अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ प्रतियोगिता सुरु

अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ प्रतियोगिता सुरु


विश्वचर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष स्थगित यस प्रतियोगिता पुन: सोमबारदेखि चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेँसीसहरबाट १४औँ संस्कार याक अट्याक अर्थात् साइकल रेस प्रतियोगिता सुरु भएको हो ।

बेलायतस्थित माउण्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्ट टिभी नेपालको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता सुरु भएको हो । पदमार्गमा जानुअघि आइतबार दक्षिण एसियाकै नमूना घलेगाउँ पुगेर बेँसीसहर फर्किएर सोमबार बिहानै मनाङको चामेसम्म पुगेको थियो । आयोजक नेपालको संयोजक अजय पण्डित क्षेत्रीका अनुसार सात दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । तेस्रो दिन चामेबाट मनाङसम्म पुग्नेछन् र चौथो दिन त्यहाँबाट थ्रोरङदफेदीमा पुग्ने छन् ।

प्रतियोगिताको पाचौँ दिन त्यहाँबाट कागबेनीसम्म पुग्ने र छैटौँ दिन त्यहाँबाट मुक्तिनाथ पुगेर पुन: कागबेनी आउने र प्रतियोगिताको अन्तिम दिन अर्थात् साताँै दिन कागबेनीबाट कालापानी मुस्ताङमा पुगेर प्रतियोगिता टुङ्गिने र प्रतियोगिता समापन कार्यक्रम भने तातोपानीबाट पोखरा गएर गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको क्रममा उनीहरूले संसारकै सबैभन्दा अग्लो हिमाली भञ्ज्याङ थोराङला (पाँच हजार चार सय १६ मि) उचाइ पार गर्ने भएका छन् । यस प्रतियोगितामा नेपालका नौजना नेपालीसहित क्यानडा, अस्टेलिय, ब्रिटिस, ब्राजिल, नेदरल्यान्ड, बेल्जिमलगायत देशका गरी २१ जना प्रतियोगि सहभागी भएको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा विश्वभरिबाट सहभागी हुने र नेपाल र पर्यटक क्षेत्र चिनाउन मद्दत पुग्ने र नेपाली साइकल खेलाडीलाई माथि उकास्दै यस्ता प्रतियोगितातर्फ आकर्षण गर्नलाई यस प्रतियोगिता आयोजना गरिएको संयोजक पण्डित क्षेत्रीको भनाइ छ ।

यसअघि सन् २०१९ मा १३औँ संस्करणको यस प्रतियोगिता भएको थियो । यस प्रतियोगितामा यसअघि चार पटक प्रथम भएका क्यानडाका कोरी वाल्लेससमेत सहभागी भएको छ । प्रतियोगिताका विजयीलाई पुरस्कार कति दिने भनेर फाइनल भइनसकेको र मनाङ पुगेपछि मात्र फाइनल गर्ने बताइएको छ ।