ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी

ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी


ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिएअनुसार हाम्रो नेपाली पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाका उम्मेदवार हसिना शाक्यले ३ हजार ७८५, नेमकिपाका महेन्द्र ब्रह्माचार्यले १ हजार १६८ मत प्राप्त गरेका छन् । जसपाका सवितकुमार महर्जनले १३६, नेश्नलिष्ट पिपुल्स पार्टीका मनिषकृष्ण जोशीले ९७, राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८, स्वतन्त्र उम्मेदवार मधुर महर्जनले २५, विनोद शाक्यले १८ र ज्ञानीशोभा महर्जनले ६० मत प्राप्त गरेका छन् ।

४० हजार ७६७ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा थिए ।