५७ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्दै ‘ग्लोबल आइएमई बिओके लि.’

५७ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्दै ‘ग्लोबल आइएमई बिओके लि.’


एकापसमा गाभिन ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच अन्तिम सम्झौतामा हस्ताक्षर


ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच एकआपसमा गाभ्न/गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाडौं लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जरपश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्ने बताइएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बिओके लिमिटेड’ हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाडौंको तर्फबाट २ जना रहने सहमति भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् ।

दुई बैंकहरुको मर्जरपश्चात् कूल ३९६ शाखा कार्यालय, ३६८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

दुवै बैंक एकआपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भइ ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षद्वयले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याइ ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी कार्य सम्पादन गर्ने सयुंक्त प्रतिवद्धता ब्यक्त गरेका छन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ्ग क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ्ग लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने धारणा राखे । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको उल्लेख गर्दै उनले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी दिए । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिवद्धता समेत ढकालले व्यक्त गरे ।

बैंक अफ काठमाडौंका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए ।