वाईसीएलको बिचल्ली, कठोर प्रतिरोधको तयारी

वाईसीएलको बिचल्ली, कठोर प्रतिरोधको तयारी


क्रान्तिलाई पूर्णता दिनका निम्ति निर्णायक युद्व लड्नुपर्छ भन्दै वाईसीएलको रूपमा बाहिर ल्याएर राखिएका माओवादी लडाकुहरूले आफ्नो भविष्यमाथि गम्भीर खेलवाड भएको भन्दै कठोर सङ्घर्षमा उत्रने तयारी गरिरहेका छन् । ०६३ सालमा बृहत् शान्तिसम्झौता भएपछि युद्धको अनुभव नै नभएकाहरूलाई बटुली साढे तीस हजारभन्दा बढी सङ्ख्या पुर्‍याएर तिनलाई माओवादी लडाकुको नाम दिई मुलुकभर विभिन्न सात डिभिजन बनाएर राखिएको थियो । फौजी चरित्र बोकेका राजनीतिक सङ्गठन भन्ने परिभाषा गर्दै दशवर्षे युद्धमा सक्रिय सहभागी रहेका वास्तविक लडाकुलाई चाहिँ वाईसीएल नामकरण गरी देशका विभिन्न स्थानमा अर्धसैन्य ब्यारेक बनाएर राखिएको थियो । यसरी राखिएका वाईसीएलले नयाँ युवाहरूलाई आफ्नो सङ्गठनमा भर्ना लिने र सैन्य तालिमका लागि क्यान्टोनमेन्टभित्र पठाउने कार्य गर्दै आएको थियो । उनीहरूले आफ्नो सङ्गठनमा आबद्धता जनाउनेहरूको सङ्ख्या देशभरिमा झण्डै डेढ लाख पुर्‍याएका थिए । उनीहरूले गरेको कार्य र पार्टीप्रतिको वफादारीलाई नेतृत्वले निकै प्रशंसा पनि गरेको थियो । तर, यतिबेला उनीहरू ? वाईसीएल)को भूमिकाको कुनै चर्चा नगरी लडाकुलाई राष्ट्रिय सेनाको जागिर र कतिलाई एकमुष्ट रकम दिएर घर फर्काउने क्रम सुरु हुँदा वाईसीएलमा आबद्ध लडाकुहरू भने बिचल्लीमा परेका छन् ।
बितेका डेढ वर्षयता पार्टीबाट कुनै प्रकारको आर्थिक सहयोग नपाएपछि त्यसै पनि क्रूद्ध बनेका उनीहरूले अहिले आएर आफूमाथि नेतृत्वबाट गम्भीर धोखा भएको महसुस गरेका छन् । त्यसैले वाईसीएलको रूपमा रहेका पीडित लडाकुहरू सङ्गठित प्रतिरोधमा जुट्ने तयारीमा लागेका हुन् । उनीहरूले लडाकुको प्रमाणपत्र तत्काल उपलब्ध गराइनुपर्ने, जनमुक्ति सेनासरह हैसियत र सुविधा दिइनुपर्ने, जनमुक्ति सेना र वाईसीएलको सङ्गठनलाई समेत समान हैसियत दिनुपर्ने, घाइते वाईसीएलहरूलाई सम्मानजनक व्यवस्थापन गरिनुपर्ने र नेपाली सेनामा जान चाहने वाईसीएललाई पनि सेनामा समायोजन गरिनुपर्नेलगायतका माग राखेका छन् । उनीहरूले पार्टी नेतृत्वसँग आफ्ना मागबारे पटकपटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रने तयारी भएको र आन्दोलन सुदूरपश्चिमाञ्चलबाट सुरु भएको वाईसीएलका एक केन्द्रीय नेताले घटना र विचारलाई जानकारी दिए । ती नेताका अनुसार आन्दोलनका प्रारम्भिक चरणअन्तर्गत सुदूरपश्चिमाञ्चलका नौवटा जिल्ला तथा थारुवान र सेती-महाकाली राज्य समितिको कार्यालयमा सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । जनयुद्धकालमा शिविरमा रहेका लडाकुको भन्दा बढी भूमिका निर्वाह गरेको दाबी गर्दै उनीहरूले जिल्लाका पार्टी कार्यालयहरू, थारुवान राज्य समिति र सेती-महाकाली राज्य समितिको कार्यालयमा तालाबन्दी गरी चरणबद्ध आन्दोलन सुरुवात गरिएको नेतृत्वलाई जानकारी गराएका छन् । सुदूरपश्चिमाञ्चलका वाईसीएल नेताहरूले आफ्ना मागहरू पूरा नभएसम्म पार्टीका केन्द्रीय सदस्यहरूलाई सुदूरपश्चिममा आउन नदिने, पार्टी र माओवादी जनमुक्ति सेनाका गाडी कब्जामा लिने, पार्टीका कार्यक्रमहरू बहिस्कार गर्ने र फागुन १ गतेबाट अनिश्चिकालीन सुदूरपश्चिम बन्दको आयोजना गर्ने सेती-महाकाली राज्य समिति संयोजक मीनबहादुर कुँवरले नेतृत्वलाई चेतावनी नै दिएका छन् । संविधानसभाको चुनाव हुनु केही समयअघिसम्म पनि सातौँ डिभिजनमा लडाकुको रूपमा रहेका दुई सय ६३ जनालाई शिविरबाट बाहिर वाईसीएलको रूपमा परिचालन गरेको सेनालाई नेतृत्वले लडाकुसरहै सेवासुविधा पाउने भएकोले वाईसीएल बन्न दबाब दिएको थियो । तर, अहिले बेवास्ता गरिएकाले बाध्य भएर पार्टी नेतृत्वविरुद्ध नै आन्दोलन गर्नुपरेको स्पष्ट पारेका छन् उनीहरूले । उनीहरूले आन्दोलनका कार्यक्रमलाई गाउँदेखि केन्द्रसम्म पुर्‍याइने पनि बताएका छन् ।
वाईसीएल उपसंयोजक उमा भुजेलले सुदूरपश्चिमाञ्चलबाट वाईसीएलले सुरु गरेको आन्दोलनमा समर्थन रहेको जानकारी दिनुभयो । भुजेलले भन्नुभयो, ‘हिजो हामीलाई जनमुक्ति सेनासरह सुविधा दिने आश्वासन दिइएको थियो, त्यो आजसम्म पूरा नभएकोले उनीहरू आन्दोलनमा उत्रिएका हुन्, यसमा हाम्रो पूर्ण समर्थन छ ।’ ‘पार्टी नेतृत्वले वाईसीएलले अघि सारेका माग पूरा नगरे जिल्लामा मात्र होइन, केन्द्रीय कार्यालयसमेत तालाबन्दी हुन सक्छ,’ भुजेलले मंगलबार घटना र विचारसँग भन्नुभयो, ‘अहिले नै हामीले त्यतातिर सोचेका छैनौँ र हाम्रा मग छिट्टै पूरा होस् भन्ने चाहन्छौँ, त्यो माग पार्टी नेतृत्वले चाहेमा पूरा गर्न सक्छ ।’ माओवादी नेता हरिभक्त कँडेलले पनि वाईसीएलको माग उचित रहेकोले आन्दोलनमा उत्रनु स्वाभाविकै भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरूको माग र उठाएका मुद्दा जायज छन्, त्यसैले पार्टीले त्यसलाई सम्बोधन गर्नुपर्छ ।’ तर, अध्यक्ष प्रचण्डनिकट उपत्यका वाईसीएल संयोजक चन्द्रबहादुर थापा सागरले भने वाईसीएलले उठाएको मुद्दा अनावश्यक भएको बताउनुभयो । उहाँले घटना र विचारसँग भन्नुभयो, ‘यो बेकारको लफडा हो, पार्टीमा फरक मत राख्ने, मोहन वैद्य, रामबहादुर थापा र नेत्रविक्रम चन्दको उक्साहटमा वाईसीएलका नाममा कथित आन्दोलन रचिँदै छ ।’ वाईसीएल नेता एवम् सभासद् थापाले थप्नुभयो, ‘उनीहरूको यो आन्दोलनलाई हामी सफल हुन दिने छैनौँ ।’ यसअघि पनि युद्धकालका वास्तविक लडाकुहरूलाई पार्टीले बेवास्ता गरेको भन्दै वाईसीएलमा आबद्ध वैद्य पक्षका २१ जना पूर्वलडाकु वाईसीएलले अध्यक्षसँग सामूहिक भेट गरी लडाकुबाट वाईसीएलमा तानिएकाहरूलाई समायोजन, स्वेच्छिक अवकाश वा पुनर्स्थापनामा जाने लडाकुसरह सुविधाको मागसहित ८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । यसैबीच, मंगलबार बसेको माओवादी स्थायी समितिको बैठकले वाईसीएलका मागलाई सम्बोधन गर्ने र त्यसको जिम्मेवारी पार्टीले लिने निर्णय गरेको छ ।