धर्मको नाममा नरकको बाटो !

धर्मको नाममा नरकको बाटो !


‘सामान्य विवेक गुमेमा पनि सत्य पत्ता लगाउने काम कठिन हुन्छ’

  • दामोदर पौडेल

धर्म र विचार मान्ने वा त्यसको पक्षमा लाग्नेबारे सघन रूपमा सोच्नुपर्ने हुन्छ । कुनै विचार वा धर्म तपार्इंको पुर्खाको होइन बरु पुर्खामा पनि भ्रम दिएर, गरिवीको फाइदा लिएर, त्रास वा लोभ देखाएर उनीहरूलाई मान्न बाध्य पारिएको भए त्यो विचार वा धर्म पुर्खाको नभइ पुर्खालाई रुवाएको विचार वा धर्मले आफूलाई पनि गाँजेको छ भनी बुझ्नुपर्छ । त्यसैले पुर्खालाई दु:ख दिएर जबर्जजस्ती लादेर दिएको विचार वा धर्मलाई आफ्नो भनेर मान्ने ? होेइन ! बरु उनीहरू माथिबाट ती गल्तीहरू वा जबर्जस्ती भएका कार्यलाई सुधारेको, त्यागेको र ठिक ठाउँमा आएकोमा आफ्ना सन्तान-दरसन्तानलाई आशीर्वाद दिन्छन् ।

कुनै देशका राजाको प्रतिनिधिको धेरै टाढा गाउँमा ठुलो गाइफर्म रहेछ । दश हजार भन्दा बढी गाईगोरु रहेछन् । त्यहाँ राजाको प्रतिनिधिको कामदारले काम गरिरहेको अवस्थामा राजा बस्ने ठाउँको मानिस घुम्दै पुगेछ । उसले कामदारसँग कुरा गर्ने क्रममा कामदारले अफ्ना साहु संसारका सबैभन्दा धनी मानिस भएको बताउन थालेछ । उसले त्यो कामदारलाई उसको मालिकसँग नभएका धेरै कुराहरू राजासँग भएकोले राजा नै उसको मालिकभन्दा धनी भएको बताउँदा कामदारले भनेछ कि मेरा मालिकको जत्तिकै धेरै गाइगोरु तिम्रा राजासँग छन् कि छैनन् ? उसले भनेछ– छैनन् । त्यसो भए तिम्रा राजाभन्दा मेरै मालिक धनी छन् । जाबो गाइ पनि मेरा मालिकको जति नहुनेको अरु के हुन्छ, होला र ! तर्क र तुलना पनि कहिले अस्वभाविक हुन्छन् र उत्तर दिन भन्दा बुझ्नको लागि हुन्छन् । बानी परेको र माया लागेकोले कसैलाई कुनै अमुक बस्तु वा विचार ठुलो वा राम्रो लाग्न सक्छ । डर वा आशले पनि उसले त्यसो भनेको हुन सक्छ । के हामी सकेसम्म धेरै भावना निष्पक्ष र विवेकी भएर कुनै पनि विषयको अध्ययन गर्न र निर्णय गर्न सक्छौँ ?

झक्कड सिंह नाम गरेका चुतर तर अल्पज्ञानी ब्यक्ति थिए, अरु त अज्ञानी नै थिए । झक्कड तल अड्याउने सानो कचौरा जस्तै भएको ठुलो कचौरा लिएर तेल लिन गए । उनले तेल किने र पैसा पनि दिए । तेल कचौरामा अटेन, पसलेले भन्यो बाँकी तेल अर्को दिनमा लिन आउनुहोला । झक्कड सिंहले भने उल्टोतिर पनि त्यति अट्ने ठाउँ छ । अरुले नमान्दानमान्दै उनले कचौरा उल्ट्याए । तेल पोखियो । तर उनले बाँकी तेल त्यहाँ राखे । अरुले भने पहिलाको धेरै तेल पोखियो त । उनले हेर्न खोज्दा बाँकी तेल पनि पोखियो । गुरुत्वाकर्षणको जानकारी नभएको समयमा झक्कड सिंहको काम ठिकै थियो । बस्तु तल नै जानुपर्ने के कारण छ भन्ने उसलाई लाग्यो होला । तर गुरुत्वाकर्षणको बारेमा जानकारी नभए पनि गुरुत्वाकर्षण थियो र त्यसलाई ब्यवहारले सिकाएको थियो, जानकारी दिएको थियो । नयाँ कुरा सिक्दा पुरानोसँग विवेकपुर्ण तुलना र विद्वताको प्रयोग भएन भने कुनै पनि काम नलाग्न सक्छ । अझै दु:ख हुन सक्छ ।

यो पक्ष पनि हेर्ने र मनन गर्ने कि ?

हरेकले म भनेर सोचौँ त । धर्महरू जति भए पनि सबैको मुख्य भावना एउटै भएको जस्तो देखिन्छ र, हुनुपर्छ । त्यो धर्म वा पन्थले अरु पन्थ वा धर्मको सह–अस्तित्वलाई आत्मसात गर्छ, त्यो धर्म समानता र विवेकमा आधारित छ भने मात्र त्यो मात्र मेरो धर्म हो । म जन्मको आधारमा कुनै धर्म मेरो हो भन्दिनँ । जात र वर्ण वा स्थानको आधारमा म यो धर्म मेरो हो भन्दिनँ । म धर्मको चुरो विषयको रूपमा सबैमा समभाव राख्ने र साझा विषयहरूको बारेमा विकास र धर्मलाई सापेक्ष राखेर विचार र ब्यवहार गर्ने मार्गलाई मात्र धर्ममात्र मान्छु । सबै धर्महरू उपरवालाले नै समय, परिस्थिति र आवश्यकताको आधारमा विभिन्न समयमा दिएका र गरेका तथा उनीहरू वचन तथा कर्महरू हुन् भन्ने मान्यतामा पङ्क्तिकार प्रष्ट छ । कुनै अस्वभाविक देखिने धर्म र विचार भनिएका विषयमा यसको पनि मलाई जवाफ चाहिन्छ भन्ने अधिकार मलाई छ कि छैन ?

उपरवालाका विचारहरूलाई लामो समय लगाएर लिपिवद्ध गर्दा, अझै सन्देशवाहकले सुनेको कुरालाई उसले भनेको भन्दै लामो समयपछि लेखिएको हो भन्नेहरूले पनि सजिलो उत्तर दिनुपर्छ । नपढेका सन्देशवाहकको भनाइ र त्यो बुझेर लेखिएको कुरा तथा लामो समयमा भाषा र भाष्यमा हुने भिन्नता एवम् मिसावट मात्र हैन लामो समयसम्म रहेको फरक परिस्थितीको आधारमा नयाँ विचारको आवश्यकता पर्छ । अन्यथा किन समय समयमा दूत, सन्देशवाहक तथा अवतारहरू हुन्थे त ?

किताव र कथाहरूका कुरालाई आधार मान्ने हो प्रमाणका रूपमा कुनै बस्तुलाई लिने हो भने सबै धर्महरूले वा तिनीहरूका कितावले यस्तो कतिपय एकै किसिमका र कतिपय फरक तरिकाले उल्लेख गरेकै छन् र भनेकै छन् । तीमध्ये कुन भनाइलाई मान्ने ?

दुनियाँले खोजोस् वा नखोजोस् तर अझै लाखौँ वर्ष भन्दा पनि धेरै बढी अस्तित्वमा रहने सम्भावना भएको यो पृथ्वीको बारेमा मात्र ध्यान दिँदा पनि अहिले लादिएका वा धेरैले मन पराइएका विचार र धर्म भनिनेहरू समेत त्यस समयसम्म रहलान् ? वास्तवमा एकपक्षीय धर्महरू जसअनुसार विवेक, समानता, फरक विचार र धर्म शान्तिपूर्वक स्वतन्त्र सह–अस्तित्वमा रहन नपाउने हो भने जति विज्ञानको विकास हुन्छ त्यति नै त्यो अस्वभाविक हुँदै जान्छ । त्यति नै ती कथित धर्महरू कुनै गलत अपरिपक्व भावना लिने विद्वान् भनिनेले ईश्वरका भनाइको नाममा ल्याएका गलत ऋचाहरू हुन् भन्ने विवेकशील मानिसहरूलाई प्रष्ट हुन्छ । त्यस अवस्थामा पनि दिमाग नै गलत शिक्षाले भरिएकाहरूले आफ्नो पुरानो समयको विचारसँग सहमत नहुनेलाई मार्न पनि पछि पर्न हुँदैन भन्ने छन् । ती विवेकशीलहरू सहज पागल धर्मभिरुहरूको कब्जामा पर्न पनि सक्छन् र, मानवहितको लागि बनेका राम्रा बस्तुहरू नराम्रो अर्थात् मानव जातिको विनासको लागि समेत प्रयोग हुन सक्ने हुँदा जुन समय पनि मानवको अस्तित्व समाप्त गर्ने सम्भावना हुन्छ ।

पृथ्वीमा भौतिक र रासायनिक परिवर्तनका नयाँ अवस्था मात्र रहन सक्छन् । पहाड फोर्न उपयुक्त हुने बमहरू मानवबस्तीमा मानवलाई मारेर तहसनहस पारेर आफू माथि, स्वर्ग वा जन्नतमा जाने तथा मोजमस्ती गर्ने इच्छाले आफूसमेत मर्न तयार हुने कल्पनामा रमाउने सहज अपराधीले सबैलाई तहसनहस पार्न चाहँदैन होला र ? त्यस्ता मुर्खहरूको बारेमा भन्ने हो भने केही पहिला आकाशमा राति कुनै नयाँ सङ्केत वा बस्तु देखिँदा यसै समयमा नदीमा हाम्फाल्ने हो भने मुक्ति पाइन्छ भन्दै सयौँ मानिस नदीमा हामफालेर मरे र यस्तै प्रकारका घटना बारम्बार हुने गर्छन् । एक जना मानिसले विकलाङ्गलाई देखेर साह्रै दया लागेकोले स्वर्ग जाउन् भनेर बन्दुकले धेरै शारीरिक रूपमा फरक मानिसहरूलाई मारेछन् । त्यस्तै, कुनै धार्मिक सहज अपराधी भई पागलपनमा रमाउनेले यो समय प्राणी मुक्तिको समय हो भन्ने सङ्केत आयो वा सपना देखेँ भनेर मानव वा सबै जीवको कल्याण होस् भनेर आफू र आफ्ना अनुयायीहरू भएर संसार नै ध्वस्त बनाए र त्यसको लक्ष्य सबैलाई मुक्ति दिनु हो भन्ने सोचे भने के होला ? उनीहरूको यो धार्मिकता र सदाशयता वास्तविक धार्मिकता होइन भन्नेमा विमति होस् । यही कारणले नै धर्मको मृत्यु लोकमा प्रयोग यसै लोकमा दखिने गरेर वा यस लोकमा कुनै पनि विवेकहीन असर नगर्ने गरेर हुनुपर्ने हुन्छ ।

माथिको कल्पना गर्ने हो तर उपरवालाको नाम, निष्काम कर्म, अरुको हानी नपुग्ने भनेर मृत्युलोकमा मान्यता पाएका विचारहरूको माध्यम, विवेकशील रूपमा प्रयोग हुने विचार, ज्ञान, साधना, भक्ति तथा सबै धर्महरूले वा पन्थहरूले साझा रुपमा बोलेका विवेकसम्मत माध्यम मात्र वास्तविक हुन् । धेरै समयसम्म र बचपनदेखि नै कुनै एक विषय वा धर्म राम्रो भनेर घोकाइएको र अरु धर्म र ब्यवहारको सम्बन्धमा जानकारी नै नभएको र भए पनि पूर्वाग्रहपुर्ण रूपमा जानकारी भएको ब्यक्तिले आफूलाई घोकाइएका विचारहरू चाहिने भन्दा वढि जानेको हुन्छ, कल्पनामा अरु धेरै अर्थ लगाउँछ, तर अन्य धर्म तथा विचार वा ब्यवहारहरू चाहिने भन्दा पनि कम जानेको हुन्छ वा जानेको हुँदैन । उसले लगाएको बानीको चस्माबाट अरु सबै नराम्रा देखिनु र अपराधी देखिनु अनौठो नहोला । त्यतिबेला संसारका जीवहरूलाई तहसनहस पार्न सक्ने भए उसले नपार्ला ? कथित कयामत नै आएर पनि मानिसले नबुझेका हुन् भन्ने उसलाई लाग्यो भने सर्वकल्याणको लागि भन्दै संसार नै तहसनहस पार्न भनेर त्यस्ता अतिवादी सहज पागल धर्मभिरुहरूले के पो नगर्लान् र ! नत्र अर्को धर्म मान्ने बालिकालाई बलात्कार गर्नु र आफ्नो धर्ममा ल्याउने प्रयास गर्नु तथा आफ्नै धर्मका महिलाहरूलाई पनि तल्लो सम्झनु जस्ता काम किन हुन्थे ? त्यस्ता भनाइ र विचारहरू तथा तिनको पछि लाग्ने गलत हुन् र काम पनि पाप हुन् ।

समान सोच राख्ने अर्को मानवको अहित हुँदा तथा उसलाई आफ्नो अधीनमा राखेर धर्म हुन्छ भन्ने मान्यता कुनै ब्यक्ति वा धर्मभिरुले लिन्छ भने वा कुनै धर्मको नाममा सन्देश दिइन्छ भने यो विचार र सन्देश नरकको बाटो हो ।