कतार विश्वकप २०२२ : नेदरल्यान्ड्सको विजयी सुरुआत

कतार विश्वकप २०२२ : नेदरल्यान्ड्सको विजयी सुरुआत


कोडी गाक्पो र डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच फुटबलर घोषित गाक्पोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल अग्रता दिलाएका थिए । गाक्पोले फ्रयांन्किङ डी योङको पासमा गोल गरेका थिए ।

इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले दोस्रो गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएको प्रहार सेनेगलका गोलरक्षक इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा क्लासेनले गोल गरेका ििथए ।

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २–० को जित हासिल गरेको थियो ।

समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि भएको खेलमा बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६–२ को जित निकालेको छ । सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ ।

गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरेका थिए । कप्तान ह्यारी केनले दुई गोलको अवसर सृजना गरेका थिए । इरानका मेहदी तारेमीले दुई गोल फर्काए ।

जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ ।