उपत्यकाका रोचक क्षेत्र : कहाँ को अगाडि ?

उपत्यकाका रोचक क्षेत्र : कहाँ को अगाडि ?


काठमाडौं उपत्यकाको तीन जिल्लाका पन्ध्र निर्वाचन क्षेत्रमध्ये काठमाडौंको एक, चार, पाँच, छ र ललितपुरको एक र दूई समेत छ वटा निर्वाचन क्षेत्रप्रति धेरैको ध्यानाकर्षण भएको छ ।

काठमाडौंको एक नम्बर क्षेत्रमा काङ्ग्रेस नेता प्रकाशमान सिंहसँग प्रतिष्पर्धा गर्न एक समयका बहुचर्चित प्रहरी अधिकृत रमेश खरेल, युवाहरूबीच लोकप्रिय रहेका पुकार बम र रविन्द्र मिश्र मैदानमा उत्रिएका छन् । खरेल र बम पहिलो पटक आफूलाई संसदीय उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन् भने मिश्रले सो क्षेत्रबाट दोस्रो पटक उम्मेदवारी दिएका हुन् ।

गत निर्वाचनमा वर्तमान संविधानको रक्षा गर्दै सुशासन र समृद्धि खोज्नुपर्छ भन्ने नारा लिएर विवेकशील साझा नामक पार्टीबाट उम्मेदवार बनेका मिश्र यसपटक राजतन्त्र, हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण (जातिवादी) समानुपातिक प्रणाली स्थापना जस्ता एजेण्डा लिएर राप्रपाको उम्मेदवारका रूपमा मैदानमा आएका छन् । अघिल्लो निर्वाचनमा काङ्ग्रेस, कम्युनिष्ट र राप्रपालगायतका पुराना पार्टीहरूको विकल्पका रूपमा प्रस्तुत गरेका मिश्र यसपालि आफैं राप्रपा बनेर मैदानमा आएका छन् । बाबुराम भट्टराई झैँ विचारको स्थिरता नभएको व्यक्तिका रूपमा अचेल रविन्द्रलाई लिन थालिएको छ । तथापि फेसबुके प्रचारमा मिश्र, खरेल बमभन्दा निकै अगाडि देखिएका छन् ।

रविन्द्र विभिन्न कारणवश चर्चामा रहेको भए पनि काठमाडौं एकका मतदाताले पञ्चहरूको राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्वीकार नगर्ने हुनाले त्यसको सोझै असर रविन्द्रलाई पर्ने देखिन्छ । दुई निर्वाचनमा फरक–फरक अवतारमा प्रस्तुत भएकोले पनि रविन्द्रप्रतिको जनधारणामा नकारात्मक परिवर्तन आएको देखिन्छ । त्यसैले काठमाडौं एकमा प्रकाशमान सिंह नै विजयी बन्नसक्ने सम्भावना छ । गत निर्वाचनमा माओवादीले आफ्नो बेग्लै उम्मेदवार खडा गरेको थियो, यसपटक माओवादी र माधव नेपालको समर्थन प्रकाशमानलाई मिल्ने निश्चित भइसकेकोले पनि उहाँको विजयको आधार बलियो भएको हो । सो क्षेत्रमा एमालेले किरण पौडेललाई आफ्नो उम्मेदवार बनाएको छ । युवा उम्मेदवार किरण पनि यस क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

काठमाडौंको चार नम्बर क्षेत्रमा काङ्ग्रेसका तर्फबाट गगन थापा र एमालेबाट डा. राजन भट्टराई मैदानमा उत्रिएका छन् । गत निर्वाचन रहश्यमयी बमकाण्ड गराएर राजनमाथि गगन हाबी हुन पुगेका थिए । यसपटक परिस्थिति केही बदलिएको छ, चुनावी मैदानमा चर्चित अर्जुन प्रसाई र ख्यातिप्राप्त मोइथाइ खेलाडी नवराज भण्डारी पनि उत्रिएका छन् । प्रसाई स्वतन्त्र उम्मेदवारका रुपमा अगाडि आएका छन् भने भण्डारी त्रिशुल चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिएका हुन् । गत निर्वाचनमा भण्डारीले गगनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर यसपटक एमसीसीका मतियारलाई संसद्मा जानबाट रोक्नुपर्छ भन्दै नवराज आफैं उम्मेदवार बनेर अघि सरेका हुन् ।

काठमाडौंको पाँच नम्बर क्षेत्रमा गठबन्धनले तनहुँका प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले वरिष्ठ नेता ईश्वर पोखरेललाई नै अघि सारेको छ । यस अघिको निर्वाचनमा काङ्ग्रेस नेता डा. प्रकाशशरण महतलाई परास्त गरेर ईश्वर पोखरेल विजयी बनेका थिए । त्यस क्षेत्रमा त्रिशुल चिन्ह लिएर स्थानीय युवा दीपक सिं महर्जन पनि मैदानमा आएका छन् । अधिकाङ्श मतदाताहरूको घरमा पुगिसकेका दीपक मतदाताले दर्शाएको ममताका कारण उत्साही भएका छन् । उक्त निर्वाचन क्षेत्र एमालेका वरिष्ठ नेताले उम्मेदवारी दिएका कारण ज्यादा चर्चामा रहेको देखिन्छ ।

काठमाडौं ६ मा काङ्ग्रेसले भीमसेनदास प्रधानलाई उम्मेदवार बनाएको छ भने एमालेले पूर्व प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाललाई त्यस क्षेत्रमा खटाएको छ । केही प्रभावकारी स्वतन्त्र उम्मेदवारसमेत रहेका सो क्षेत्रमा त्रिशुल चिन्ह लिएर काजी कार्की मैदानमा उत्रिएका छन् । त्यस क्षेत्रमा भीमसेनदास प्रधान धेरै नै अगाडि देखिएका छन् भने सर्वेन्द्र खनालले तेस्रो स्थान सूरक्षित तुल्याएका छन् ।

त्यस्तै, ललितपुरको एक नम्बर क्षेत्रमा बहुचर्चित व्यक्तित्व नवराज सिलवाल पुन: उम्मेदवार बनेका कारण त्यस क्षेत्रप्रति अन्य क्षेत्रको समेत ध्यानाकर्षण भएको अघिल्लो निर्वाचनमा नवराजबाट पराजित उदय शमशेर यसपटक पनि नवराजसँगै जुध्न पुगेका छन् । निर्वाचन क्षेत्रमा राष्ट्रवादी र राष्ट्रघातीबीचको प्रतिष्पर्धाका रूपमा मतदाताहरूले निर्वाचनलाई लिएका छन् ।

ललितपुरको दुईमा कलम चिन्ह लिएर कृष्णलाल महर्जन गठबन्धनको उम्मेदवारका रूपमा उत्रिएका छन् भने एमालेले प्रेमबहादुर महर्जनलाई अघि सारेको छ । युवा समाजसेवी सुरेश महर्जन त्रिशुल चुनाव चिन्ह लिए अगाडि आएका छन् । सो क्षेत्रमा सुरेश, कृष्णलाल र प्रेमबहादुरबीच त्रिपक्षीय टक्कर हुने देखिएको छ ।