चुनावी मैदानमा ‘प्रधानमन्त्रीहरू’को ताँती !

चुनावी मैदानमा ‘प्रधानमन्त्रीहरू’को ताँती !


यो पटकको निर्वाचन प्रचारका क्रममा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नेहरूको ताँती लागेको पाइएको छ । यसरी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्नेहरूमा पुराना र स्थापित पार्टीका वरिष्ठ नेतादेखि राजनीति गर्ने रहर गरेर चुनावी मैदानमा प्रकट भएका ठेट्ना उम्मेदवार र संसद्मा कुल सङ्ख्याको तीन प्रतिशत हाशील गर्न नसक्ने तथा अन्य ठूला दलको वैशाखी टेकेर आफ्नो जितको ग्यारण्टी खोज्ने व्यक्तिहरू समेत रहेका छन् ।

मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि खुला तर्फको पूरै १६५ स्थानमा कुनै पनि दलले उम्मेदवारी दिएका छैनन् । संसद्को कुल २७५ स्थानमध्ये बहुमत प्राप्त गर्न १३८ स्थान हाशील गर्नुपर्ने हुन्छ । स्थापित दलहरूमध्ये नेकपा एमालेले १५० भन्दा अधिक स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ । जनमतले चमत्कार देखाएको अवस्थामा मात्र एमालेलाई बहुमत मिल्न सक्ने देखिन्छ । एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ र, यसलाई स्वभाविक मानिएको छ । संसद्मा बहुमत या सबैभन्दा ठूलो दलको हैसियत बनाउने दाबी र तयारीका साथ चुनावी मैदानमा उत्रिएको एमालेले सरकार गठन गर्ने दाबी गर्नु र सम्भावित प्रधानमन्त्रीको नाम प्रस्तुत गर्नु अस्वभाविक होइन । तर संसद्मा तेस्रो ठूलो दल बन्ने दाबीसहित जम्मा ४७ स्थानमा उम्मेदवारी दिएको माओवादीले समेत आफ्नो नेतृत्वमा सरकार गठन हुने र प्रचण्ड प्रधानमन्त्री बन्ने आक्रामक दाबी गरेको छ । ४७ स्थानमा उम्मेदवारी दिने दलले पचास प्रतिशत निर्वाचन क्षेत्रमा विजय हाशील गरे पनि उसलाई प्रत्यक्षतर्फ २३ सांसद प्राप्त हुने हो । समानुपातिकबाट डेढ दर्जन सांसद हात पारेको अवस्थामा पनि कुल चालिसको आसपासमा माओवादी सीमित हुनुपर्ने छ । यसरी संसद्को तेस्रो बन्ने स्थितिमा रहेको माओवादीले प्रचण्डको नेतृत्वमा आफ्नो सरकार बन्ने दाबी गरिरहेको छ ।

बरु संसद्को सबैभन्दा ठूलो दल बन्न नेकपा एमालेसँग प्रतिष्पर्धा गरिरहेको नेपाली काङ्ग्रेसका मुख्य नेता शेरबहादुर देउवाले औपचारिक तवरमा आफूलाई भावी प्रधानमन्त्री बनेर प्रस्तुत गरिरहेका छैनन् । चुनावी परिणाम र संसद्भित्रको स्थिति अनुकुल नभएसम्म देउवाले प्रधानमन्त्री दाबी गर्ने सम्भावना देखिँदैन । सत्ता राजनीतिका माहिर खेलाडी शेरबहादुर देउवा बोल्दै नबोलिकन आफ्नो साध्य पूरा गर्ने मानिसका रूपमा चिनिन्छन् । काङ्ग्रेसका प्रकाशमान सिंह, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेललाई समेत सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिँदैछ । शेरबहादुर देउवाका विरुद्ध संसदीय दलको नेता पदमा उम्मेदवारी दिने हैसियत पनि यिनै चार नेताले राख्दछन् । तर झापाको निर्वाचन क्षेत्र नं. १ र ३ मा काङ्ग्रेस उम्मेदवार रहेका विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलालाई पनि मतदाताहरूले भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्ने गरेको पाइएको छ । तर शर्मा र सिटौला स्वयम्ले भने आफूलाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छैनन् । बरु ‘एमसीसीका प्रवक्ता’ र पश्चिमाहरूको सारथीका रूपमा चिनिएका काठमाडौं क्षेत्र नंं ४ का उम्मेदवार गगन बहादुर थापाले भने आफूलाई मङ्सिर ४ गते पछिको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मतदाताहरूसँग मत मागिरहेका छन् ।

प्रधानमन्त्री बन्ने मानिसलाई मत दिने विश्वासका आधारमा गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको बुझिएको छ । भोट माग्न अन्य कुनै प्रभावकारी एजेण्डा नभएकोले पनि गगनले आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको हुन सक्ने ठानिएको छ । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने हुन्छ । काङ्ग्रेस संसदीय दलमा शेरबहादुर देउवा या उनको समर्थन प्राप्त व्यक्तिबाहेक अरुले बहुमत प्राप्त गर्नसक्ने देखिँदैन । कदाचित गगन काठमाडौं ४ बाट विजयी बनेछन् भने पनि संसदीय दलमा उनलाई चार सांसदको समर्थन मिल्न मुस्किल छ ।

त्यस्तै रुपन्देहीमा उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाणलाई निर्वाचन क्षेत्रमा भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरेको पाइएको छ । त्यसो त समानुपातिक उम्मेदवार बनाइएकी देउवापत्नी आरजु राणालाई पनि भावी प्रधानमन्त्रीका रुपमा चर्चा गर्ने गरिएको छ । शेरबहादुर देउवा कारणवश राष्ट्रपति बन्नुपर्ने अवस्था उत्पन्न भएमा प्रचण्ड र आरजु आलोपालो प्रधानमन्त्री बन्नसक्ने चर्चा केही अघिदेखि नै चलिरहेको छ ।

एमालेको सहयोग लिएर दुई–चार स्थानमा विजयी बन्ने सपनाका साथ चुनावी मैदानमा आएको पूर्व पञ्चहरूको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई उक्त पार्टीका कार्यकर्ताहरूले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । त्यस्तै ‘टीभी एङ्कर’ बनेर झण्डै ऋषि धमलासरहको चर्चा बटुलेका रवि लामिछानेले पनि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर चुनाव प्रचार गरिरहेका छन् । चुनावी स्थितिको अध्ययन र विश्लेषण गर्दा लामिछाने र उनको समूहबाट उम्मेदवार बनेका एक जनाले पनि चुनाव जित्ने सम्भावना देखिएको छैन । यस्तो दयनीय अवस्थामा रहेकाले समेत भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरेर जग हँसाइरहेका छन् । उता माधवकुमार नेपाल र झलनाथ खनालले पनि आफूलाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर मत मागिरहेका छन् । यसरी चुनावी मैदानमा ‘प्रधानमन्त्रीहरू’को ताँती देखापरेको छ ।