ्यो । हाम्रा सबै कामको बाँडफाँड बाले गर्नुहुन्थ्यो ।

मैले दुहुनी घाँस काट्ने, बहिनीले फूल टिप्नी, माला उन्नि, गोठमा गोबर घाँसपानी गर्नी, पानी बोक्ने, बा निभारे हरियो मकैका डाठ र ढुडिएमुनिबाट मुड्कुलो लिएर आउनुहुन्थ्यो । आमा र आँओईले पिठो कुट्ने रोटी हाल्ने र पहेँला छिप्पिएका काँक्राको अचार बनाउने ! कामको बोझले थलापर्थ्यो हाम्रो गोरुत्याओर !

गोरुत्याओरको बिहानै आमा र आँओईको गनगन सुन्न छोडेर म बिहानै बसिनी दुहुनी घाँस काट्न निस्कन्थे । ‘पर्खि तो एउछिन नानी ! चन्द्री पनि जान्छे, तल्तिर बाटुली पनि जानी भनिच्चे, सँगै जाओ’, हाम्रा कान्छाबाले बिँडीको ठेट्नो पुत्ताउँदै मलाई रोक्नुहुन्थ्यो ।

‘कान्छाबा आँसी उधाई दिनुस्न, मलाई आउन्न’ हाम्रा जाति कान्छाबाले आँसी उधिन ढुंगामा घोट्न थाल्नुहुन्थ्यो । कान्छाबाको एउटा भैँसी मिठाउरे भएकोले दुधेखर र बडहरको घाँसमा मात्रै पग्रन्थ्यो । बसिनीको खरबारीमा खर पलाइरहने भएकोले चन्द्री बहिनीले दिनदिनै बसिनी र घोडेढुंगा पुगेर घाँस ल्याउथिन् । फुर्सद हुँदा कान्छियाँ पनि जानुहुन्थ्यो । सबैको सँगै खरबारी भएकोले पुछारका कान्छाबाकी छोरी बाटुलीदिदी र माकुरीदिदी खाङ्ग्रे डोको बोकेर आइपुग्थे । चन्द्री बैनीको मत्रोमा कान्छियाँले बेलुका हालेका ठुन्काठुन्की भाँच्चिएका घुमाउनी रोटी बाँधीदिनुहुन्थ्यो । उमेरअनसारका डोका बोकेर चार जना उक्लन्थ्यौँ बसेनीतिर ।

बैनीको भारी नपुगे मैले काटी लाउने, मेरो डोको नभरिए चन्द्री बहिनीले काटी लाउने । पाखा रन्काउने गरि गीत गाउने माकुरी र बाटुलीदिदीले ‘भारि बोक, जाम’ भनेर बोलाएपछि हामी घाँसको डोको बोकेर बनहूँ झरिन्थ्यो । अहा दिदीहरूले त्यो बेला गाउने ‘पानी सलल’ भाकाको गीत अझै याद छ मलाई ।

लगेका रोटी, काँचो चावल, भाओ, भट्ट र मकै बाँडेर खाइन्थ्यो । घर आएर फेरि घोडेढुंगाबाट घाँस ल्याउँथ्यँ । घाँसमाथि झिँजा दाउराको मुठो । बेलुकासम्म बाले भनेको सबै काम सकेर पैरामा पिङ खेल्न जान्थ्यौँ । पिङ खेल्न पनि खाली भएको बेला मौका कुर्न पर्नी । ठुला मान्छे भएसम्म हामीले पालो पाइन्नथ्यो । ठुलाले सानोलाई हेप्ने चलन त्यो बेला पनि थियो । त्यसैले आफू छिट्टै ठुलो नभएकोमा आफैसँग बेसरी रिस पनि उठ्थ्यो ।

‘यहाँ हाम्लाई पिङ खेलाउन्नन् नानी, जाम कोलउप्री चमच्चा खेल्न’- आँओई र बाहरूले आनन्द दाइलाई नानी भन्ने भएकोले मैले पनि नानी भन्थेँ । ‘पैराका सेते जेठाबा आए भने केटारीलाई पनि खेलाइदिन्चन्, पर्खि !’ नएघर नानीदाइ (आनन्द)को आदेश मान्दै अलिकति खेल्ने आशले हामी केटारी पिङ कुरेर बसिन्थ्यो । कहिले खेलाइदिने मुन्छे आउँथे, खेलिन्थ्यो भने कहिले पिङ हेरेर घर पÞmर्कन्थ्यौँ ।

मलाई हाम्री आँओईले ‘बाबु’ भनेर बोलाउनु हुन्थ्यो भने बा-आमादेखि हाम्रा ठुलाबा, काकाकाकी, दाजु सबैले नानी भनेर सम्बोधन गर्थे । प्रेम दाइ, रामे दाइ, ऋषि मामा, चित्र भिनाजु र गाउँका सबै ठुलाबडा मिलेर पैरामा बनाएको लठे पिङ खेल्न हामी दशैँदेखि नै फुत्के पैरामा पुग्थ्यौँ ।

तिहारको दिनलाई हामीले घाँस पुऱ्याएकोले धेरै काम हुन्थेन । साहिँली फुपू, ठुली फुपू र माहिली फुपुहरू खत्र्यांखुत्रुङ कोसेली लिएर तिहारको बिहान नै जेठाबा, हाम्रा बा र कान्छाबालाई टीका लाउन आउँथे । हामीलाई टीका लगाइदिन बहिनीहरूलाई सिकाइदिन्थे । बाले पाँच–पाँच रुपियाँ दिएर त्यो पैसा बहिनीलाई दिन लगाउनुहुन्थ्यो । बाहरूले फुपुहरूलाई अलिक बढी पैसा दिनुहुन्थ्यो ।

टीकाटालो सकिएपछि थालभरि घुमाउनी रोटी र छिप्पिएका काँक्राको अचार, कति रमाइलो हुन्थ्यो भाइतिहार । खाइसकेपछि दोहोरा माला र शिरमा पगरी माला समेतमा ठाँटिएर हामी दिदीबहिनीसहित भैली खेल्न निस्कँन्थेउँ । भैलो पनि घर रोजेर, धेरै दिने जस्ताकहाँ पहिला जान्थ्यौँ, अलिक नदिनेकहाँ पछि । गाउँभरि डुलेर १२ रुपैयाँ भयो भने फुरमान ! रोटीपुरी र चामल भट्याउनेलाई बढी अरुलाई बराबरी ।

तिहारको राति एक बजेतिर उठेको पैसा र चावल बाँडेपछि हाम्रो भैलो पनि सकिन्थ्यो र त्याओर पनि सकिन्थ्यो । बचेखुचेको त्याओर हजुरआमा र आमा मावलीबाट फर्केपछि झोलाभित्र ल्याएको कोशेलीसँगै अलिक पछिसम्म रहन्थ्यो । पैराको पिङ भने दशैँ र तिहारको सम्झना गराउँदै ठुली एकादसीसम्म त्यहीँ झुन्डिएको हुन्थ्यो ।