के तपाईं बढ्दो मोटोपनबाट दिक्क हुनुहुन्छ ? त्यसो हो भने पक्कै यसबाट छुटकारा पाउन पनि लालायित हुनुहुन्छ होला । धन्दा नमान्नुस्, वैज्ञानिकहरूले एउटा सरल उपाय पत्ता लगाएका छन् ।
हो, जर्मन र स्वीस वैज्ञानिकहरूले शरीरको तौल घटाउन रातो रङ्गको प्लेटमा खाना खान र रातै रङ्गको ग्लासमा मदिरा पिउन सुझाएका छन् । यसो गर्नुपर्ने कारणबारे तर्क दिँदै वैज्ञानिकहरूले भनेका छन्, ‘रातो प्लेट र ग्लासमा खानपिन गर्दा धेरै खान र पिउन मन लाग्दैन ।’ उनीहरूको दाबी त यतिसम्म छ कि खानामा रातो भाँडा प्रयोग गर्दा अघिपछि खानेभन्दा ४० प्रतिशत कटौती हुन्छ ।’ जसरी रातो रङ्ग आमतवरमा ‘खतरा, निषेध वा रोकावट’का लागि प्रयोग हुन्छ सोहीअनुरूप आवश्यकताभन्दा धेरै खानपिन गर्न ‘रातो’ले मानिसलाई रोक्ने काम गर्छ भन्ने अनुसन्धानकर्ताहरूको तर्क छ । दुनियाँमा खानेकुराको अभाव हुँदै गएको र मोटोपनका कारण अनेक रोगको प्रकोप बढेको परिवेशमा अब सरकार एवम् खाद्य उद्योगहरूले रातो प्याकेटमा खाद्यसामग्री उत्पादन गर्ने र मदिरालय सञ्चालकहरूले पनि आफ्नो व्यवसायस्थललाई रातैरातो रङ्गले सजाउने पो हो कि ?
डाइनोसारभन्दा ठूलो जीव
पृथ्वीको अहिलेसम्मकै ठूलो जनावरका रूपमा मान्यता दिइँदै आएको डाइनोसरभन्दा पनि भीमकाय कुनै जनावरको अस्तित्व थियो भन्ने ठहरमा वैज्ञानिकहरू पुगेका छन् । डाइनोसारभन्दा २६ करोड ५० लाख वर्ष पहिले नै त्योभन्दा ठूलो हिंस्रक प्रकृतिको प्राणी पृथ्वीमा थियो भन्ने प्रमाणका रूपमा अन्वेषकहरूले उक्त विशाल प्रणालीको खोपडी नै जमिनमुनिबाट निकाल्ने सफलता पाएका छन् । केही समयअघि गुगल मानचित्रमा वैज्ञानिकहरूले एउटा यस्तो धब्बा देखे जसले उनीहरूलाई जिज्ञासु बनायो । ब्राजिलको रियो ग्राँदे दि सोल नामक उक्त स्थानमा जाँच गर्ने फैसलाअनुसार जमिन खन्दा त्यहाँबाट सो विशाल खोपडी प्राप्त भएको थियो । वैज्ञानिकहरूले उक्त प्राणी झट्ट हेर्दा कुकुरको स्वरूपसँग मिल्ने र घिस्रेर हिँड्ने प्रवृत्तिको रहेको अनुमान लगाएका छन् । सो प्रणालीको अस्तित्व कसरी नामेट भयो भन्ने होला अन्वेषणमा वैज्ञानिकहरू जुटेका छन् ।
बेलायतको पुरानो जोडीमा भारतीय दम्पती
बेलायतकै सबभन्दा बुद्ध दम्पतीका रूपमा भारतीय मूलका एक जोडीको नाम दर्ता भएको छ । सन् १९२५ मा विवाहबन्धनमा बाँधिएका १०६ वर्षीय करम चन्द र उनकी ९९ वर्षीया पत्नी करतरीले सो गौरव प्राप्त गरेका हुन् । पञ्जावमा जन्मिएका उनीहरू सन् १९६५ मा भारतबाट बेलायत बसाइँ सरेका थिए । बीबीसीका अनुसार उनीहरूले हालै आफ्नो विवाहको ८६औँ वारि्षकोत्सव मनाएका छन् । आफ्नो यति लामो वैवाहिक जीवनको कुनै खास रहस्य नरहेको भन्दै करम चन्दले ‘जे आफूलाई इच्छा लाग्छ त्यही खाउ, पिउ तर अत्यधिक नखाउ, दीर्घजीवन प्राप्त हुन्छ’ भन्ने सुझाव दिएको पनि बीबीसीले जनाएको छ ।
सुन्दरीको रोजाइ किन यस्तो ?
आजभन्दा झन्डै दुई दशकअघि हलिवुडमा बनेको फिल्म ‘बेसिक इन्सिटिक्ट’ को चर्चा आज पनि त्यत्तिकै हुने गर्छ र उक्त फिल्मको भन्दा बढ्ता चर्चा अहिले पनि त्यसकी नायिका सेरोन स्टोनको चल्ने गर्छ । हुन पनि स्टोनले उक्त फिल्ममार्फत आफ्नो सुन्दरता र अभिनयको जादु वर्षाउनुसम्म वर्षाएकी थिइन् । आज सेरोन ५३ वर्षकी भइन् तर उनको रोम्यान्टिक स्वभाव भने २३ वर्षकै जस्तो छ । आफूभन्दा कम उमेरका पुरुषसँग सम्बन्ध जोड्न रुचाउने स्टोनले यतिबेला फेरि निकै कम उमेरका युवकलाई प्रेमजालमा फसाएकी छिन् । यो विषयले हलिवुड तातेको छ, तर यी सुन्दरी अभिनेत्री जहिले पनि किन आकर्षक व्यक्तित्व नभएको पुरुषलाई पार्टनर बनाउन रुचाउँछिन् भन्ने कुतूहलको जवाफ कसैले पाउन सकेको छैनन् ।
ओजोन-इन्जेक्सनको कमाल
पृथ्वीको सतहभन्दा ६ देखि ३० माइलको उचाइभित्र रहेको ओजोन तहले प्राणीलाई सूर्यको घातक प्यारावैगनी किरणबाट बचाउन मद्दत पुर्याउने कुरा त वर्षौं अघिदेखि हामीले पढ्दै-बुझ्दै आएका छौँ । वैज्ञानिकहरूले ‘ओजोन ग्यास अत्यन्त क्रियाशील ग्यास हो जो मानिसको स्वास्थ्यका लागि लाभकारी पनि हुनसक्छ र अत्यन्त नोक्सानदायक पनि’ भनेर भन्दै आएका हुन् । यही क्रममा जर्मनीको फ्र्याङफट युनिभर्सिटीका वैज्ञानिकहरूले यसबारे नयाँ कुरा पत्ता लागेको दाबी गरेका छन् । उनीहरूका अनुसार ओजोन ग्यासको इन्जेक्सन लगाएमा ढाड या पिठ्युँ दुख्ने रोग छु:मन्तर हुन्छ । जर्मनी अनुसन्धानकर्ताहरूले तीन सय २७ जना ढाडका रोगीमाथि हालै अनुसन्धान गरेका थिए, अरू कुनै उपचारबाट सफलता नमिलेका ती रोगीलाई ओजोनको इन्जेक्सन दिएपछि डिस्कको समस्याबाट मुक्ति मिलेको थियो ।
प्रतिक्रिया