जङ्गलभन्दा टेबुल किन भयो जटिल ?

जङ्गलभन्दा टेबुल किन भयो जटिल ?


जङ्गलको युद्धभन्दा टेबुलको लडाइँ आफ्ना लागि कठिन बन्न पुगेको अभिव्यक्ति माओवादी कमाण्डर प्रचण्डले सार्वजनिक गरेका छन् । दश वर्ष सशस्त्र युद्ध गरेर शान्तिको बाटो अङ्गालेको भ्रम दिँदै सत्ताको यात्रासमेत सम्पन्न गरेका र मुलुककै एकछत्र नेताका रूपमा आफैंलाई हेर्न थालेका प्रचण्डजस्ता चतुर व्यक्तिबाट यस्तो थकित अभिव्यक्ति आउनुलाई अनेक आयामबाट अर्थ्याउन सकिन्छ । यसबाट मूलत: उनी आफ्ना लडाकु कार्यकर्तालाई अझै अल्मल्याउने चाल चल्दै छन् भन्ने सन्देश मिल्छ । आफू सत्तासीन दलको सर्वशक्तिमान सर्वोच्च नेताका रूपमा चामत्कारिक हिसाबले टिकिरहे पनि देश, जनता र आफ्नै कार्यकर्ता मात्रलाई पनि सन्तुष्ट तुल्याउने कुनै चमत्कार गर्न नसकेको आत्मबोध उनलाई भएको छ । र, यसैका कारण कार्यकर्ताको कोपभाजनमा पर्ने आशङ्काले प्रचण्डलाई भित्रभित्रै सताइरहेको छ । यही सम्भावित खतरा र्टार्नका लागि आफ्ना सीधासाधा-एकोहोरा कार्यकर्तासँग प्रचण्ड जनयुद्धको कथा झिकेर रिफ्रेस तुल्याउने र बन्दुकसहितको मैदाने लडाइँ आज टेबुलमा आइपुग्दा झन् जटिल भएको गफ गरेर बालक फकाएझैँ उनीहरूलाई भुलाउने चाल चल्दै छन् । आफू निकम्मा हुनुको दोष प्रचण्ड पूरापूर अन्यत्रै वा अरूहरूकै टाउकामा बिसाउन खोजिरहेछन् । भनिन्छ, प्रचण्ड कुनै मानेमा सफल छन् भने यस्तै तिकडमबाजीका लागि मात्र सफल छन्, जुन क्षमता नेपालजस्तो मुलुकमा कसैलाई लोकप्रिय नेताको पगरी गुथाउन काफी छ ।
तरबार र कलममध्ये कुन शक्तिशाली भन्ने वादविवादमा जुन पक्षमा वकालत गरे पनि यथार्थमा कलम कति बलवान् हुन्छ भन्ने तत्त्वज्ञान प्रचण्डलाई नहोला भन्नु अतिरञ्जना ठहरिनेछ । यसरी कलमको महत्त्व बुझ्ने कुनै पनि विवेकी व्यक्तिले टेबुलको लडाइँलाई पक्कै पनि सजिलो रूपमा परिभाषित गर्दैन । तथापि, अनुभव, चिन्तन र सोचशैलीकै आधारमा पनि जङ्गलको युद्ध प्रचण्डलाई सहज लाग्नु स्वाभाविक छ । तर, यतिबेला आमतहमा यो जिज्ञासा जाग्नु पनि स्वाभाविक नै हुन आउँछ कि आखिर शान्तिप्रक्रियाको पाँच वर्षपछि प्रचण्ड किन टेबुल वर्कसँग तर्संदै छन् ? कतै शान्ति स्थापना र संविधानलेखन कार्यबाट उनी साँच्चै तर्कने ताकमा त छैनन् ? टेबुलको लडाइँ कठिन बन्न पुगेको प्रचण्ड-अभिव्यक्तिको अर्को एउटा पाटो यो पनि हो । प्रचण्डको दृष्टिमा काङ्ग्रेसले माओवादीलाई चौतर्फी रूपमा घेरा हाल्दै छ । उनका अनुसार काङ्ग्रेस आफैं शान्ति र संविधान चाहँदैन र त्यो दोष माओवादीको थाप्लोमा थोपर्ने चेष्टा गरिरहेछ । यसैले प्रचण्डलाई हैरान तुल्याएको छ । मानौँ कि काङ्ग्रेस नामको पार्टी मात्र नहुँदो हो त प्रचण्डले विकासको बाँध बाँधिसक्थे, सुखको सागर फैलाइसक्थे, नेपाललाई समृद्धिको शिखर चढाइसक्थे ! यसका लागि बाधक फगत काङ्ग्रेस बनिरहेको छ- प्रचण्डको अभिव्यक्तिमा झल्किने आशय यही नै हो । यस्तै-यस्तै झुटहरूलाई निकै कलात्मक रूपमा कार्यकर्तासामु प्रस्तुत गरेर प्रचण्डले पार्टीमा आफ्नो स्थान जोगाउँदै आए पनि आमजनताले त उनको छवि अर्कै देख्न थालिसके । होइन भने प्रचण्डले नेतृत्व गरेको एकीकृत नेकपा माओवादीजस्तो चुस्त, क्रान्तिकारी-अग्रगमनकारी पार्टीलाई चारैतिरबाट घेरा हालेर बाटो छेक्न सक्ने अक्कल र औकात भएको कुन माइकालाल पैदा भएछ नेपाली काङ्ग्रेस पार्टीभित्र ? र, प्रचण्डको यो औतारी बोलीमा विश्वास कसरी गरिरहेछन् माओवादीका होनहार कार्यकर्ताहरू ? !
तर, प्रचण्डले चुरोदेखि बुझेर बोले या परिबन्दवश बोले- टेबुलको लडाइँ जङ्गलको युद्धभन्दा कठिन बनिरहेछ ! हो, बन्दुकको बलमा निहत्थालाई लतार्ने कर्मको तुलनामा कलममार्फत देश र जनताको भाग्य कोर्ने कार्य निश्चय नै कठिन हुन्छ । सहमतिको पालना, इमानदारी र निष्ठाका साथ जनताको हृदय जित्ने काम जङ्गलमा बित्था पसिना बगाउनभन्दा कठिन पर्ने तत्त्वबोध भएकै हो भने बन्दुकको मोह त्यागेर शान्ति र संविधानको कलम पक्रने साहस गर्नुपर्छ अब प्रचण्डले । आफ्नो उचाइमा अरू कुनै नेता मुलुकमा नरहेको भ्रमलाई यथार्थमा बदल्नकै लागि पनि उनले अब आलटाल र काइते कुरा गर्न छोड्नैपर्छ । भ्रमको भूमरीबाट सोझा र इमानदार माओवादी कार्यकर्ताको उद्धारकै निम्ति पनि प्रचण्डले शान्तिप्रक्रिया र संविधानलेखन कार्यलाई पूर्णता दिने दायित्व निर्वाह गर्नैपर्छ ।