जेष्ठनागरिकलाई ठगिनबाट जोगाउने नेपाली युवा जापानमा सम्मानित

जेष्ठनागरिकलाई ठगिनबाट जोगाउने नेपाली युवा जापानमा सम्मानित


  • विशेष प्रतिनिधि, फुकुओका (जापान)

जापानको फुकुओकास्थित एक कन्विनिएन्स स्टोरमा म्यानेजरको रुपमा कार्यरत नेपाली युवा शालिकराम सापकोटा फुकुओका प्रहरीद्वारा प्रशंसापत्रसहित सम्मानित भएका छन् ।

जापानी सञ्चारमाध्यमहरुमा प्रकाशित खबरका अनुसार ती युवाले आफ्नो पसलमा आएका एक वृद्ध उमेरका ग्राहकलाई ठगीमा पर्नबाट जोगाइदिइ ठगिजन्य आपराधिक गतिविधिलाई न्युनीकरण गर्न मद्दत गरेकोमा फुकुओका प्रिफेक्चर प्रहरीले उनको कर्मलाई प्रशंसा गर्दै सम्मान गरेको हो ।

एक वृद्ध व्यक्तिलाई फोन गरी ठग्न खोज्ने ठगहरुले तिम्रो कम्प्युटरमा भाइरस पसेको छ, कन्बिनी स्टोरमा गइ ५० हजार येनको कार्ड किन्नुपर्छ भनेपछि वृद्ध जापानीले विश्वास गरी फोनमा बोल्दै ठगहरुले भनेअनुसार कार्ड किन्न कन्बिनी स्टोरमा पुग्दा नेपाली मेनेजर सापकोटाले यो ठगी केस हो भनि शंका लागि वृद्ध व्यक्तिको फोन मागेर कुरा के हो, म यस व्यक्तिको छोरा हुँ भनि ठगहरुलाई भन्ने बित्तिकै फोन काटिएको थियो ।

यसरी यदि सापकोटाले परिस्थितिबारे केही नसोचि कार्ड बेचिदिएका भए ५० हजार येन ठगी हुने थियो । उनको तदारुकताले ती वृद्ध ठगिनबाट जोगिए र, यहि उपकारी कामका लागि प्रहरीले उनलाई सम्मान गरेको हो ।

यो घटना गत महिनाको २४ तारिख घटेको थियो भने सापकोटालाई बुधबार (नोभेम्बर ९) का दिन प्रशंसापत्रसहित सम्मान गरिएको हो । सापकोटा सामजिक संजाल टिकटक तथा युट्युबमार्फत जापानका नेपाली समुदायलक्षित विभिन्न जानकारीमुलक सामग्रीहरु पनि सम्प्रेषण गर्ने गर्दछन् ।

जापानमा पछिल्ला केही वर्षयता वृद्धरवृद्धालक्षित अनलाइन एवम् टेलिफोन ठगीका घटनाहरु बढ्दो गतिमा रहेको छ।