सर्लाहीका स्वतन्त्र उम्मेदवार सबैमध्ये बलवान !

सर्लाहीका स्वतन्त्र उम्मेदवार सबैमध्ये बलवान !


देशमा ‘स्वतन्त्र’ उम्मेदवारहरूको बाढी नै आएको भए पनि त्यस्ता उम्मेदवारमध्ये सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ का डा. अम्रेशकुमार सिंहले मात्र विजय प्राप्त गर्नसक्ने सङ्केत देखिएको छ । दुई पटक सोही निर्वाचन क्षेत्रबाट अत्यधिक मतले विजयी डा. सिंहलाई सभापति शेरबहादुर देउवाले काङ्ग्रेसको टिकट नदिनुभएपछि उहाँ माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको हो ।

जिल्लामा विकासप्रेमी र जुझारु नेताका रूपमा स्थापित अम्रेश सिंहले शेरबहादुर देउवा र आरजु राणालाई सार्वजनिक सञ्चारमाध्यमबाट नै आलोचनात्मक टिप्पणी गर्नुभएकोले उहाँलाई टिकट नदिइएको बताइन्छ । तर शेरबहादुर देउवाले भने ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले अम्रेशलाई टिकट दिने रोक लगाएकोले आफू उनलाई उम्मेदवार बनाउन असमर्थ रहेको’ जवाफ दिनुभएको थियो ।

टिकट वितरणभन्दा केही दिनअघि सम्पन्न सत्ता गठबन्धनका नेताहरूको बैठकमा सर्लाही ४ मा गगन थापालाई उम्मेदवार बनाउने चर्चा चलेपछि कृष्णप्रसाद सिटौलाले दुई–दुई पटक उक्त निर्वाचन क्षेत्रबाट विजयी व्यक्तिलाई टिकट नदिएर अन्यथा निर्णय लिन नहुने भन्दै अम्रेशलाई सो क्षेत्रको उम्मेदवार बनाउन देउवामाथि दबाब दिनुभएको थियो । सिटौलाले चर्को दबाब दिएपछि शेरबहादुर देउवाले आफूलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले अम्रेशलाई टिकट नदिन भनेकोले कुनै हालतमा पनि टिकट नदिने स्पष्ट गर्नुभएको थियो । देउवाको जवाफ सुनेपछि सिटौला ‘मान्छेको राजनीति त्यत्तिकै सिध्याइदिने’ भन्दै चुप लाग्नुभएको थियो ।

सर्लाही ४ बाट पहिले नै गगन थापाको एकल नाम सिफारिश गराइएको थयो र, एमसीसीका अर्का प्रवक्ता स्वर्णिम वाग्लेका निम्ति काठमाडौं ४ छोडेर सर्लाही जान गगन तयार भएका थिए । वाग्लेका निम्ति काठमाडौं छोड्न लागेको जानकारी सभापति देउवालाई गराउँदै गगनले सर्लाही क्षेत्र नं. ४ को टिकट पनि लिए । तर देउवाले काठमाडौं ४ को टिकट डडेलधुराका युवा नेता नैनसिंह महरलाई दिनुभयो । सर्लाही र काठमाडौंबाट एमसीसीका मुख्य प्रवक्ताहरू संसद्मा भित्रिन बनेको गुप्त योजनामा देउवा असहयोगी बन्नुभयो । त्यसपछि गगनले सर्लाहीको टिकट देउवालाई फिर्ता दिएर काठमाडौंको टिकट लिएका थिए ।

गगनले सर्लाहीको टिकट लिएको अवस्थामै डा. अम्रेशकुमार सिंहले आफ्नो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिइसक्नुभएको थियो । पछि देउवाले नागेन्द्र राय यादवलाई टिकट दिएर सर्लाही ४ मा पठाउनुभएको हो । उक्त निर्वाचन क्षेत्रमा नागेन्द्र राय अलोकप्रिय मानिन्छन् र उनी त्यस क्षेत्रको बासिन्दा नभएकोले पनि स्थानीय मतदाताहरू डा. अम्रेशसिंहप्रति नै आकर्षित भएका छन् । मतदाताहरूको सहानुभूति अम्रेशका प्रति ह्वात्तै बढेको पाइएको छ । विगतमा उक्त क्षेत्रको विकास निम्ति अम्रेशले देखाएको सक्रियता र समर्पणले पनि आम मतदातामा अम्रेशको बेग्लै छाप परेको छ । घुस नखाने नेताको छवि बनेकोले पनि अम्रेशका पक्षमा जनलहर पैदा भएको बताइन्छ । सत्ता गठबन्धनले प्रहरी प्रशासन प्रयोग गरेर गम्भीर धाँधली गरेको अवस्थामा समेत अम्रेशलाई परास्त गर्न मुस्किल पर्ने देखिन्छ । ब्यापक जनसमर्थनका कारण डा. अम्रेशकुमार सिंह हज्जारौँ स्वतन्त्र उम्मेदवारहरूको भिडमा एक्ला सम्भावित विजयीको हैसियत बनाउन सफल हुनुभएको छ ।

संविधानसभाको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट अम्रेशकुमार सिंहले महन्थ ठाकुर जस्ता लोकप्रिय नेतालाई समेत परास्त गर्नुभएको थियो । ठाकुरको तुलनामा नागेन्द्र धेरै नै कमजोर र अलोकप्रिय भएकोले अम्रेशका निम्ति अनुकुल वातावरण सिर्जना भएको बताइन्छ ।