मतगणना अपडेट : कहाँ कसले लिँदैछ अग्रता ?

मतगणना अपडेट : कहाँ कसले लिँदैछ अग्रता ?


झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।

सप्तरी २ मा सिके राउतको अग्रता कायमै

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

त्यस्तै, सप्तरी २ क मा जनमत पार्टीका सतिस सिंह ३ हजार ८ सय मत प्राप्त गरी पहिलो स्थानमा छन् । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह १ हजार ८ सय ३२ मत प्राप्त गरि दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल १ हजार ३ सय ९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ३ हजार ४ सय ८३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले १ हजार १ सय ८० मत प्राप्त गरी दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।

रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका छन् ।

भक्तपुर २ मा अघि बढे महेश बस्नेत

भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।

सप्तरी ३ र ४ मा नेपाली कांग्रेसको अग्रता

सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन् ।

नेपका एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । जनमत पार्टीका सुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाज पार्टीका बाल किशोर यादव १ सय १ मतका साथ तेस्रो स्थानमा छन् ।

मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।

खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए ।

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् ।

अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छन् । सूर्य चिह्नका उम्मेदवार कमल थापा ६ सय ३८ मत प्राप्त गर्दै प्रतिष्पर्धामा रहेका छन् । यस्तै, राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गरेका छन् ।

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् ।

अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा ५ बाट उम्मेदवार रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।