उम्मेदवारका कारण चर्चित बनेका यी निर्वाचन क्षेत्र

उम्मेदवारका कारण चर्चित बनेका यी निर्वाचन क्षेत्र


देशका १६५ निर्वाचन क्षेत्रमध्ये करिव एक दर्जन निर्वाचन क्षेत्रप्रति देशवासीहरूको ज्यादा ध्यानाकर्षण भएको पाइएको छ । डडेलधुरा, गोरखा, चितवन, झापा र काठमाडौं उपत्यकाका केही निर्वाचन क्षेत्र उम्मेदवारहरूका कारण आमनागरिकहरूको विशेष चासोको विषय बनेको हो ।

डडेलधुरामा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्नुभएकोले मात्र उक्त क्षेत्रप्रति चासो बढेको होइन । उक्त जिल्लाका लोकप्रिय युवा नेता कर्ण मल्लले देउवाको कद घटाउन चुनौती दिएकोले पनि त्यस जिल्लाको चुनाव परिणामप्रति धेरैको चासो बढेको हो । माओवादीसँगको गठबन्धन र सत्ताको प्रभावका कारण डडेलधुरामा आरजुले जतिसुकै कुरा बिगारे पनि शेरबहादुर देउवा नै विजयी बन्ने सम्भावना छ । गठबन्धनबाट फेरि पनि देउवा नै प्रधानमन्त्री बन्ने विश्वास भएकोले पनि डडेलधुराका मतदाताहरूमा देउवा मोह कायम रहन पुगेको बुझिन्छ ।

झापाका तीन वटा निर्वाचन क्षेत्रप्रति देशवासीहरूको ध्यानाकर्षण भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा पार्टीले घोषणा गरेकोले पनि उक्त क्षेत्रप्रतिको चासो अधिक रहेको हो ।

सो क्षेत्रमा राप्रपासमर्थक झण्डै चार हजार मतदाताले समेत केपीका पक्षमा मतदान गरे भने गठबन्धनका उम्मेदवारसँग दशौँ हजारको मतान्तरले केपी विजयी बन्ने विश्वास गरिन्छ । राप्रपासमर्थकहरूको मत नपर्दा पनि केपीको विजय सुनिश्चित मानिन्छ । झापाको ३ नम्बर क्षेत्रमा काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला र एमालेसमर्थित राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनका बीच रमाइलो प्रतिष्पर्धाको स्थिति भएकोले झापा ३ प्रति देशवासीको चासो ह्वात्तै बढेको हो ।

गत संसदीय निर्वाचनमा पनि लिङ्देन र सिटौलाबीच प्रतिष्पर्धा भएको थियो । त्यसबेला माओवादीसँग चुनावी गठबन्धन गरेको एमालेले राजेन्द्र लिङ्देनलाई बोकेका कारण सिटौला पराजित भएका थिए । तर यसपटक माओवादी र माधव नेपालहरूको समर्थन सिटौलालाई भएको र एमालेको केन्द्रीय सदस्य दुर्गा प्रसाईंलगायत लिङ्देनको विरुद्ध उत्रिएकोले लिङ्देन रक्षात्मक स्थितिमा पुगेका छन् । चुनावी परिणाम सिटौलाको पक्षमा जाने सम्भावना बढेको छ । झापाको १ नम्बर क्षेत्र भने काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उम्मेदवारीका कारण चर्चामा रहेको छ । गत निर्वाचनमा पराजित विश्वले यसपटक बाजी मार्ने आधारहरू बलिया भएका छन् ।

तनहुँमा रामचन्द्र पौडेलविरुद्ध पुराना काङ्ग्रेस नेता गोविन्दराज जोशी आफैं मैदानमा उत्रनुभएकोले देशवासीहरूको ध्यान त्यसतर्फ तानिएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट पराजित पौडेलका निम्त यसपटक पनि क्षेत्र सूरक्षित भइनसकेको ठानिन्छ । पौडेललाई पराजित गराउन जोशी जस्तोसुकै चुनाव रणनीति बनाउन तत्पर रहेकोले त्यहाँ पौडेलले आफूलाई विजयी गराउन ठूलै सङ्घर्ष गर्नुपर्ने स्थिति छ । तनहुँको अर्को क्षेत्रमा भने काङ्ग्रेसका युवा नेता शङ्कर भण्डारीले आफूलाई सूरक्षित तुल्याएका छन् ।

प्रचण्डको उम्मेदवारीका कारण गोरखाको २ नम्बर क्षेत्र पनि यसपटक निकै चर्चामा रहेको छ । गोरखा जिल्ला पञ्चायतकालदेखि नै काङ्ग्रेस र हालका माओवादीको प्रभाव क्षेत्र रहिआएको हो । काङ्ग्रेस र माओवादी नै एक भएपछि उक्त क्षेत्रमा प्रचण्डको पराजय कल्पनासम्म गरिएको छैन । भारी मतान्तरले प्रचण्ड विजयी बन्न सक्ने देखिएको छ ।

यसपटक चितवनको तीनवटै निर्वाचन क्षेत्र विभिन्न कारणवश चर्चामा आएको छ । एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेलाई टक्कर दिन आरजु राणाले आफ्नो लगानीको स्कुलका सहकर्मी विश्व पौडेललाई चितवन क्षेत्र नं. १ को टिकट दिएर पठाइएकोले पनि उक्त क्षेत्र चर्चामा आएको हो । आफूलाई एमसीसीको मूख्य हिमायती बताउने विश्व पौडेल आरजुको युलिएन्स स्कुलका सञ्चालकमध्ये एक हुन् । सुरेन्द्र पाण्डेका विरुद्ध प्रधानमन्त्रीपत्नी आरजु आफैं लागिपरेकोले त्यसको थप लाभ सुरेन्द्रलाई हुन पुगेको देखिन्छ । त्यहाँको स्थलगत अधययन गर्दा सुरेन्द्रले विश्व पौडेललाई निकै पछाडि पारेको बुझिन्छ ।

त्यस्तै, चितवनको २ नम्बर क्षेत्रमा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलबीचको भिडन्त निकै रोचक देखिएको छ । पहिले चितवन ३ बाट उम्मेदवारी दिने भनी प्रचारित, तर विक्रम पाण्डेसँगको विशेष साँठगाँठपछि २ नम्बर क्षेत्रमा च्याखे थाप्न पुगेका चर्चित टीभी एङ्कर रवि लामिछानेका कारण पनि उक्त क्षेत्र ज्यादा चर्चित बन्न पुगेको छ । अहिलेसम्मको चुनावी स्थितिले कृष्णभक्त र उमेशबीच कडा मुकाबिला हुने देखाएको छ । त्यस क्षेत्रमा रवि लामिछाने तेस्रो स्थानमा रहे पनि उनलाई जमानत बचाउन सफलता मिल्ने देखिन्छ । चितवनको ३ नम्बर क्षेत्रमा गठबन्धनले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । भोजराजले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालासँग प्रतिष्पर्धा गर्नुपर्ने स्थिति छ । कोइरालालाई एमालेले समर्थन दिएका कारण उनी बलिया बनेका हुन् । तेस्रो स्थानका लागि सो क्षेत्रमा काङ्ग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल र राप्रपाका विक्रम पाण्डेबीच कडा प्रतिष्पर्धाको स्थिति रहेको छ ।