रवि उदाउनुको अर्थ

रवि उदाउनुको अर्थ


यो निर्वाचनमा रवि लामिछाने अगाडि आउनुको अर्थ जस-जसले जे-जे लाए पनि सर्वसाधारणमा रविप्रतिको भरोसा र राजनीतिक दलका नेताहरूसँगको वितृष्णा दुवैले करिव बराबरी काम गरेको छ ।
  • बबिता बस्नेत

यही २०७९ साल मङ्सिर १ गते बिहीबार धनगढीको सडकपेटीमा केही मानिसहरू कुरा गरिरहेका थिए- ‘समानुपातिकमा बडो अप्ठ्यारो छ, काङ्ग्रेसलाई दिउँ उनीहरूका (दुई नेताको नाम लिएर) श्रीमतीहरू आउने हुन् । पार्टीमा दु:ख गरेका नेता आउने भए पो भोट हाल्नु, बरु यसपल्ट घण्टीलाई दिने हो ।’

दुई नेतापत्नीहरूको बारेमा त्यहाँ गरिएको चर्चा सुनेर नरमाइलो लाग्यो । महिलाहरूले पतिको फराकिलो विराशत भन्दा सानो भएपनि आफ्नै संसार रोजेर पृष्ठभूमिअनुरूपको काम गर्नु सम्मानित हुने रहेछ भन्ने बुझ्न र बुझाउनका लागि थप बलियो उदाहरण थपिए झैँ लाग्यो । परिचित मानिसझैँ कुराकानीमा सहभागी हुँदै सोधेँ- घण्टीमा भोट हाल्दाचाहिँ कसले सिट पाउँछ भन्ने तपाईंहरूलाई थाहा छ त ? त्यहाँ रहेकामध्ये एकले भने- ‘रविले पार्टीमा नातेदार राख्दिनँ भनेका छन्, नातेदार छैनन् ।’ दलका नेताहरूले समानुपातिकमा आफन्त र नातेदार राख्ने कुराले अन्य ठाउँमा जस्तै सुदूरपश्चिमको जनस्तरमा पनि आक्रोश पैदा गरेको रहेछ ।

यो निर्वाचनमा रवि लामिछाने अगाडि आउनुको अर्थ जस-जसले जे-जे लाए पनि सर्वसाधारणमा रविप्रतिको भरोसा र राजनीतिक दलका नेताहरूसँगको वितृष्णा दुवैले करिव बराबरी काम गरेको छ । रवि टेलिभिजन प्रस्तोताका रूपमा नै निकै चर्चित थिए । २०७६ सालमा रविमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेर चितवन प्रहरी थानामा रहेका बेला उनलाई बचाउनका लागि जनसागर उर्लिएको थियो । ‘रवि दाइले धेरै महिलाको जीवन बचाउनुभएको छ । उहाँलाई नै सरकारले यस्तो गरेपछि अब भोलि मलाई केही भयो भने कसले बचाउँछ ?’ उनको समर्थनका लागि बुटवलबाट चितवन पुगेकी एक किशोरीले आँखाभरी आँशु पारेर टेलिभिजनमा दिएको यस्तो प्रतिक्रियाले स्तब्ध बनाएको थियो । किनभने देशकी एक आमयुवालाई यो मुलुकको राज्यसंयन्त्र र प्रहरी प्रशासन भन्दा एउटा टेलिभिजन पत्रकारप्रति ठुलो भरोसा थियो, जसलाई उनले एक पटक पनि प्रत्यक्ष देखेकी, भेटेकी थिइनन् । त्यतिबेला चितवनमा उर्लिएको मानव सागरले यो देशको राज्य संयन्त्रप्रति मानिसको विश्वास नभएको प्रमाणित गरिरहेको थियो । यदि राज्यले कुनै पनि घटनामा सत्य तथ्यका आधारमा निष्पक्ष छानविन गर्छ भन्ने विश्वास जनमानसलाई हुँदो हो त त्यसरी मुलुकभरिबाट मानिस ओइरिने थिएनन् ।

‘रवि लामिछानेले यो मुलुकमा त्यस्तो के काम गरे जसका कारण त्यतिका मानिस उनको समर्थनमा जम्मा भए ?’ यो प्रश्नलाई देश बनाउँछु भन्ने हरेक मानिसले मनन गर्नु जरुरी हुन्छ भनेर यो पङ्क्तिकारले २०७६ साल भदौ ४ गते लेख नै लेखेकी थिएँ । त्यतिबेला लेखेकी थिएँ- ‘पत्रकारितासँग सम्बद्ध मानिसहरू रविका फ्यान कमै छन् । उनले टेलिभिजनमा चिच्याइ-चिच्याइ बोल्ने शैलीका कारण उनको कार्यक्रम हेरिहालुँ न त भन्ने खालको छैन । मानिसलाई उनले सोध्ने प्रश्न प्रहरीले अपराधीलाई केरकार पारेजस्ता लाग्छन्, जुन पत्रकारिताको इथिक्सभित्र पर्दैन । फिल्मी स्टाइलमा मानिसलाई सिधै कुटुँ मारुँ झैँ गरेर हप्काउने उनको शैली पत्रकारिताको मूल्य-मान्यताभन्दा बाहिर छ । तर, त्यति गरेर उनले धेरैलाई न्याय दिलाएका छन्, जसले गर्दा उनी सर्वसाधारणबीच लोकप्रिय छन् । यसबाट मानिसलाई इथिक्स, ब्यवसायिक मूल्य, मान्यता भन्दा न्याय चाहिएको छ भन्ने बुझ्न गाह्रो पर्दैन । आफ्नी छात्रालाई ब्ल्याकमेल गर्दै बलात्कार गर्ने शिक्षकलाई उनले घटनास्थलमा प्रहरी लगेर पक्राउ गरे । उनले त्याहाँ जे जस्ता शब्दहरू प्रयोग गरे ति पत्रकारले गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्न आफ्नो ठाउँमा छ तर उनले त्यति नगरेका भए एउटी पीडित युवतीले न्याय पाउने थिइनन् । प्रहरीलाई भन्न नसकेको कुरा उनले रविलाई भनिन्, न्याय पाइन् । प्रहरीलाई उनले किन भन्न सकिनन् ? किनभने, प्रहरीलाई भन्दा न्याय पाउँछु भन्ने विश्वासै भएन । यदि विश्वास भएको भए उनी प्रहरीकहाँ नै जाने थिइन् ।

लामिछानेले वैदेशिक रोजगारमा अन्यायमा परेका धेरैलाई उद्दार गरे । भ्रष्ट्राचार गर्नेलाई कार्वाहीमा पारे । यसरी उनी सर्वसाधारणको नजरमा प्रहरी, अख्तियार, न्यायलय बन्न पुगे । यसको अर्थ के हो भने जनता कसैको भाषण होइन ‘एक्सन’ चाहन्छन् ।

उनले वैदेशिक रोजगारमा अन्यायमा परेका धेरैलाई उद्दार गरे । भ्रष्ट्राचार गर्नेलाई कार्वाहीमा पारे । यसरी रवि सर्वसाधारणको नजरमा प्रहरी, अख्तियार, न्यायलय बन्न पुगे । यसको अर्थ के हो भने जनता कसैको भाषण होइन ‘एक्सन’ चाहन्छन् । सैद्धान्तिक गफ होइन ब्यवहारमा न्याय चाहन्छन् । राजनीतिक दल होस् या स्वतन्त्र समूह या ब्यक्ति जनतालाई खासै मतलव छैन, भरोसायोग्य मानिस चाहिएको छ । जसले दुई वटा कुरा नगरोस्, जे बोल्छ त्यो ब्यवहारमा पुरा गरोस् । केही घटनामा न्याय दिलाउँदा, भ्रष्ट्राचार र अपराधका विरुद्ध बोल्दा एउटा टेलिभिजन पत्रकारलाई त यति विश्वास गर्छन् भने यो देशको राज्य संरचनामा बसेर निष्पक्ष रूपमा सबैलाई समान ब्यवहार गर्ने, इमान्दारीपूर्वक देश बनाउने भिजन भएको ‘एक्सन ओरिएन्टेड’ नेता पाए यो देशका जनताले के गर्थे होला ?’

समयक्रममा रवि यो देशको नेता भएका छन् । नेता मात्र होइन छोटो समयमै शीर्ष नेताहरूको लहरमा आफूलाई उभ्याउन सफल भएका छन् । निर्वाचनको केहीअघि मात्रै आफ्नो अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा देशैभर एक प्रकारको लहर ल्याएका छन् । निर्वाचनमा मत हाल्ने कति मानिसहरूलाई उनको दलको नाम थाहा पनि थिएन तर रवि र घण्टी थाहा थियो । वृद्धवृद्धा, युवा सबैथरीले उनलाई मत दिनुको कारण उनले यो देशमा सुशासन कायम गर्छन् र अन्याय परेकालाई न्याय दिन्छन् भनेर नै हो । टेलिभिजनमा उनको आक्रामक शैली मन पराउनेहरूले राजनीतिमा पनि सोही शैलीमा ब्यापक परिवर्तन हुने अपेक्षा गरेका छन् । जुन अपेक्षा पूरा गर्न रविलाई चुनौतीहरू धेरै छन् । कुनैपनि क्षेत्रका बारेमा प्रश्न उठाउन जति सजिलो हुन्छ आफै जवाफदेही बनेर काम गर्न त्यति सहज हुँदैन । स्थापित राजनीतिक दलहरू प्रतिको आक्रोश र यो मान्छेले नेतृत्व गरेको दलले केही गर्छ भन्ने विश्वासका कारण अहिले रविको दलले अप्रत्यासित भोट पाएको छ । रविको उदय नेपालीहरूका लागि मात्र नभइ अन्तर्राष्ट्रिय जगतका लागि पनि चासोको विषय बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा उनले पाएको कभरेजले यही देखाउँछ ।

नेपालको राजनीतिलाई विगतदेखि वर्तमानसम्म हेर्ने हो भने जनताले पटक-पटक राजनीतिक दल र नेताहरूलाई अवसर दिएका छन् । जनताको विश्वास टुटेका दिन तिनलाई अवकाश पनि दिएका छन् । जनताको विश्वासलाई कायम राखेर काम गर्नका लागि निकै सचेततापूर्वक पाइला चाल्नु जरुरी हुन्छ । नेपालको सन्दर्भमा आन्तरिक ब्यवस्थापनसँगै भूराजनीतिक परिवेश र परिस्थिति पनि त्यत्तिकै चुनौतीपूर्ण छ ।